Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
प्रदेश ब्युरो नयाँ पत्रिका
२०७८ मङ्सिर १७ शुक्रबार ०७:०४:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कांग्रेसको प्रदेश अधिवेशनमा नेतृत्वका लागि मिश्रित समीकरण

Read Time : > 2 मिनेट
प्रदेश ब्युरो नयाँ पत्रिका
२०७८ मङ्सिर १७ शुक्रबार ०७:०४:००

देउवा र सिटौला तथा पौडेल र कोइरालाको समीकरण बन्दै, निधिलाई फकाउने प्रयास

१४औँ महाधिवेशनमा केन्द्रीय नेतृत्वका लागि शीर्ष नेताबीच हानथाप चलिरहेका वेला प्रदेशमा भने मिश्रित समीकरण देखिएको छ । बिहीबारबाट एकै दिन सुरु भएका सातै प्रदेश अधिवेशनमा नेतृत्वका लागि मिश्रित समीकरण बन्दै गएका छन् । 

पहिलोपटक संगठनलाई संघीय संरचनामा लगेको कांग्रेसले महाधिवेशनपूर्व प्रदेश अधिवेशन गर्दै छ । धेरैजसो प्रदेशमा देउवा–सिटौल समूहबीच सहकार्यको सम्भावना देखिएको छ । प्रदेश १ र बागमतीमा बाहेक अन्य प्रदेशमा सिटौला समूह प्रदेशको मुख्य नेतृत्वका लागि मैदानमा छैन । 

प्रदेश १ मा सभापति शेरबहादुर देउवा र कृष्ण सिटौला समूह एकातिर छ भने अर्कोतिर रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला समूहबीच प्रतिस्पर्धा हुँदै छ । सिटौलाले बागमती प्रदेशमा देउवाका उम्मेदवारलाई सघाउने समझदारी बनेको बताइएको छ । यद्यपि, बागमतीमा सभापतिका लागि सिटौला समूहबाट पूर्वमन्त्री भीमसेनदास प्रधान मैदानमा छन् । 

गण्डकी प्रदेशमा संस्थापन पक्षबाट एक मात्र उम्मेदवार मैदानमा देखिएका छन् । संस्थापनइतरलाई भने आकांक्षी मिलाउनै हम्मेहम्मे परेको छ । सिटौला समूहका नेता यहाँ दाबेदार छैनन् । गण्डकी प्रदेशमा ११ सय मतदाता छन् । लुम्बिनी प्रदेशमा संस्थापन र संस्थापनइतर पक्षबीच भिडन्तको सम्भावना देखिएको छ ।

लुम्बिनीमा सिटौला समूह मैदानमा छैन । कर्णाली प्रदेश सभापतिमा देउवा र पौडेल–कोइराला समूहबीच प्रतिस्पर्धा हुँदै छ । कर्णालीमा पनि सिटौला समूह मैदानमा छैन । पार्टी सभापति तथा प्रधानमन्त्री देउवाको गृहप्रदेश सुदूरपश्चिममा देउवा पक्षकै नेताहरूबीच भिडन्तको सम्भावना देखिएको छ । सुदूरपश्चिममा कमजोर रहेको संस्थापनइतर समूह भने पर्ख र हेरको अवस्थामा छ । संस्थापनइतर समूहबाट अहिलेसम्म सभापतिमा उम्मेदवारी घोषणा भइसकेको छैन । सुदूरपश्चिममा पनि सिटौलाले मैदान खाली गरेका छन् ।

महाधिवेशनको ब्यानर सार्वजनिक

ब्यानरमा राष्ट्रिय झन्डा, पार्टीको झन्डा र चुनाव चिह्न राखिएको छ । त्यस्तै, नेपालको नक्साभित्र बिपी कोइराला, सुवर्णशमशेर जबरा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको तस्बिर पनि ब्यानरमा छ । 

प्रवक्ता विश्वप्रकाश शर्मा भन्छन्– महाधिवेशनमा होइन, चुनावबाट शक्ति प्रदर्शन गर्छौँ

महाधिवेशनको उद्घाटन भृकुटीमण्डपमा हुनेछ । केन्द्रीय पदाधिकारीका लागि मतदान भृकुटीमण्डप, महेन्द्र पुलिस क्लब र राष्ट्रिय सभागृहमा गरिनेछ । महाधिवेशनमा धेरैलाई उपस्थित गराएर शक्ति प्रदर्शन गर्ने कांग्रेसको तयारी छैन । कोरोनालाई ख्याल गरेर भिडभाड गर्दैनौँ । स्वास्थ्य मापदण्ड पालना गरेर शालीन रूपमा महाधिवेशन सम्पन्न गर्छौँ । संख्यालाई मात्रै शक्ति मान्न सकिँदैन । आगामी निर्वाचनको ब्यालेट बक्सबाट कांग्रेसले शक्ति प्रदर्शन गर्छ । 

१४औँँ महाधिवेशन भृकुटीमण्डपमा उद्घाटन, पुलिस क्लब र सभागृहमा मतदान 

कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन भृकुटीमण्डपमा हुने भएको छ । ‘उत्साह, एकता, रूपान्तरण ः सफल बनाऔँ १४औँ महाधिवेशन’भन्ने मूल नाराका साथ कांग्रेसले मंसिर २४ देखि २७ सम्म महाधिवेशन गर्दै छ । 

भृकुटीमण्डपमा उद्घाटन गरेपछि केन्द्रीय पदाधिकारीका लागि मतदान भृकुटीमण्डप, महेन्द्र पुलिस क्लब र राष्ट्रिय सभागृहमा गर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनले महाधिवेशनको अन्तिम तयारी भइरहेको बताए । 

कांग्रेस महाधिवेशनका लागि देशभरबाट पाँच हजार महाधिवेशन प्रतिनिधि सहभागी हुँदै छन् । यसबाहेक विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि पनि महाधिवेशनमा सहभागी हुनेछन् । 

कांग्रेसले महाधिवेशनलाई शक्ति प्रदर्शनका रूपमा भने लिएको छैन । ‘कोरोनालाई ख्याल गरेर भिडभाड गर्दैनौँ । स्वास्थ्य मापदण्ड पालना गरेर शालीन रूपमा महाधिवेशन सम्पन्न गर्छौँ,’ प्रवक्ता शर्माले भने, ‘संख्यालाई मात्रै शक्ति मान्न सकिँदैन । आगामी निर्वाचनको ब्यालेट बक्सबाट कांग्रेसले शक्ति प्रदर्शन गर्छ ।’

साथै, उनले एमाले महाधिवेशनतर्फ लक्षित गर्दै कांग्रेस महाधिवेशनमा निषेधको राजनीति नहुने स्पष्ट पारे । ‘कांग्रेसमा जुनसुकै समयमा पनि नेतृत्वको आलोचना र विरोध गर्न पाइन्छ । भोट नहाल भन्ने सूची वितरण गर्नेजस्ता निषेधका क्रियाकलाप हुने छैनन्,’ उनले भने ।

२९ वटा मतपत्र : मतदान गर्न एक घन्टाभन्दा बढी समय लाग्ने
कांग्रेसले केन्द्रीय पदाधिकारीको निर्वाचनका लागि २९ प्रकारका मतपत्रको व्यवस्था गरेको छ । कांग्रेस सूचना अधिकारी केशव रिजालका अनुसार उम्मेदवारको संख्या र पदअनुसारका आकार र रङका मतपत्रको व्यवस्था हुनेछ । मतदानका क्रममा सयभन्दा बढी उम्मेदवार रहने भएकाले मतदान गर्न एक व्यक्तिलाई एक घन्टाभन्दा बढी समय लाग्नेछ । पाँच हजार प्रतिनिधि महाधिवेशनका मतदाता हुन् । 

उनले निर्वाचन गर्नुपर्ने पदको संख्या बढी भएकाले मतपत्रको संख्या बढी भएको र एक मतदातालाई एक घन्टाभन्दा बढी समयसम्म लाग्ने अनुमान गरिएको नयाँ पत्रिकालाई बताए । ‘निर्वाचित हुनुपर्ने पदसंख्या धेरै भएकाले २९ वटा छुट्टाछुट्टै मतपत्रमा मतदान गर्नुपर्ने हुन्छ,’ रिजालले नयाँ पत्रिकासँग भने, ‘एक मतदातालाई ३० मिनेटदेखि एक घन्टाभन्दा बढी समयसम्म लाग्ने अनुमान छ ।’