मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर ६ सोमबार
  • Monday, 14 July, 2025
२o७८ मङ्सिर ६ सोमबार १३:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

२२ वर्षीया विन्दा कांग्रेसको प्रदेश प्रतिनिधि निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर ६ सोमबार १३:२४:oo

ओखलढुंगाकी २२ वर्षीया विन्दा बोगटी कांग्रेसको प्रदेश महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छिन्। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आइतबार भएको प्रदेश क्षेत्रीय निर्वाचनबाट तीन सय एक मतसहित बोगटी विजयी भएकी हुन्। उनका प्रतिद्वन्द्वी कमला धमलाले दुई सय ९२ मत ल्याएकी थिइन्।बोगटी १४औँ महाधिवेशनमा जिल्लाका उम्मेदवारमध्येकी सबैभन्दा कम उमेरकी हुन्।

राजधानीस्थित जनमैत्री क्याम्पसको नेविसंघ इकाइ कोषाध्यक्ष तथा काउन्सिल सचिव रहेकी बोगटी १३औँ महाधिवेशनबाट पार्टीको राजनीतिमा आएकी हुन्। विद्यार्थीको हकहित र जागरणमा काम गरेको अनुभवसहित पार्टीको राजनीतिमा सक्रियता बढाएको उनले बताइन्। प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि राजनीतिमा सशक्त भएर लाग्न थप ऊर्जा मिलेको उनको भनाइ छ।

‘नेविसंघमा रहेर विद्यार्थीको हित र पार्टीका अभियानहरूमा काम गरेको अनुभवले पार्टीको आन्तरिक चुनावमा एजेन्डासहित भिडेँ। प्रतिनिधिहरूले जिम्मेवारी दिनुभयो, अब झन् सशक्त भएर लाग्छु,’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘ओखलढुंगा कांग्रेसलाई संगठित, समावेशी, सबल,सक्षम एवं सुदृढ र गतिशील बनाउन मेरो सक्दोे भूमिका रहन्छ।’ युवाहरूको सक्रियताले मात्रै पार्टीमा उत्साह, एकता र रुपान्तरणको अभियानले सार्थकता पाउने उनको तर्क छ।

बोगटी देउवाइतर कोइराला–पौडेल पक्षको बालकृष्ण दाहाल समूहबाट निर्वाचित भएकी हुन्। संस्थापन देउवा पक्षमै रहेकी बोगटीलाई उक्त समूहले अहिल्यै वेला नभएको भन्दै उम्मेदवार हुने अवसर नदिएपछि उनले अर्को समूहबाट उम्मेदवारी दिएकी थिइन्। समूह बदलेर उम्मेदवार बनेकी बोगटी र अर्का एक युवा गोविन्द गिरीले मात्रै संस्थापनइतर समूहबाट चुनाव जितेका छन्। जिल्लाका दुई प्रादेशिक निर्वाचन क्षेत्रमा अधिकांश युवाले चुनाव जितेका छन्।