१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १६ बिहीबार
  • Monday, 30 June, 2025
२o७८ मङ्सिर १६ बिहीबार o९:५o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

हलेसी मन्दिर खुलेको चार महिनामा १२ लाख भेटी संकलन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १६ बिहीबार o९:५o:oo

हलेसी मन्दिर खुलेको चार महिनामा १२ लाख भेटी संकलन भएको छ । गत साउन १ गतेदेखि मंसिर ५ गतेसम्मको अवधिमा हलेसी दर्शन तथा पूजाआजा गर्न आउने दर्शनार्थीबाट  १२ लाख ८० रुपैयाँ भेटी रकम संकलन भएको हो ।

महादेव मन्दिरको शिव पार्वती थानमा आठ लाख ८४ हजार ५३० रुपैयाँ, मन्दिरको प्राङ्गणमा रहेको दान पेटिकाबाट एक लाख ९८ हजार ८५५ रुपैयाँ, बसाहा गुफा दान पेटिकाबाट ८२ हजार १७० रुपैयाँ र गणेश मन्दिर दान पेटिकाबाट  ३४ हजार ५२५ रुपैयाँ भेटी रकम संकलन भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए । 

संकलन भएको भेटीमध्ये पाँच लाख ३२ हजार १४ रुपैयाँ खर्च गरेर बाँकी रहेको  छ लाख ६८ हजार ६६ रुपैयाँ माछापुच्छ्रे बैंकको हलेसी शाखामा जम्मा गरिएको सूचना केन्द्रले जनाएको छ । यस अवधिमा भारु तीन हजार ९३५, चाँदी ६१.७ ग्राम, सुन ०.७ ग्राम र अमेरिकन डलर तीन जम्मा भएको जनाइएको छ । 

मन्दिरबाट संकलन भएको भेटीबाट मन्दिर वरिपरी, दिव्यध्वनि, होम भवन, मन्दिर व्यवस्थापन समितिको भवन, मन्दिरभित्र रेलिङ रंगरोगन, बसाहा थान धाराको ढल निकास (जेसिभी प्रयोग), भेटी गणना, अतिथि खाजा, खानेपानीको लागि हिलटेक खरिद, सूचना प्रकाशन, विभिन्न आर्थिक सहयोग लगायतमा खर्च भएको सूचना केन्द्रका प्रमुख राईले जानकारी दिए । हिन्दु, किराँत र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र हलेसीमा स्थापना गरिएको सूचना केन्द्रले हलेसीमा विभिन्न अवधिमा संकलन भएको भेटीको मात्रा सार्वजनिक गर्दै आएको छ ।

हलेसी मन्दिरको भेटीलाई पारदर्शी बनाउन तीनवटा संस्थाका प्रतिनिधिले दानपेटिकामा लगाइने चाँबी राख्ने गरेका छन् । हलेसी चुवाचुङ नगरपालिका, मन्दिर व्यवस्थापन समिति र इलाका प्रहरी कार्यालय हलेसीका प्रतिनिधिले हलेसी मन्दिर परिसरमा राखिएका दानपेटिकाको चाँबी संयुक्त रुपमा खोल्ने गरेका हुन् । 

हलेसी मन्दिरमा सङ्कलित भेटी हलेसीकै विकासमा खर्च गर्ने गरिएको हलेसी विकास समितिका अध्यक्ष एवम् पूर्व सांसद टङ्क राईले बताए । प्राकृतिक रुपमा समेत विश्वप्रसिद्ध त्रिधार्मिकधाम हलेसीमा भाकल तथा दर्शन गर्न आउनेहरुले दान गर्दै आएका छन् । हलेसीमा नेपालसँगै भारत, चीन, भुटान, जापान, श्रीलंका, अमेरिका, दक्षिण कोरिया लगायत विभिन्न मुलुकबाट दर्शनार्थी तथा अवलोकनकर्ता आउने गरेका छन् ।

मध्यपहाडी लोकमार्गमा पर्ने हलेसीमा रामनवमीमा १५ दिन, बालाचतुर्दशीमा १२ दिन, शिवरात्रिमा सात दिन र हरितालिका तीजमा तीन दिन मेला लाग्ने गरेको छ । विभिन्न समयमा लाग्ने मेलालाई व्यवस्थित गर्न नगरपालिका, हलेसी विकास समिति तथा मन्दिर व्यवस्थापन समितिले भूमिका निर्वाह गर्दै आएको छ । तस्बिर उपलब्ध छ ।