मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर ८ बुधबार ०६:२२:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइसिसी महिला टी–२० विश्वकप : भुटानमाथि नेपालको फराकिलो जित

नेपालले ६९ बलअघि नै भुटानलाई हरायो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर ८ बुधबार ०६:२२:००

नेपालले आइसिसी महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एसियन छनोटमा मंगलबार भुटानमाथि आठ विकेटको जित निकालेको छ । नेपालले ६९ बलअघि नै भुटानलाई हराएको हो ।  दुबईस्थित आइसिसिए २ मैदानमा पहिलो ब्याटिङ गरेको भुटानले २० ओभरमा ६ विकेट गुमाएर ६१ रनको झिनो योगफल खडा गरेको थियो । प्रत्युत्तरमा नेपाली महिला टोलीले ८.३ ओभरमा दुई विकेट मात्र गुमाएर ६४ रन जोडेको छ । नेपालले प्रतिओभर ७.५२ को रेटमा ब्याटिङ गर्दैै जित हात पारेको हो ।

नेपालका प्रशिक्षक विनोद दासले लक्ष्य पछ्याएको इनिङ्समा ओपनिङमा परिवर्तन गरेका थिए । यसपटक ओपनिङ जोडीका रूपमा सीतारानामगर तथा इन्दु बर्माले सम्हाले । यसअघि हङकङविरुद्धको प्रतिस्पर्धामा इन्दु र सीताले मध्यक्रममा ब्याटिङ गरेका थिए । भुटानविरुद्ध सीता र इन्दुले पहिलो विकेटका लागि ४.२ ओभरमा ३७ रनको साझेदारी गरे ।

 जितसँगै नेपालले दुई अंक जोडेको छ । हङकङले पनि दुई खेलबाट दुई अंक हात पारेको छ । रनरेटमा नेपाल दोस्रो स्थानमा छ ।  आयोजक युएई चार अंकका साथ शीर्ष स्थानमा छ । 

सीताले १३ बलमा दुई चौकाको सहयोगमा १७ रनको योगदान दिइन् । त्यसपछि इन्दुले कप्तान रुविना क्षेत्रीसँग दोस्रो विकेटका लागि १९ रनको साझेदारी गर्दै नेपाललाई ८.१ ओभरमा ५६ को स्थितिमा राखिन् । रुविनाले रनआउट हुनुअघि १२ बलमा एक चौका प्रहार गर्दै १० रन जोडिन् ।नेपालको ब्याटिङ इनिङ्समा इन्दु नटआउट रहिन् । उनले २४ बलमा १८ रन प्रहार गरिन् । भुटानले नेपाललाई ११ अतिरिक्त रन दिएको थियो । प्रतिस्पर्धामा नेपालकी सीता ‘म्यान अफ दी म्याच’ भइन् । यसअघि पहिलो ब्याटिङ गरेको भुटानले नेपालकी सीता रानामगरको घातक बलिङ सामना गर्न सकिनन् । सीताले चार ओभरमा १० रन खर्चेर सर्वाधिक तीन विकेट लिइन् । उनले ६.६ ओभरमा पाल्डोनलाई, ८.३ ओभरमा वारिन्गमोलाई तथा १२.६ ओभरमा कप्तान एसेयी चोदेनलाई आउट पारिन् ।

दुबईमा जारी आइसिसी महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एसियन छनोट खेलमा नेपालविरुद्ध भुटानका खेलाडी रन लिने प्रयास गर्दै । 

भुटानको ब्याटिङमा ओपनिङ जोडी सोनाम पाल्दोन र गावान्ग चोदेनबीच मात्र गतिलो साझेदारी भएको थियो । यी दुवै ब्याट्सम्यानले पहिलो विकेटका लागि ६.६ ओभरमा ३० रनको साझेदारी गरेका थिए । पाल्दोन आउट भएपछि भुटानको रन गति पनि सुस्त भयो । ओपनर पोल्दोमले ११ रन जोड्न २९ बलमा एक चौका प्रहार गरिन् ।

चोदेन आउट हुँदा भुटान ५०–४ को स्थितिमा थियो । चोदेन ३१ बलमा एक चौकाको सहयोगमा १३ रन बनाइन् । यसबाहेक ६ जना ब्याट्सम्यानले दोहोरो रन पनि लिन सकेनन् । कप्तान ऐसयीले २५ बलमा नौ रन बनाइन् । जितसँगै नेपालले दुई अंक जोडेको छ । आयोजक युएई चार अंकका साथ शीर्ष स्थानमा छ । हङकङले पनि दुई खेलबाट दुई अंक हात पारेको छ । रनरेटमा नेपाल दोस्रो स्थानमा छ ।