१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ७ मंगलबार
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ मङ्सिर ७ मंगलबार o७:३२:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

डेढ सयमा दुर्घटना बिमा एक लाखसम्मको जोखिम वहन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ मङ्सिर ७ मंगलबार o७:३२:oo

अब डेढ सय रुपैयाँमा व्यक्तिगत दुर्घटना बिमा गरेर एक लाखसम्मको उपचार खर्च पाइने भएको छ । बिमा समितिले दुर्घटना बिमा निर्देशिका, २०७८ जारी गर्दै न्यूनतम डेढ सय रुपैयाँमा दुर्घटना बिमा गर्न सकिने व्यवस्था गरेको हो । निर्देशिकाअनुसार कम्पनीहरूले डेढ सय रुपैयाँभन्दा कम बिमाशुल्क लिन पाउनेछैनन् । तर, लघुबिमाअन्तर्गत पर्ने दुर्घटना बिमा पोलिसीको हकमा भने यो व्यवस्था लागू हुनेछैन ।  

अहिले निर्जीवन बिमा कम्पनीहरूले आफूखुसी दुर्घटना बिमा जारी गर्दै आएका छन् । जीवन बिमा कम्पनीहरूले जीवन बिमा पोलिसीमा नै दुर्घटनाको जोखिम रक्षावरण गरे पनि निर्जीवन बिमा कम्पनीहरूले भने दुर्घटना बिमा पोलिसी मात्रै जारी गर्दै आएका छन् । त्यस्तै, कर्पोरेट क्षेत्रलाई समेट्ने गरी कम्पनीहरूले व्यक्तिगत तथा सामूहिक दुर्घटना बिमा पोलिसी जारी गर्दै आएका छैनन् ।

 ५ प्रतिशतसम्म छुट
बिमा कम्पनीहरूले दुर्घटना बिमा पोलिसी जारी गर्दा ५ प्रतिशतसम्म छुट दिन पाउनेछन् । निर्देशिकाअनुसार व्यक्तिगत दुर्घटना बिमा न्यूनतम बिमादर प्रतिव्यक्ति दुई रुपैयाँ हुनुपर्नेछ । पोलिसीमा कुनै पनि प्रकारको छुट दिन पाइनेछैन । तर, बिमा अभिकर्ताको प्रयोग नगरी सीधै बिक्री गरिएको बिमा पोलिसीमा भने कम्पनीले ५ प्रतिशतसम्म छुट दिन सक्ने व्यवस्था छ । हुलदंगा तथा आतंकवाद जोखिमको बिमाशुल्क भने छुट दिन पाइनेछैन ।

त्यस्तै, सामूहिक दुर्घटना बिमा पोलिसीमा दुईजनादेखि २५ जनासम्मको समूहका लागि प्रतिव्यक्ति प्रतिहजार न्यूनतम दुई रुपैयाँ तोकिएको छ । २६ जनादेखि सयजनासम्मका लागि प्रतिव्यक्ति प्रतिहजार न्यूनतम एक रुपैयाँ ७५ पैसा तोकिएको छ भने सयजनाभन्दा बढीका लागि प्रतिव्यक्ति प्रतिहजार एक रुपैयाँ ५० पैसा तोकिएको छ । साथै, क्षतिपूर्तिस्वरूप एक लाख रुपैयाँभन्दा बढीको औषधोपचार खर्च लिन चाहेमा थप खर्चका लागि थप गरिएको बिमांकको ५ प्रतिशत बिमाशुल्क कायम हुनेछ ।

 दुर्घटनाका कारण मृत्यु भएमा शतप्रतिशत भुक्तानी 
दुर्घटना बिमा पोलिसीअनुसार दुर्घटनाकै कारणले बिमितको ६ महिनाभित्र मृत्यु भएमा बिमा कम्पनीले शतप्रतिशत भुक्तानी गर्नेछ । बिमितको शव व्यवस्थापनका लागि १० हजार रुपैयाँ भुक्तानी गर्नेछ । बिमा गरिएको अवधिभित्र भएको दुर्घटनाका कारणले दुर्घटनाको मितिबाट एक वर्षभित्रमा स्थायी पूर्ण अशक्त भएमा बिमकले दाबी भुक्तानी गर्नेछ । 

स्पाइनल इन्जुरीका कारण पुनः ठीक नहुने गरी रिढको हड्डी काम नलाग्ने भएमा बिमांक रकमको शतप्रतिशत भुक्तानी गर्नुपर्नेछ । हातको नाडीदेखि माथि पूरै हात काम नलाग्ने भएमा, खुट्टाको गोलीगाँठोदेखि माथि पूरै खुट्टा काम नलाग्ने भएमा, दुवै आँखा पुनः दृष्टि फर्कन नसक्ने गरी काम नलाग्ने भएमा, पुनः श्रवणशक्ति नफर्कने गरी दुवै कान नसुन्ने भएमा र बोली नफर्कने गरी बोल्न नसक्ने भएमा शतप्रतिशत भुक्तानी गर्नेछ ।