१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३० आइतबार o७:१२:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

राप्रपा महाधिवेशन : निर्वाचन प्रक्रिया आज

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o७:१२:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन बुधबार भृकुटीमण्डपमा सुरु भएको छ । नेतृत्वका लागि चुनावी प्रक्रिया भने बिहीबार सुरु हुने राप्रपाले जनाएको छ । अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनीले उद्घाटन गरेको कार्यक्रममा शीर्ष नेता लोकेन्द्रबहादुर चन्द, अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनलगायतले सम्बोधन गरेका छन् । 

अध्यक्ष थापाले एक लाख मानिस सडकमा उतारेर हिन्दू राष्ट्र र राजसंस्था पुनस्र्थापना गर्ने चेतावनी दिए । महाधिवशेनपछि राप्रपाले यी मुद्दाका लागि संसद्मा दुईतिहाइ मत नपर्खिने पनि उनको भनाइ थियो । नेता चन्दले पछिल्लो परिवर्तनपछि राजनीतिक पार्टीका नेता र कार्यकर्ताले फाइदा लिएको, तर जनतालाई केही पनि प्राप्त नभएको टिप्पणी गरे । नेता लिङ्देनले पार्टी नेतृत्व अब नयाँ पुस्तालाई दिनुपर्ने र त्यसले मात्रै राप्रपाका एजेन्डा कार्यान्वयन हुने बताए । 

राप्रपा नेता राजाराम बर्तौलाका अनुसार उद्घाटन सत्र सकिएलगत्तै भृकुटीमण्डपमा महाधिवेशनको बन्दसत्र सुरु भएको छ । महाधिवेशनमा देशभरिबाट करिब ४२ सय महाधिवेशन प्रतिनिधि सहभागी छन् । बन्दसत्रमा अध्यक्ष थापाले राजनीतिक कार्यपत्र, अध्यक्ष राणाले सामाजिक कार्यपत्र र अध्यक्ष डा. लोहनीले आर्थिक कार्यपत्र पेस गरेका छन् । विधान संशोधन सुझाव समितिका संयोजक निरन्जन थापाले केन्द्रीय कार्यसम्पादन समितिद्वारा पारित विधान प्रस्तुत गरेका छन् । यसबारे बिहीबार पनि छलफल हुने बर्तौलाले जानकारी दिए । राप्रपा नेता मोहन श्रेष्ठका अनुसार महाधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, महामन्त्रीसहित एक सय ४१ जना निर्वाचित हुनेछन् । अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री निर्वाचित हुनेछन् । निर्वाचित अध्यक्षले केही पदाधिकारीसहित ५० जना केन्द्रीय सदस्य मनोनीत गर्ने प्रावधान राप्रपाको विधानमा छ । निर्वाचित अध्यक्षले सातजना सहमहामन्त्री, सातजना सहायक महामन्त्री, एकजना कोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्ता र सहायक कोषाध्यक्ष मनोनीत गर्ने व्यवस्था विधानमा छ । 

राप्रपाको भावी अध्यक्षमा थापा र नेता लिङ्देनले दाबेदारी घोषणा गरिसकेका छन् । राप्रपाका अर्का अध्यक्ष लोहनीले अध्यक्ष पदका लागि लिङ्देनलाई सहयोग गर्ने घोषणा गरेका छन् । अर्का अध्यक्ष राणाले भने पार्टी एकता सर्वोपरि आवश्यक रहेको भन्दै सहमतिका आधारमा अघि बढ्न आग्रह गरेका छन् । 

शीर्ष नेताले के भने ? 
राप्रपा महाधिवेशनको उद्घाटनसत्रलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, माले महासचिव सिपी मैनालीलगायतले सम्बोधन गरेका छन् । प्रधानमन्त्री देउवाले राष्ट्रिय हितका मामिलामा सबै दल एउटै मुद्दामा उभिनुपर्ने बताए । उनले एकता महाधिवेशन गरेकोमा राप्रपालाई धन्यवाद दिँदै मुलुकमा दलहरूको संख्या थोरै हुनु सबैको हितमा हुनेसमेत बताए । मुलुकमा दलहरूको महाधिवेशन धमाधम भइरहेको र महाधिवेशन मेलाजस्तो भएको भन्दै प्रधानमन्त्रीले यसले सबै दलभित्र प्रजातान्त्रिक अभ्यास हुने र मुलुकको एकतामा सहयोग पुग्ने पनि उल्लेख गरे । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रियताका मुद्दामा राप्रपा र आफूहरूबीच केही फरक नभएको बताए । राप्रपासँग विचार र दर्शन नमिल्ने, तर राष्ट्रियताका सवालमा फरक लाइन नहुने उनको भनाइ थियो । आफूले पहिले नै राष्ट्रियताका मुद्दामा राप्रपा र माओवादीको गोत्र एउटै भनेको स्मरण गर्दै प्रचण्डले परिवर्तनका मुद्दालाई संस्थागत गरेर अघि बढ्नुपर्ने बताए । 
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मुलुक अघि बढिसकेको भन्दै पछि फर्काउने प्रयास नगर्न राप्रपालाई आग्रह गरे । राष्ट्रियताका मामिलामा सबै दल एक हुनुपर्नेमा उनको पनि जोड थियो । 

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको राष्ट्रियता कमजोर हुँदै गएको भन्दै राष्ट्रिय मुद्दामा सरकार प्रभावकारी हुन नसकेको आरोप लगाए । उनले राजनीतिक दलहरूबीच फरक विचार भए पनि राष्ट्रिय मुद्दामा कोही पनि अलग ठाउँ बस्न नमिल्ने धारणा राखे । देश सर्वोपरी विषय भएको भन्दै राष्ट्रियताका मुद्दामा राप्रपासँग एमालेको सहकार्य रहने पनि पोखरेलको भनाइ थियो । माले महासचिव सिपी मैनालीले मुलुकमा विदेशीहरूको समर्थनमा परिवर्तन भएको आरोप लगाउँदै त्यसले जनताको हित सुनिश्चित हुन नसकेको टिप्पणी गरे । 

यी हुन् उपाध्यक्ष र महामन्त्रीका आकांक्षी
बुद्धिमान तामाङ
विक्रम पाण्डे
धुव्रबहादुर प्रधान 
दिलविकास राजभण्डारी
जयन्त चन्द
रामचन्द्र राय
रोशन कार्की
जगत गौचन
लीला श्रेष्ठ
दुर्गा श्रेष्ठ
अर्जुन राई

महामन्त्रीका आकांक्षी 
धवल शमशेर राणा
श्याम तिमल्सिना
भुवन पाठक
भास्कर भद्रा
राजेन्द्र गुरुङ
डा गोविन्द खनियाँ
मोहन श्रेष्ठ
कुन्ति शाही
रेखा थापा
बिन्दु पौडेल
प्रेक्षा मल्ल
मुकुन्द श्याम गिरी


 

ad
ad