मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १० शुक्रबार ०८:०९:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘साइडवेज मुभमेन्ट’मा नेप्से, २७ सयमै थामियो बजार  

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १० शुक्रबार ०८:०९:००

साताको अन्तिम दिन बिहीबार नेप्से ३ दशमलव २२ अंकले घटेर दुई हजार सात सय ३१ मा बन्द भएको छ । लामो समयदेखि साइडवेज मुभमेन्ट (निश्चित विन्दुमा तलमाथि गरिरहनु)मा देखिएको नेप्से दुई हजार सात सयमुनि नजाने र तीन हजारआसपास पुगेर ओर्लिने गर्दै आएको छ । 

एउटा ग्राहकले प्रतिबैंक चार करोड र पूरै प्रणालीबाट १२ करोड रुपैयाँ कर्जा लिन पाउने व्यवस्थामा संशोधन हुने अपेक्षामा पछिल्लो समय बजार घटबढ हुँदै आएको छ । बैंकिङ प्रणालीमा देखिएको तरलता अभावको दबाबसमेत बजारमा छ । यद्यपि, चालू आवको लाभांश प्राप्त गर्ने अवधि बाँकी नै रहेकाले बजार धेरै तल ओर्लिएको छैन । लगानीकर्ता नीतिगत फेरबदलको अपेक्षामा ‘पर्ख र हेर’को अवस्थामा छन् । 

केही वर्षअघिसम्म पुससँगै सेयर बजारमा मौसमी प्रभाव रहने गर्दै आए पनि पछिल्लो समय यो प्रभाव घटिरहेको देखिन्छ । यद्यपि, सो अवधिसम्म पनि तरलता दबाबमा सुधार नदेखिएमा भने यसपटक त्यस्तो प्रभाव पुनः देखिन सक्छ र बजार केही घट्न सक्छ । किनकि, लगानीयोग्य पुँजी नहुनु र लाभांश प्राप्तिका लागि पनि एक वर्षसम्म कुर्नुपर्ने अवस्था रहनुले यस्तो प्रभाव पर्न सक्छ ।  

चैतपछि भने कम्पनीहरूको चालू आवमा हुन सक्ने नाफाको आकलन, लाभांशको प्रक्षेपणले बजारलाई पुनः चलायमान बनाउन सक्नेछ । यदि यसबीच राष्ट्र बैंकबाट सेयर धितो कर्जाको मूल्यांकन वा कर्जा सीमामा हेरफेरजस्ता अन्य नीतिगत निर्णयहरू भएमा भने बजारले त्यसैअनुसार दिशा निर्धारण गर्नेछ । 

बिहीबार दुई सय ३३ कम्पनीका धितोपत्र तथा ऋणपत्र (स्क्रिप्ट्स)को कारोबार भएकोमा ८१ वटा स्क्रिप्ट्सको मूल्य बढेर कारोबार भएको छ भने एक सय ३३ वटाको मूल्य घटेको छ । बिहीबार नेप्सेको एडी रेसियो (घट्ने र बढ्ने कम्पनीको अनुपात) एकभन्दा मुनि छ । यसले यस दिनको बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । 

कारोबार रकममा यस दिन १० प्रतिशतले गिरावट आएको छ । यस दिन ७४ लाख कित्ता–इकाइ सेयरको किनबेच हुँदा तीन अर्ब ७८ करोडको कारोबार भएको हो । बुधबार चार अर्ब २१ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । 

यस दिन समृद्धि फाइनान्स र सामलिङ पावरको मूल्य सबैभन्दा धेरै आठदेखि करिब १० प्रतिशतसम्म बढेको छ । बिहीबारबाटै पहिलो कारोबार गरेको सामलिङको १० कित्ताभन्दा कम सेयर कारोबार गरेर पनि मूल्य बढाउन थालिएको नेप्सेको फ्लोर सिटबाट देखिन्छ । कम्पनीले पहिलो कारोबारका लागि पाएको माथिल्लो रेन्ज दुई सय ९६ बाटै सेयर किनबेच भए पनि एक–दुई कित्ताको समेत कारोबार गरेर मूल्य बढाइएको छ । तीन सय २० रुपैयाँसम्म कारोबार भए पनि अन्तिम कारोबारमा तीन सय १७ रुपैयाँका दरमा तीन कित्ता सेयर किनबेच भएको हो । पहिलो कारोबारका लागि ९४ देखि दुई सय ८२ रुपैयाँसम्मको मूल्य रेन्ज पाएको न्यादीको भने कुनै पनि कारोबार हुन सकेन । 

सूचीकरणपछि लगातार उच्चदरमा बढिरहेको मानुषी लघुवित्तको वृद्धिमा रोक लागेको छ । करिब दुई हजार दुई सयसम्ममा कारोबार भएपछि मानुषीको मूल्य घट्न थालेको हो । बिहीबार कम्पनीको मूल्य एक हजार आठ सय ६० रुपैयाँसम्ममा कारोबार भएको छ । यस दिन बैंकिङ, होटेल र टेलिकम सूचीकृत अन्य समूहको परिसूचकमा मात्रै सुधार देखिएको छ । ‘क’ वर्गका कम्पनीहरूको सेयर कारोबारमापक सेन्सेटिभ परिसूचक भने यस दिन सीमान्तदरमा बढेको छ । 

सेयर गतिविधि 
- ज्योति विकास बैंकले ११ प्रतिशत बोनस र ४ दशमलव ५ प्रतिशत नगद लाभांशको घोषणा गरेको छ । 
- साना किसान विकास लघुवित्तले २५ प्रतिशत बोनस सेयर र १ दशमलव ३१ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । 
- कालिका माइक्रो फाइनान्सको सञ्चालक समितिले पनि १३ प्रतिशत बोनस सेयरको प्रस्ताव गरेको छ । यी सबै कम्पनीको लाभांश प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत हुन र सम्बन्धित कम्पनीहरूको साधारणसभाबाट पारित हुन बाँकी छ ।