मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सोमबार साँझ काठमाडौं आइपुगेका नाम्खा गाउँपालिका– ६ का वडाध्यक्ष पाल्जोर तामाङ (बायाँ) र हुम्लाका सांसद छक्कबहादुर लामा त्रिभुवन विमानस्थलमा । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२०७८ मङ्सिर ७ मंगलबार ०६:१८:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

काठमाडौं ओर्लेका नाम्खा-६ का वडाध्यक्ष पाल्जोर तामाङले भने- भोकमरीको कथा बोकेर  आएको छु, सिंहदरबारले सुन्ला कि !

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ मङ्सिर ७ मंगलबार ०६:१८:००

हुम्लाकाे नाम्खा गाउँपालिकाको लिमी क्षेत्रमा करिब ११ सय घरपरिवार छन् । उवा र आलुबाहेक उत्पादन केही हुँदैन । चरन अभाव हुँदा पशुपालन व्यवसाय पनि बन्द भएको वर्षौँ भयो । जीवन गुजारा गर्न स्थानीय बासिन्दा चिनियाँ क्षेत्र ताक्लाकोटमा ज्याला–मजदुरी गर्न जान्थे । तर, कोरोनालगत्तै चीनले नाका बन्द गरेपछि त्यो पनि रोकियो । चीनकै बाटो भएर हिल्सा नाका हुँदै सरकारले पठाउने खाद्यान्न पनि आउन बन्द भयो । गत वर्षको असोजमा केही चामल आएको थियो, त्यसयता केही गएन । 

चीनले नाका बन्द गरेपछि गत वर्ष पनि गाउँमा अनिकाल सुरु भयो । केटाकेटी भोकभोकै मर्नुपर्ने अवस्था सिर्जना भयो । त्यसपछि म समस्या लिएर सदरमुकाम सिमकोट आएँ । सिडिओसाबलाई गाउँको पीडा सुनाएँ । संघीय सांसद छक्कबहादुर लामालाई भेटेँ । सबैतिर हारगुहारपछि गत वर्षको असोजमा केही क्विन्टल चामल र केही बोरा नुन गाउँ पुग्यो । तर, त्यसले कति पो धान्थ्यो र ? डेढ–दुई महिनाअघि गाउँलेले जोगाएर राखेको रासन सकियो । केही दिन त उवाको सातु खाएर पनि गुजारा गर्‍यौँ, त्यो पनि सकिएपछि फेरि अनिकाल सुरु भयो । 

समस्या समाधानका लागि तिब्बतस्थित पोलङ काउन्टीमा गुहार मागेँ । उनीहरू सहयोग दिन तयार भए । त्यही बेला हिउँ पर्‍यो । लिमि आउने बाटो हिउँले पुरियो । उनीहरूले दिएको मैदा र चामल पनि नाकामै अड्कियो, गाउँ ल्याउन सक्ने अवस्था भएन् । सरकारले पनि चासो देखाएन । 

केही दिनअघि केही उपाय लाग्छ कि भनेर फेरि सदरमुकाम आएँ । सिडिओसापलाई भेटे । तर, सदरमुकाममा पनि चामल छैन्, थोरै छ रे । त्यो पनि हिउँले बाटो पुरिएका कारण लग्न सकिने अवस्था छैन् । हिमपातकै कारण म पनि गाउँ जान नसक्ने भएँ । उता गाउँमा  भोकमरीले मर्नुपर्ने अवस्था बढ्दै गयो । त्यसपछि फोनबाट स्थानीयलाई सिमकोट नै बोलाएँ । ज्यानको माया मारेर हिउँको पहाड छिचोल्दै २५/३० जना साथीहरू अस्ती शनिबार सिमिकोट आई पुगे । सांसद् छक्कबहादुर पनि गाउँमै रहेछन् । उहाँसहित फेरि सिडिओलाई भेट्यौं । तर, सदरमुकामको प्रयासबाट मात्रै केही उपाय नचल्ने देखियो । सिंहदरबारमा बस्ने हाम्रा नेताहरूलाई नै पीडा सुनाउनुपर्ने भयो । 

सबै जना काठमाडौं आउन पैसा पनि नहुने भयो, त्यसैले म आएँ । मैले सिंहदरवार चिनेको छैन । एक्लै आएर मेरो गाउँको समस्या कहाँ राख्नु ? त्यसैले सांसद छक्कबहादुरलाई पनि भने । उहाँसँगै जहाजमा १३ हजार रूपैयाँ खर्च गरेर आज(सोमबार) साँझ काठमाडौं आइपुगेको छु । पाँच दिन लगाएर गाउँबाट आएका स्थानीय सिमकोटमै छन् । गाउँको भोकमरीको कथा बोकेर आएको छु । हामीले नै चुनेर पठाएका प्रतिनीधि बस्ने सिंहदरबारले पक्कै सुन्ला कि ! 

सिमिकोटमै चामल छैन, नुन पनि सकिदै छ : छक्कबहादुर लामा, सांसद हुम्ला
लिमिको समस्याबारे म जानकार छु । रोजीरोटीका लागि स्थानीय तिब्बततर्फका बजारमा निर्भर थिए । तर, लक डाउनपछि त्यो बन्द भयो । गाउँमा अनिकाल नै लाग्ने अवस्था आयो । गतबर्ष हामीले केही खाद्यन्न पठायौं । यसबर्ष पनि पठाउने तयारी चल्दै थियो । त्यही बेला हिउँ पर्न सुरु भयो । बाटो पुरै बन्द भयो । लिमिमा फेरी अनिकाल सुरु भयो । पाँच दिन लगाएर स्थानीय बासिन्दा चामल लिन सिमकोट आएका छन् ।

तर, सिमकोटमै चामल छैन । सिमिकोटमा अहिले चामल मात्र होइन, मैदा समेत छैन । नुन सकिने अवस्थामा छ । समस्या बिकराल छ । समाधान गर्न सरकार समक्ष गुहार माग्न म आफै नाम्खा–६ का वडा अध्यक्षलाई लिएर आएको छु । सरकारसँग समस्या राख्नेछु । हेरौ, सरकारले के गर्छ ? विकट हुम्लाको पीडा सुन्छ कि सुन्दैन ?