१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार १७:३o:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस महाधिवेशन : साँघुरो भृकुटीमण्डपमा कसरी अट्लान् कांग्रेसका हजारौँ नेता–कार्यकर्ता ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १७:३o:oo

काठमाडौंको भृकुटीमण्डपमा आगामी शुक्रबार प्रमुख सत्तारुढ दल कांग्रेसको १४औँ महाधिवेशन सुरु हुँदै छ । उद्घाटन सत्रमा देशभरबाट करिब साढे तीन लाख नेता तथा कार्यकर्ता सहभागी हुने कांग्रेसको दाबी छ । कांग्रेस नेताहरूको दाबीअनुसार उपत्यकाबाहिरबाट करिब साढे दुई लाख र उपत्यकाभित्रबाट डेढ लाख सहभागी हुनेछन् । महाधिवेशनस्थल सानो भएकाले व्यवस्थापनको चुनौती देखिएको नेताहरू बताउँछन् ।

२४ गतेदेखि २७ गते बिहानसम्म प्रदर्शनी क्षेत्रको सडकमा सवारी आवागमन रोकिने महाधिवेशन मूल समारोह समितिले जनाएको छ। बन्दसत्रको दिन २६ गते पदाधिकारीबाहेक अन्य व्यक्तिलाई भृकुटीमण्डप परिसरमा प्रवेश दिइने छैन। मतदान तथा मतगणना सकिएपछि मात्रै सर्वसाधारण भृकुटीमण्डप क्षेत्र प्रवेश गर्न पाउनेछन्। उपयुक्त ठाउँ नभेटिएकोले भृकुटीमण्डप परिसरलाई नै केन्द्रीय महाधिवेशनस्थल बनाउनुपरेको कांग्रेसले जनाएको छ। साथै, सुरक्षा चुनौतीको हिसाबले पनि यही ठाउँलाई महाधिवेशनस्थल तोकिएको कांग्रेस नेताहरू बताउँछन् । हल्ला र भिडलाई मध्यजनर गर्दै भृकुटीमण्डपस्थित विश्वभाषा, नेपाल ल, मानविकी र बाल्मीकि क्याम्पसमा कांग्रेस महाधिवेशनभर पठनपाठन रोकिने भएको छ। 
 
४५ सय प्रतिनिधिलाई सुविधासम्पन्न होटेल
महाधिवेशन नजिकिँदै गर्दा उपत्यकाका होटेल र सडकमा भिडभाड बढ्न थालेको छ। महाधिवेशनस्थल भृकुटीमण्डप क्षेत्रमा कांग्रेसले तयारी गरिरहेको छ। पार्टीको ब्यानर टाँग्ने, मञ्च निर्माण गर्ने, सरसफाइ गर्नेलगायत काम भइरहेको छ। उपत्यकाबाहिरबाट कार्यकर्ता आउन थालिसकेका छन्। उनीहरूको बसोबासको लागि विभिन्न ठाउँमा होटेल बुक गरिसकिएको छ। उपत्यकाबाहिरबाट आउने ४५ सय प्रतिनिधिलाई खाने र बस्ने सम्पूर्ण व्यवस्था राजधानीका सुविधासम्पन्न होटेलहरूमा गरिएको छ। ठमेल, एयरपोर्ट, सुन्धारा, गौशालालगायत क्षेत्रका होटेल बुक गरिएको छ। पदाधिकारीका साथै विभिन्न ठाउँबाट आउने पार्टी कार्यकर्तालाई पनि खाने र बस्ने व्यवस्था गरिएको छ। अधिकांश कार्यकर्तालाई सुन्धारा क्षेत्रका होटेलमा राखिने तयारी गरिएको छ।  सुन्धारा क्षेत्रका लगभग सबैजसो होटेल बुकिङ भइसकेको नेपाली कांग्रेसका काठमाडौं जिल्ला सभापति सबुज बानियाँले बताए। उनका अनुसार कतिपय नेताले आफ्ना कार्यकर्ताको निम्ति छुट्टै होटेल बुकिङ पनि गराएका छन्। कतिपय नेता तथा कार्यकर्ता आफन्तकहाँ बस्छन्। धेरैजसोको लागि होटेल बुकिङ गरिएको हो।

सुन्धारा, बागबजार, नयाँ बसपार्क, गौशालालगायत क्षेत्रका होटेलमा पार्टीका कार्यकर्ताहरूलाई बसोबासको व्यवस्था मिलाइएको छ। उपत्यकाबाहिरबाट आउनेमध्ये आवश्यकता परेकालाई खाने र बस्ने व्यवस्था पार्टी तथा नेताहरूले गरेको बानियाँको भनाइ छ। ‘ठाउँ अलि साँघुरो भयो, तर छरिएर बस्दा पुग्छ, बस्न र खानको लागि होटेल जति पनि छन् तर कार्यक्रमस्थल केही साँधुरो भएको हो,’ उनले भने। उनका अनुसार अन्त ठाउँ नभएको र सुरक्षा कम भएकोले यही महाधिवेशन आयोजना गरिएको हो।

महाधिवेशनस्थलमा २० हजार अट्ने 
कांग्रेस महाधिवेशनस्थल भृकुटीमण्डपमा तयार पार्न लागिएको मञ्चस्थलमा करिब २० हजार पदाधिकारी अटाउने अनुमान गरिएको छ । त्यहाँ नअटेका नेता तथा कार्यकर्तालाई आसपासमा राखिनेछ । एकैठाउँमा बसेर मञ्चको भाषण तथा अवलोकन गर्न नसकिने भएपछि कार्यक्रमस्थल बाहिर दुईवटा डिजिटल डिस्प्ले राख्ने तयारी गरिएको छ। मञ्च परिसरमा बस्न नपाउनेहरूले डिस्प्लेबाट कार्यक्रम हेर्न र सुन्न पाउनेछन् । 

भृकुटीमण्डप पार्क खुला गरिने 
कांग्रेस महाधिवेशन अवधिभर भृकुटीमण्डपभित्रको पार्क खुला गरिनेछ । उक्त पार्कमा नेताकार्यकर्ता बस्नको लागि कुर्सी राखिनेछ। साथै नेता तथा कार्यकर्तालाई त्यही पार्कमा खाना र खाजाको व्यवस्था गरिएको छ । अन्य ठाउँ नभएकाले पार्कभित्र खाना खुवाउने व्यवस्था गरिएको कांग्रेसले जनाएको छ। कतिपय नेता तथा कार्यकर्ताको लागि होटेलमै पनि खानाको व्यवस्था गरिएको छ।

तीन ठाउँमा मतदान
महाधिवेशनस्थल भृकुटीमण्डप, महेन्द्र पुलिस क्लब र राष्ट्रिय सभागृहलाई मतदानको लागि प्रयोग गरिने भएको छ । एकैठाउँमा साँघुरो भएकोले तीन ठाउँलाई मतदानस्थल बनाउने तयारी गरिएको हो । यसबाहेक महाधिवेशनको अन्य कार्यक्रमको लागि भृकुटीमण्डपभित्रका खुला ठाउँ पनि प्रयोग गरिने बताइएको छ । महाधिवेशन अवधिभर भृकुटीमण्डपभित्रका खाजा पसलहरू बन्द रहेछन् । भृकुटीमण्डप खुला बजार भने बन्द गरिनेछैन । 

टुँडिखेलमा पार्किङ
ठाउँ अभावका कारण कांग्रेस महाधिवेशन अवधिभर कांग्रेस कार्यकर्ताको लागि टुँडिखेलभित्र पार्किङको व्यवस्था मिलाइएको छ । देशभरबाट आउने नेता तथा कार्यकर्ताले पास देखाएर टुँडिखेल क्षेत्रमा पार्किङ गर्न सक्नेछन् । उक्त ठाउँमा साना तथा ठूला गरी करिब एक हजार सवारीसाधन अट्ने अनुमान गरिएको छ । कतिपय सवारीसाधन होटेल र भृकुटीमण्डप परिसरमा पनि पार्किङ गरिनेछ। टुँडिखेलमा पार्किङ गरेपछि रत्नपार्क क्षेत्रतर्फको सडकबाट भृकुटीमण्डप क्षेत्रमा प्रवेश दिइनेछ। 

१५ सय प्रहरी र १० हजार स्वयंसेवक 
कांग्रेस महाधिवेशन अवधिभर नेपाल प्रहरीले भृकुटीमण्डप क्षेत्र आसपासमा करिब १५ सय प्रहरी परिचालन गर्ने तयारी गरेको छ । प्रहरीले भृकुटीमण्डप क्षेत्रको मात्रै नभएर भद्रकाली, सुन्धारा, रत्नपार्क, सिंहदरबार, बागबजार क्षेत्रको सुरक्षा व्यवस्था  कडा पारिने बताएको छ । यसबाहेक आवश्यकताअनुसार महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट पनि प्रहरी खटाइनेछ। विभिन्न संघ–संगठनबाट १० हजार स्वयंसेवक खटाइनेछ। स्वयंसेवकले कार्यक्रमस्थलमा हुने भिडभाड व्यवस्थापन गर्नेछन्। महाधिवेशन अवधिभर भद्रकाली, रत्नपार्क, सुन्धारा र बागबजार क्षेत्रमा जाम बढ्ने भएकोले सार्वजनिक सवारीसाधनलाई कडाइ गरिनेछ। ती क्षेत्रका सडकमा सवारी रोक्न दिइने छैन ।

ad
ad