१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format o८:४६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गैरदलितसँग प्रेमविवाह गरेको भन्दै कुटपिट

पीडित पक्षलाई नै झुटो मुद्दामा फसाउन खोजेको गुनासो  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:४६:oo

सिराहाको लहान नगरपालिका– ३ रघुनाथपुरका एक दलित युवकले छिमेकी गैरदलित युवतीसँग प्रेमविवाह गरेको भन्दै युवकको परिवारमाथि पटकपटक कुटपिट भइरहँदा पनि प्रहरीले चासो नदिएको, बरु उल्टै झुटाे मुद्दामा फसाउन खोजेको पीडितहरूले गुनासो गरेका छन् । लहान– ३ रघुनाथपुरकी करिब ४० वर्षीया मन्तोरदेवी साफीले प्रेमविवाह गरेका छोरा रोजगारीका लागि विदेश गएपछि त्यही निहुँमा आफूहरूको घरभित्र पसेर लछारपछार गर्नुका साथै निर्घात कुटपिट गरेको बताइन् ।

घरधन्दा गरिरहेका वेला शनिबार बिहान छिमेकीहरू हुल बाँधेर घरभित्र पसी निर्घात कुटपिट गर्नुका साथै दुर्व्यवहार गर्दा पनि प्रहरीले उल्टै झुटाे मुद्दामा फसाउन खाजेको साफीले गुनासो गरिन् । ‘उमेर नपुगेको भन्दै स्थानीय समाजले पनि छुटाउनुपर्छ भनेपछि हामीसहित काठमाडौं पुगेर केटीलाई ल्याएर माइती पक्षको जिम्मा लगायौँ,’ लहानमा सोमबार पत्रकार सम्मेलन गर्दै उनले भनिन्, ‘केटी फेरि २७ कात्तिकमा घर छोडेर भागेपछि हामीले भगाएको भन्दै मरणासन्न हुनेगरी कुटपिट गरे ।’

कुटपिटमा गर्भ तुहिएको आरोप
घरभित्रै पसेर शनिबार बिहान गरिएको कुटपिटको कारणले आफन्त करिब २२ वर्षीया सवितादेवी साफीको अढाई महिनाको गर्भ तुहिएको मन्तोरदेवीले बताइन् । ‘गर्भ तुहिएपछि विराटनगरमा पुर्‍याएर उपचारपछि घरमा ल्याएका छौँ,’ उनले भनिन्, ‘सोमबार बिहान फेरि एक हुल मानिस आएर दुर्व्यवहार गर्दै १० कक्षामा पढ्दै गरेकी छोरीलाई विवाह गर्छौँ भन्दै धम्क्याएर देवरानी सवितालाई मरणासन्न हुने गरी कुटपिट गरे ।’

ज्यानै लिन्छन् भन्ने त्रास बढेपछि दलित अधिकारकर्मीको सहयोगमा प्रहरीलाई गुहारेको भए पनि उल्टै प्रहरीले नियन्त्रणमा लिएर गएको उनको गुनासो छ । ‘दलित भएर गैरदलितलाई ताक्ने’ भन्दै स्थानीय हेमशंकर कामैत, आत्मराम कामैत, प्रमोद कामैत, नन्दे कामैत, विलेक्षण कामैतलगायका व्यक्तिले दुई–दुईपल्ट घरमै पसेर कुटपिट र दुर्व्यवहार गरे, प्रहरीले उल्टै केटीलाई बेपत्ता बनाएको झुटाे अभियोगमा अपहरण, शरीर बन्धक र करणीको मुद्दा चलाएर समस्यामा पार्‍यो  ।’ लहानस्थित इलाका प्रहरी कार्यालयले शनिबार नै महेशका बाबु ५० वर्षीय शत्रुधन साफीलाई सिराहा जिल्ला अदालतको १६ कात्तिकको अनुमतिमा अपहरण, शरीर बन्धक र करणीको मुद्दाअन्तर्गत अनुसन्धानका लागि भन्दै पक्राउ गरेको छ भने आमा मन्तोरदेवी र आफन्त सवितादेवीलाई भने छोडिदिएको छ ।

 किशोरीलाई लुकाएर राखेको दाबी
दलित परिवारमाथि पटक–पटक भइरहेको कुटपिट दलित र गैरदलितबीचको प्रेमविवाहभन्दा पनि सामाजिक विषय रहेको प्रहरीको भनाइ छ । लहान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डा. तपनकुमार दाहालले उमेर नपुगेकी किशोरीसँग जोसुकैले विवाह गरेको भए पनि कानुनअनुसार कारबाही हुने बताए । ‘दुवै परिवारको सहमतिमा प्रेमविवाह गरेकी किशोरीलाई उमेर नपुगेकाले घर ल्याएर जिम्मा दिइएको हो,’ प्रहरी नायव उपरीक्षक दाहालले भने, ‘पुनः २७ कात्तिकमा केटीलाई महेशकी आमाले नै भगाएको प्रमाण छ, त्यही कारणले कुटपिट भएको हुन सक्छ, यद्यपि प्रहरी समयमै पुगेर दुर्घटना हुनबाट रोकेको छ ।’ दलितहरूमाथि पटक–पटक भइरहेको कुटपिटसम्बन्धी किन जाहेरी नलिनुभएको भन्ने प्रश्नमा प्रहरी नायव उपरीक्षक दाहालले भने, ‘प्रक्रिया पुर्‍याएर जाहेरी ल्याए उजुरी दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउँछौँ, कानुनको मातहत रहेको प्रहरीले गैरदलितको उजुरी दर्ता गर्ने, दलितको नगर्ने भन्ने हुँदैन ।’