मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ मङ्सिर ८ बुधबार ०९:३७:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सिमाना खुलासँगै विदेशी विश्वविद्यालयले बोलाएका १२ हजार नेपाली विद्यार्थी उत्साही

अस्ट्रेलिया र जापानका विश्वविद्यालयमा फसेका नेपाली विद्यार्थीको झन्डै सात अर्बको जोखिम टर्‍यो

Read Time : > 2 मिनेट
२०७८ मङ्सिर ८ बुधबार ०९:३७:००

नयाँ निर्णयपछि पूर्ण मात्रा खोप लगाई भिसा भएका अन्तर्राष्ट्रिय विद्यार्थी, दक्ष, शरणार्थी, मानवीय, अस्थायी र अस्थायी पारिवारिक भिसा भएकासहित यात्रा छुटका लागि आवेदन नगरी अस्ट्रेलिया जान सक्ने

कोरोना महामारीका कारण करिब दुई वर्षदेखि बन्द रहेको अस्ट्रेलिया र जापानको सीमा खोल्ने निर्णयसँगै विदेशी विश्वविद्यालयले अध्ययनका लागि अनुमति दिएका झन्डै १२ हजार विद्यार्थी लाभान्वित हुने भएका छन् । अस्ट्रेलियामा अध्ययनका लागि भिसा पाएका झन्डै चार हजार र जापानका लागि सिओई पाएका आठ हजारभन्दा बढी विद्यार्थी उत्साहित भएका हुन् । विदेश अध्ययनका लागि गरेको झन्डै सात अर्ब लगानीको जोखिम टरेको छ । 

अस्ट्रेलिया सरकारले आगामी १ डिसेम्बरदेखि विदेशी विद्यार्थीलगायतका लागि सीमा खुला गर्ने निर्णय गरेको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सोमबार अन्तर्राष्ट्रिय यात्रुका लागि अस्ट्रेलियाको सिमाना खोल्ने घोषणा गरेका हुन् ।

इक्यानका अध्यक्ष प्रकाश पाण्डेले प्रधानमन्त्रीको घोषणाले अस्ट्रेलियामा विभिन्न भिसाअन्तर्गत यात्रा गर्न चाहने यात्रु खासगरी नेपाली विद्यार्थीलाई प्रवेशका लागि ढोका खुलेको र नेपाली विद्यार्थीसमेत उत्साहित भएको बताए । उनका अनुसार अस्ट्रेलियामा मात्र झन्डै चार हजार विद्यार्थीले अध्ययनका लागि भिसा पाएका छन् । 

प्रकाश पाण्डे अध्यक्ष, इक्यान 

अस्ट्रेलियाका प्रधानमन्त्रीको घोषणाले विभिन्न भिसाअन्तर्गत यात्रा गर्न चाहने यात्रु खासगरी नेपाली विद्यार्थीलाई प्रवेशका लागि ढोका खुलेको छ । यो निर्णयले नेपाली विद्यार्थी उत्साहित भएका छन् । वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीको झन्डै सात अर्ब रुपैयाँ लगानी भएको छ ।

लामो समयदेखि सीमा बन्द हुँदा कतिपय विद्यार्थी डलरमा शुल्क तिरेर नेपालमै बसेर अनलाइन कक्षा लिन बाध्य भएका थिए । कोभिडको जोखिमका कारण देशको सीमा खुला नगरेपछि विद्यार्थी नेपालमै अनलाइन कक्षा मात्रै लिनुपर्दा निराश भएका थिए । अस्ट्रेलिया र जापान सरकारको नयाँ निर्णयले नेपाली विद्यार्थी खुसी भएका छन् । नयाँ निर्णयपछि पूर्ण मात्रा खोप लगाई योग्य भिसा भएका अन्तर्राष्ट्रिय विद्यार्थी, दक्ष, शरणार्थी, मानवीय, अस्थायी र अस्थायी पारिवारिक भिसा भएकासहित यात्रा छुटका लागि आवेदन नगरी अस्ट्रेलिया जान सक्नेछन् । अस्ट्रेलियाका तीनवटा स्टेटबाहेकमा विद्यार्थीले क्वारेन्टिन बस्नुपर्ने नियम छ । न्यू साउथ वेल्स, अस्ट्रेलियन क्यापिटल टेरिटोरी र भिक्टोरिया स्टेटमा जाने पूर्णखोप लगाएकाले क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था गरेको छ । 

डेढ वर्षको अवधिमा अस्ट्रेलियाका विश्वविद्यालय तथा कलेजमा करिब चार हजार विद्यार्थी भर्ना भएर भिसासमेत पाएका थिए । भोकेसनल विषय अध्ययन गर्नेले एक वर्षको र विश्वविद्यालयमा भर्ना गर्नेले कम्तीमा ६ महिनाको औसतमा प्रतिविद्यार्थी १२ लाख रुपैयाँ बुझाएका छन् । यस हिसाबले करिब चार अर्ब ८० करोड रुपैयाँ अस्ट्रेलियामा फसेको थियो । इक्यानका अध्यक्ष पाण्डेले जापानका लागि अहिलेसम्म आठ हजारभन्दा बढी विद्यार्थीको सिओई आए पनि तीन हजारभन्दा बढीले शैक्षिक संस्थामा शुल्क बुझाएको पाइएको बताए । उनका अनुसार जापानका लागि औसत प्रतिविद्यार्थी सात लाख रुपैयाँ बुझाएका छन् । जापानका लागि दुई अर्ब १० करोड रुपैयाँ फसेको छ । वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीको झन्डै सात अर्ब रुपैयाँ लगानी भएको उनको भनाइ छ ।

जापानका लागि यस्तो छ समय तालिका
जापान सरकारले गत ८ नोभेम्बरदेखि नै विदेशीको लागि पर्यटक भिसाबाहेक अन्य भिसाका लागि सिमाना खुला गरी भिसा प्रक्रिया सुरु गरेको छ । जापानले २०२० डिसेम्बरदेखि विद्यार्थी भिसामा जापानमा उच्च शिक्षा अध्ययनमा जाने विद्यार्थीका लागि प्रवेशमा रोक लगाएको थियो । यो निर्णयपछि २०२० मा सिओई प्राप्त गरी शिक्षणलगायतका शुल्क तिरेर बसेका विद्यार्थीमा सहजता हुने अपेक्षा छ । जापान सरकारले २०२० अप्रिलदेखि २०२१ अप्रिलसम्मका विद्यार्थीलाई २०२१ को नोभेम्बर, डिसेम्बर र जनवरी गरी तीन महिना प्रवेशको अनुमति दिने र २०२१ अप्रिल, जुलाई र अक्टोबरका विद्यार्थीलाई जनवरीपछि सूचना जारी गर्ने जनाएको छ । 

अमेरिका र क्यानडामा आकर्षण बढ्दै
अघिल्ला वर्षहरूमा अस्ट्रेलिया र जापान नेपाली विद्यार्थीको आकर्षक गन्तव्य थियो । कोभिड महामारीपछि ती देशको सीमा बन्द भएपछि अहिले अमेरिका र क्यानडामा अध्ययन गर्न जानेको संख्या बढेको छ । आर्थिक वर्ष ०७७/७८ को १२ महिनामा अमेरिकामा अध्ययनका लागि नौ सय ६४ जनाले एनओसी लगेका थिए । तर, आव ०७८/७९ को दुई महिना (साउन र भदौसम्म) मा एक हजार ६ सय बढीले एनओसी लगेका थिए । शैक्षिक परामर्श व्यवसायीका अनुसार अमेरिकाका लागि अहिले भिसा पाउने दर निकै धेरै छ । 

कोभिड–१९ का कारण पछिल्लो वर्ष विदेश अध्ययनमा जान एनओसी लिने विद्यार्थीको संख्या घटेको छ । आव ०७५/७६ मा ६३ हजार दुई सय ५९ ले एनओसी लिएकोमा ०७६/०७७ मा घटेर ३३ हजार ३७ जनाले मात्र शिक्षा मन्त्रालयबाट एनओसी लगेका छन् । ०७७/७८ मा एनओसी लैजानेको २७ हजार नौ सय ७८ छ । अस्ट्रेलिया र जापानको सीमा खुला भएसँगै विदेश अध्ययनमा जानेको संख्या बढ्ने शैक्षिक परामर्श व्यवसायीको भनाइ छ ।

अस्ट्रेलियाको सीमा खुल्दा राहत महसुस भएको छ : दिया शर्मा, विद्यार्थी 
कोभिडका कारण अस्ट्रेलियाको विश्वविद्यालयमा डेढ वर्ष जान नपाउँदा इकोनोमिक्सको अनलाइनमार्फत कक्षा लिएँ । अहिले सीमा खुल्दा राहत महसुस भएको छ । मजस्ता धेरै साथीहरू जतिसक्यो छिटो अस्ट्रेलिया गएर पढ्न चाहन्छन् । आगामी जनवरीमा जाने योजना बनाएकी छु । भौतिक रूपमा जस्तो अनलाइन कक्षा प्रभावकारी नहुने रहेछ । पहिलो सेमेस्टरमा राम्रो भयो, सेकेन्ड सेमेस्टर पढ्दा मोटिभेसन अलि कम भयो । अहिले धेरै सकारात्मक भएको छु, उत्साहित छु ।