मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर ११ शनिबार
  • Saturday, 27 November, 2021
२०७८ मङ्सिर ७ मंगलबार ०६:१८:००
Read Time : > 3 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

एलजिबिटिआई समुदायमाथि पाइलैपिच्छे हिंसा

फरक लैंगिक पहिचानका कारण एलजिबिटिआई अर्थात् यौनिक तथा लैंगिक अल्पसंख्यक (क्वेयर समुदाय)ले परिवारका सदस्यदेखि राज्यका निकाय र समाजबाट हिंसा खेपिरहेका छन् ।

Read Time : > 3 मिनेट
२०७८ मङ्सिर ७ मंगलबार ०६:१८:००

-निलम पौडेलले विद्यालय तहमा अध्ययन गरिन्जेल हरेक दिनजसो शिक्षकबाटै दुर्व्यवहार  भोगिन् । केटी साथीहरूसँग बसेको भन्दै उनले पहिलोपटक कक्षा ८ मा पढ्दा शिक्षकको कुटाइ खाइएकी थिइन् । यो क्रम विद्यालयमा रहिन्जेल निरन्तर चलिरह्यो ।उनलाई शिक्षकहरूले सबै विद्यार्थीको अगाडि राखेर कुट्ने, गाली गर्ने र दुर्व्यवहार  गर्ने गर्थे । शिक्षकबाटै दिनहुँ दुर्व्यवहार  सहनुको कारण थियो, पुरुष भएर महिलाको जस्तो व्यवहार देखाउनु । घरपरिवार र विद्यालयमा हुने फरक व्यवहारले उनलाई स्कुल पढ्दा नै आफू अन्य व्यक्तिभन्दा फरक रहेको महसुस भइसकेको थियो ।

शिक्षकहरूबाट हुने हिंसाका कारण उनी विद्यालय छोडेर काठमाडौं आइन् । तर, फरक लैंगिक पहिचानका कारण हुने हिंसा काठमाडौं आएपछि पनि रोकिएन । निलम ट्रान्सवमन हुन् । उनको यही लैंगिक पहिचान हिंसाको कारक बन्ने गरेको छ । उनी भन्छिन्, ‘मेरो शारीरिक बनावटकै कारण काम गर्ने स्थानमै शारीरिक र मानसिक दुर्व्यवहार  गरिन्छ । बाटोमा हिँड्दासमेत प्रहरीले हिंसाजन्य व्यवहार देखाउँछ, त्यसैले काम नपरी बाहिर हिँड्न छाडेको छु ।’ 


-विपिन खडायतले पनि स्कुल पढ्दादेखि नै शारीरिक बनावटका कारण दैनिक हिंसा भोगेको बताए । उनी ट्रान्सम्यान हुन् । उनी सुनाउँछन्, ‘लैंगिक पहिचानकै कारण विद्यालयमा फरक व्यवहार हुन्थ्यो । शिक्षकले कक्षामा सबैकोअघि नराम्रो शब्द प्रयोग गर्थे । जसका कारण कतिपय वेला पहिचान लुकाउँथेँ ।’ शारीरिक बनावट, रुचि र व्यवहारलाई लिएर परिवारमा समेत समस्या हुन थालेपछि घर छाडेको उनको भनाइ छ । तर, जहाँ गए पनि हिंसाको क्रम नरोकिएको उनी दुखेसो गर्छन् ।

लैंगिक पहिचान खुलाउँदा आत्महत्या गर्नुपर्ने अवस्था छ । यस्तो स्थितिमा समाजमा सजिलै को खुल्न सक्छ ? हाम्रो संघर्ष नागरिकता र पासपोर्ट पाउनुपर्छ भन्नेमा मात्र सीमित छैन । नागरिकताले हामीलाई खान दिँदैन । राजनीतिक मुद्दाका रूपमा स्थापित हुन सकेमा मात्रै हामीमाथिको हिंसा कम हुन्छ ।

पिंकी गुरुङ, अध्यक्ष ब्लु डायमन्ड सोसाइटी

फरक लैंगिक पहिचानका कारण एलजिबिटिआई अर्थात् यौनिक तथा लैंगिक अल्पसंख्यक (क्वेयर समुदाय)ले परिवारका सदस्यदेखि राज्यका जिम्मेवार निकायबाटै हिंसा खेपिरहेका छन् । अझै पनि फरक लैंगिकतालाई समाजमा विकृति ल्याउने, नपुंसक ठान्ने सोचका कारण दुव्र्यवहारले मान्यता पाइरहेको लैंगिक अल्पसंख्यकहरू बताउँछन् । 

नेपालमा क्वेयर समुदायलाई जनगणनामा नसमेटिँदा यकिन तथ्यांकसमेत छैन । जारी जनगणनामा समेत मुख्य गणनामा उनीहरूलाई समेट्ने प्रावधान छैन । (यो समुदायलाई ‘अन्य’मा गणना भइरहेको छ ।) यौनिक तथा अल्पसंख्यक समुदायको हकहितमा काम गरिरहेका संघसंस्थाले सन् २०१९ मा संकलन गरेको तथ्यांकअनुसार नेपालमा नौ लाखभन्दा बढी क्वेयर छन् । जनचेतनाका कारण समाजमा पहिचान खुलाउनेको संख्या बढ्दै गएकोले एलजिबिटिआईको जनसंख्या १२ लाखभन्दा बढी हुने मितिनी नेपालको अनुमान छ ।

मितिनी नेपालको एक अध्ययन रिपोर्टअनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा २७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा १ प्रतिशत क्वेयरले आफ्नो पहिचान खुलाएका छन् । यस्तै, प्रदेश १ मा २१ प्रतिशत, लुम्बनीमा १७ प्रतिशत, प्रदेश २ मा १३ प्रतिशत र गण्डकीमा १० प्रतिशत क्वेयर समुदायको बसोवास छ ।लैंगिक पहिचानका आधारमा क्वयेर समुदायले घरपरिवार, समाज, कार्यक्षेत्रमा दैनिकजसो कुनै न कुनै खालको हिंसा खेपिरहेका हुन्छन् । जसमध्ये अधिकांशले महिला र पुरुषबाहेक फरक पहिचानलाई स्वीकार गर्न नसकेर विभेद गर्ने गरेको विज्ञहरू बताउँछन् ।

मितिनी नेपालले पहिचान खुलाएका दुई सयजनामा गरेको अध्ययनले ५६ प्रतिशतले लैंगिक तथा अल्पसंख्यक समुदायबारे ज्ञान अभावका कारण हिंसा भोगेको जनाएको छ । समाजमा क्वयेर समुदायका व्यक्तिप्रतिको असामान्य सोचका कारण उनीहरूले परिवारमा मात्रै नभई कानुनी रूपमा समेत विभेद भोगिरहेको उक्त अध्ययनको निष्कर्ष छ । 

डिप्रेसन बढायो
लैंगिक पहिचान खुलाउँदा हुने हिंसाले यो समुदायका अधिकांश व्यक्ति डिप्रेसनको सिकार बनिरहेको ब्लु डायमन्ड सोसाइटिकी अध्यक्ष पिंकी गुरुङ बताउँछिन् । कोभिड महामारीको समयमा मात्रै यी समुदायका २० जनाले हिंसाका कारण आत्महत्या गरेको तथ्यांक छ । उनी भन्छिन्, ‘लैंगिक पहिचान खुलाउँदा आत्महत्या गर्नुपर्ने अवस्था आउँछ भन्ने थाहा हुँदाहुँदै कसले समाजमा सजिलै खुल्न सक्छ ? हाम्रो संर्घष नागरिकता र पासपोर्ट पाउनुपर्छ भन्नेमा मात्र सीमित छैन ।’

प्रशासनबाट समेत हिंसा
पहिचानका आधारमा व्यक्तिविरुद्ध गरिने हिंसालाई कानुनले दण्डनीय मानेको छ । तर, कतिपय घटना कानुनले क्वेयर समुदायबारे स्पष्ट नगर्दासमेत भइरहेको छ । लैंगिक अल्पसंख्यकलाई ‘अन्य’मा गनिने र नागरिकतामा समेत पहुँच नहुँदा हिंसाविरुद्ध कानुनको सहायतासमेत झन्झटिलो भएको मितिनी नेपालकी अध्यक्ष लक्ष्मी घलान बताउँछिन् । उनी भन्छिन्, ‘शारीरिक बनावटका कारण कार्यक्षेत्रमा ‘गे’ र ‘ट्रान्सजेन्डर’ले बढी हिंसा भोगिरहेका छन् । समुदायभित्र नराम्रो काम गर्ने व्यक्तितहरू पनि छन् तर, लुक्सकै कारणले अन्य व्यक्तिलाई छोडेर एलजिबिटिआई समुदायका व्यक्तिलाई प्रशासनिक निकायले बढी तारो बनाएको छ । हाम्रो संरक्षण गर्ने कानुन नहुँदा सार्वजनिक स्थानमा विनाकारण हिंसा हुँदासमेत चुप लागेर बस्नुपर्ने हुन्छ ।’ 

नेपालमा एलजिबिटिआई समुदायमा हुने हिंसामा मितिनी नेपालले गत वर्ष गरेको सर्वेक्षणले हिंसाको दोस्रो कारण अर्थात् २६ प्रतिशत हिंसा कानुनका कारण भोगेको उल्लेख गरेकोे छ । दुई सयजनामा गरिएको उक्त सर्वेक्षणमा ३१ प्रतिशत मात्रै हिंसाविरुद्धको उजुरीका लागि प्रहरीसम्म पुग्ने गरेको देखाएको छ । उजुरीसम्म पुगेकाहरू समेत व्यक्तिको लैंगिक पहिचानका आधारमा बढीे पीडित भएको मितिनी नेपालकी कार्यकारी निर्देशक सरिता केसी बताउँछिन् ।

उनी भन्छिन्, ‘ट्रान्सवमनहरूलाई बाटोमा हिँड्दासमेत विनाकारण प्रहरीले कुटेका घटनाहरू छन् । धेरैजसो ट्रान्सवमनहरू सेक्सवर्कर हुने र कतिपय अवस्थामा दोषी नहुँदासमेत कारबाहीमा पर्नु हिंसा हो ।’ अन्य पेसारत लैंगिक अल्पसंख्यकलाई समेत गलत व्यवहार गरिनुले समाज र न्यायिक निकायसमेत एलजिबिटिआई समुदायप्रतिको अनुदार रहेको देखाउने उनी बताउँछिन् । क्वयेर समुदायका बालबालिकाले लैंगिक पहिचान ११ देखि २० वर्षको उमेरमा खुल्ने हुँदा विद्यालय तहदेखि नै हिंसाको सिकार हुने गरेका छन् ।