१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १२ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर १२ आइतबार १७:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर १२ आइतबार १७:२३:oo

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको आगामी निर्वाचनका लागि  निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ। आयोगको यही मंसिर ७ गतेको बैठकले निर्वाचन तयारी गर्न आन्तरिक प्रयोजनका लागि कार्यतालिका स्वीकृत गरेको प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए। सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ १७ गतेका लागि घोषणा गरिसकेको छ। निर्वाचनलाई अघि बढाउने सन्दर्भमा आयोगले आवश्यक निर्देशिका र कार्यविधिको कामसमेत अघि बढाएको छ। केही समयपछि आयोगले निर्वाचन कार्यक्रमसमेत प्रकाशित गर्नेछ।

५९ सदस्यीय राष्ट्रिय सभाका एकतिहाइ सदस्यको कार्यकाल आगामी फागुन २० गते समाप्त हुँदै छ। कार्यकाल समाप्त हुनेमा अगमप्रसाद वान्तवा राई, उदया शर्मा पौडेल, कविता बोगटी, कोमल वली, खिमबहादुर विक, चक्रप्रसाद स्नेही, चन्द्रबहादुर खड्का, जीवन बुढा, ठगेन्द्रप्रकाश पुरी, तारादेवी भट्ट, दीनानाथ शर्मा, नैनकला ओझा, परशुराम मेघी गुरुङ, राधेश्याम अधिकारी, रामलखन चमार, शशिकला दाहाल, शान्तिकुमारी अधिकारी, शेरबहादुर कुँवर र सुमनराज प्याकुरेल रहेका छन्। 

सरकारको सिफारिसबाट विज्ञका रूपमा मनोनीत सदस्य रामनारायण बिडारीको पनि चारवर्षे कार्यकाल फागुन २० गते नै पूरा हुँदै छ। राष्ट्रिय सभा सदस्यको कार्यकाल ६ वर्ष भए पनि ०७४ सालमा पहिलोपटक गोला प्रथाद्वारा दुई, चार र छ वर्षका लागि कार्यकाल निर्धारण गरिएको थियो। आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पाँच करोड ८४ लाख रुपैयाँको प्रारम्भिक खर्च अनुमान गरी निकासाका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको छ। 

राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदाताका रूपमा देशभरका सात सय ५३ पालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेश सभा सदस्य रहेका छन्। राष्ट्रिय सभा चुनावमा पालिका प्रमुख र उपप्रमुखको मतभार १८ तथा प्रदेश सभा सदस्यको मतभार ४८ कायम हुनेछ। रासस