मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ मङ्सिर १९ आइतबार १०:१५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अन्नपूर्ण केबलकार पुसभित्रै सञ्चालनमा आउने

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर १९ आइतबार १०:१५:००

पोखराको लेकसाइडबाट सराङकोटसम्म यात्रा गराइने केबलकार निर्माणको सबै काम सकिएर परीक्षणको अन्तिम तयारीमा छ । सबै काम सम्पन्न हुँदा पुस महिनाभित्र पूर्ण सञ्चालनमा आउने अन्नपूर्ण केबलकार प्रालिका अध्यक्ष कालु गुरुङले बताए । त्यस्तै, केबलकारका निर्देशक तीर्थराज त्रिपाठीले अहिले जापानिज प्राविधिकले परीक्षणको तयारी गरिरहेको जानकारी दिए । बुधबार पूजा गरेर अध्यक्ष गुरुङसहित आफूहरूले एक राउन्ड घुमेको उनले जानकारी दिए । ‘पूजा गरेर अध्यक्षसहित हामी चारजना चढ्यौँ । एक राउन्ड लगायौँ । सबै ठिकै छ । जापानी प्राविधिक परीक्षणको काममा खटिएका छन्,’ उनले भने । 

जापानको निप्पोन केबलले प्राविधिक खटाएर परीक्षणको काम अगाडि बढाउन लागेको हो । निर्देशक त्रिपाठीका अनुसार ग्राउन्डमा केही फिनिसिङ दिएर शुक्रबारबाटै परीक्षण सुरु हुनेछ । सबै कुरा हेरेर पास भएपछि केबलकार निप्पोन केबलले हस्तान्तरण गर्ने उनले बताए । ‘उहाँहरू (जापानी प्राविधिक) आएर परीक्षण गर्न सुरु गरिसक्नुभएको छ । उहाँहरूले हस्तान्तरण गरिसकेपछि वारेन्टीदेखि अन्य सर्त लागू हुन्छ । हामी त्यसको पर्खाइमा छौँ,’ उनले भने ।

नौ मिनेटमै फेवा–किनारबाट सराङकोट 
गण्डकी ट्याक्सी व्यवसायी पब्लिक लिमिटेडका संस्थापक सदस्य खेमराज लामिछानेका अनुसार लेकसाइडबाट सराङकोट पुग्न २० मिनेट समय लाग्छ । ट्याक्सी पुगेर फर्कंदा एक हजार पाँच सयदेखि दुई हजार रुपैयाँसम्म भाडा लाग्ने गरेको छ । तर, केबलकारमा जम्मा आठदेखि नौ मिनेटमा पुग्न सकिन्छ ।

उनका अनुसार प्रतिव्यक्ति आउजाउ गर्दा नेपालीलाई ६ सय, सार्क राष्ट्रका नागरिकलाई सात सय र तेस्रो देशका नागरिकका लागि आठ सय रुपैयाँ भाडादर तोकिएको छ । उक्त भाडादर पोखरा महानगरपालिकाको राजस्व निर्धारण समितिसहितको टोलीले निर्धारण गरेको हो । भाडामा वृद्धवृद्धालाई २० देखि २५ प्रतिशतसम्म छुट दिइने उनले जानकारी दिए ।