१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार o८:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o८:o८:oo

भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालमा भूकम्पपछिको पुनर्निर्माणमा भारतले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । भूकम्प जानेबित्तिकै राहत सामग्री बोकेर उद्धारमा खटिएको स्मरण गर्दै उनले नेपाललाई आवश्यक परेको वेलामा भारत जुनसुकै बखत सहयोग गर्न तयार रहेको बताए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजनामा बुधबारदेखि काठमाडौंमा सुरु भएको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भर्चुअल रूपमा सहभागी हुँदै विदेशमन्त्री एस जयशंकरले कोभिड–१९ विरुद्धको खोप र औषधिलगायत महामारीविरुद्ध लड्नका लागि पनि सहयोग जारी राख्ने बताए । भारतले अहिलेसम्म नेपालका ७० वटा विद्यालय र पुस्तकालय, २८ सम्पदाको पुनर्निर्माणमा १ सय ५० मिलियन अमेरिकी डलर खर्च गरेको बताउँदै उनले भने, ‘बाँकी ४३ सम्पदा पुनर्निर्माणमा भारतले २ सय ६० मिलियन डलर लगानी गर्नेछ ।’

‘पुनर्निर्माणबाट उत्थानशीलतातर्फ’ भन्ने नारासहित सुरु भएको सम्मेलन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् । १२ वैशाख ०७२ को भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्र्थापनाका अनुभव तथा सिकाइ बाँड्न प्राधिकरणले दुईदिने सम्मेलन आयोजना गरेको हो । उनले आकस्मिक रूपमा आइपर्ने विपत्बाट जोगिन पूर्वतयारीका कामहरू गर्नुपर्ने आवश्यकता औँल्याइन् । उनले भनिन्, ‘ती काला दिनलाई पार गर्दै आज उज्यालोतर्फ लम्किन सहयोगी मुलुकहरूको महत्वपूर्ण योगदान छ, म उहाँहरूलाई धन्यवाद भन्न चाहन्छु ।’ 

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले भूकम्पछिको पुनर्निर्माणको काम दातृ निकायहरूको एकताबद्ध र महत्वपूर्ण भूमिकाले मात्र सम्भव भएको बताए । भूकम्पका कारण क्षतिग्रस्त भौतिक संरचना, निजी आवास तथा सार्वजनिक संरचना, पुरातात्विक , सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरू पुनर्निर्माणको महत्वपूर्ण चरण पार भइसकेको उनको भनाइ थियो । उनले भने, ‘पुनर्निर्माणको बृहत् कार्यसम्पादनबाट क्षतिग्रस्त संरचनाको निर्माण मात्रै नभई विपत्को समयमा निर्णय लिने क्षमता, प्रविधि र कार्य सम्पादन गर्ने क्षमतासमेत विकास भएको छ ।’ उनले पुनर्निर्माणका बाँकी कामहरू यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी सहरी विकास मन्त्रालयलाई जिम्मेवारी दिएको बताए ।

भूकम्प र त्यसपछिका परकम्पबाट पुगेको क्षतिको पुनर्निर्माण तथा पुनस्र्थापनाका अधिकांश काम सफलतापूर्वक सम्पन्न भइसकेको प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए । सम्मेलनमा भर्चुअल रूपमा विदेशबाट ७ सयजना प्रतिनिधि सहभागी रहेको बताइएको छ । भारत, अमेरिका, चीनसहितका राजदूतहरूले भर्चुअलमार्फत सम्मेलनमा सहभागिता जनाएका थिए । 

ad
ad