निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ श्रावण २८ शनिबार
  • Saturday, 13 August, 2022
२०७८ कार्तिक २९ सोमबार ०८:३०:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

विलासी जीवनशैली : मधुमेहको जननी 

Read Time : > 3 मिनेट
२०७८ कार्तिक २९ सोमबार ०८:३०:००

आधुनिक युगमा विलासी जीवनशैलीका कारण मानिसदिनानुदिन अल्छी र मोटो हुँदै गइरहेका छन् । विलासी जीवनशैली मधुमेहको जननी हो ।


मधुमेहलाई नेपालीमा चिनी–रोग नामले बढी चिनिन्छ, किनकि यो रोगबाट ग्रसित बिरामीको पिसाब गुलियो हुने र कमिलाहरू झुम्मिने गर्छन् । हामीले खाएको खाना ग्लुकोज–अणुमा परिणत भई रक्तकोषमा जम्मा भएर रहन्छ । रगतमा ग्लुकोजको मात्रा वृद्धि भएपछि त्यसले प्यांक्रियाजलाई इन्सुलिन नामक हर्मोन उत्पादन गर्न निर्देशन दिन्छ । सो हर्मोनले रगतमा जम्मा भएको ग्लुकोजका अणुहरूलाई शरीरका अन्य कोषहरूमा छिर्न दिई शक्तिको रूपमा सञ्चित गराएर राख्छ । जब शरीरमा इन्सुलिन उत्पादन हुन सक्दैन, वा एकदम कम हुन्छ वा चाहिने मात्रामा उत्पादन भए पनि काम गर्न नसक्ने अवस्था हुन्छ, त्यो नै मधुमेह हो । रगतमा ग्लुकोजको मात्रा खाना खाएपछि सामान्य (१४० मिलिग्राम÷डेसिलिटर)भन्दा ज्यादा भए मधुमेह भएको मानिन्छ । मधुमेह एक भयावह रोग हो ।

विश्वमा प्रत्येक वर्ष करोडौँ मानिसको मृत्यु मधुमेहका कारण हुने गरेको छ । विश्व स्वास्थ्य संगठनको सन् २०१९ को तथ्यांकले संसारभर ४६ करोड ३० लाख मानिस मधुमेहबाट पीडित देखाउँछ । जुन संसारभरका वयस्क संख्याको ८.८ प्रतिशत हो । सन् २०१९ मा चार करोड २० लाख मानिसको यो रोगबाट मृत्यु भएको तथ्यांक छ । सन् २०१७ मा विश्व अर्थतन्त्रबाट सात खर्ब ५० अर्ब अमेरिकी डलरभन्दा बढी मधुमेह रोगको उपचारमा खर्च भएको अनुमान छ । नेपालमा पनि जीर्ण मधुमेह रोगीको संख्यामा वृद्धि हुँदै गएको अवस्था छ । नेपाल मधुमेह संघको तथ्यांकअनुसार नेपालमा १४ लाख ७६ हजार मधुमेहका रोगी छन् । सन् २०१६ मा नेपालमा १० हजारभन्दा बढीको मृत्यु मधुमेहका कारण भएको आँकडाले बताउँछ । प्रत्येक वर्ष मधुमेहरोगीको संख्यामा उल्लेखनीय वृद्धि भइरहेको छ ।

इन्सुलिन–हर्मोनको उत्पादन र इन्सुलिन रिसेप्टरको गडबडीको कारणले नै रगतमा सुगरको मात्रा बढी भई मधुमेह रोगले जन्म लिन्छ । प्यांक्रियाजका बिटा सेलहरूले इन्सुलिन हर्मोन उत्पादन गर्छन् । तर, शरीरलाई चाहिनेजति इन्सुलिन उत्पादन भए पनि कोषहरूको झिल्लीमा रहेको इन्सुलिन रिसेप्टरको संवेदनशीलतामा कमी आउनाले उक्त हर्मोनले काम गर्न सक्दैन । इन्सुलिन रिसेप्टरले काम नगरेको अवस्थालार्ई दोस्रो प्रकारको मधुमेह भनिन्छ । यस किसिमको मधुमेह इन्सुलिन ज्यादै कम उत्पादन भएर पनि हुने गर्छ । तर, इन्सुलिन हर्मोन नै शरीरमा उत्पादन नहुनु भनेको पहिलो प्रकारको मधुमेह हो । प्यांक्रियाजमा रहेका बिटा सेलहरू कुनै विकिरण, सूक्ष्म जीवाणु वा आनुवंशिक कारणले नष्ट हुँदा इन्सुलिन उत्पादन हुन सक्दैन । पहिलो प्रकारको मधुुमेहका बिरामीलाई इन्सुलिनको इन्जेक्सनमार्फत उपचार गरिन्छ ।

दोस्रो प्रकारलाई इन्सुलिन रिसेप्टर संवेदनशील बनाउने, आवश्यक मात्रामा इन्सुलिन उत्पादन गर्ने औषधिहरूको प्रयोगबाट रगतमा रहेको ग्लुकोजको मात्रालाई नियन्त्रणमा राखिन्छ । विश्वभर मधुमेहका बिरामीमध्ये ९० प्रतिशतभन्दा बढी दोस्रो प्रकारको मधुमेहबाट ग्रसित रहेको तथ्यांकले देखाउँछ । त्यसैले अहिलेसम्म भइरहेका सबैजसो अनुुसन्धान दोस्रो प्रकारको मधुमेहलाई केन्द्रमा राखेर हुने गरेका छन् । दोस्रो प्रकारको मधुमेह खानपिन, मोटोपन, बानीव्यहोरा, पारिवारिक इतिहास, उच्च रक्तचाप, गर्भवतीमा देखिने उच्च सुगरलगायतका कारणले हुन्छ । पहिलो प्रकारको मधुमेह मुख्यतः वातावरण, पारिवारिक इतिहास, अटो–एन्टिबडी र भौगोलिकलगायतका कारणले हुन्छ ।

मुख्यतः गलत खानपिन र बानीव्यहोराले गर्दा दोस्रो प्रकारको मधुमेह बढी मानिसमा देखिन्छ । आधुनिक युगमा विलासी जीवनशैलीका कारण मानिसहरू दिनानुदिन अल्छी र मोटो हुँदै गइरहेको अवस्था छ । नबिर्साैं, विलासी जीवनशैली मधुमेहको प्रमुख जननी हो । मधुमेहको उपचारमा प्रयोग हुने विभिन्न औषधिले ग्लुकोजको मात्रालाई सन्तुलित राख्न सघाउँछन् । कुनै पनि रोगको औषधिको जानकारीका निमित्त उक्त रोगको जन्म कसरी हुन्छ भन्ने जानकारी राख्नुपर्ने हुन्छ । मधुमेहको जन्म सामान्यतया दुई कारणले गर्दा हुन्छ– प्यांक्रियाजमा रहेका बिटा सेलहरू कुनै कारणवश नष्ट भई इन्सुलिनको उत्पादन नभएर र फस्फाटेज इन्जाइमले इन्सुलिन रिसेप्टरको संवेदनशीलतालाई नष्ट गरी इन्सुलिनका अणुहरूलाई रिसेप्टरमा बाँधिन दिएर । यी दुई कारणको जन्म भने अन्य अनेकौँ कारणबाट भएको हुन सक्छ । 

मधुमेहका औषधि र तीनको कार्य गर्ने शैली

१) बिगुनाइड : यो श्रेणीका औषधिमध्ये मेट्फर्मिन मधुमेह नियन्त्रणका लागि प्रभावकारी मानिन्छ । कलेजोको मुख्य कार्य बोसो र एमिनो एसिडका अणुहरूलाई ग्लुकोजमा बदल्नु हो । फलस्वरूप रगतमा ग्लुकोजका अणुहरू थुप्रिने गर्छ । यसैले मेट्फर्मिनले कलेजोलाई बोसो र एमिनो एसिडबाट ग्लुकोजमा बिस्तारै परिवर्तन गराएर रक्तकोषमा ग्लुकोजको मात्रा सामान्य राख्छ ।     
२) सल्फोनाइल युरिया : इन्सुलिन उत्पादनको मात्रा रक्तकोषहरूमा जम्मा भएको ग्लुकोजको परिमाणमा निर्भर हुन्छ । ग्लुकोजको मात्रा बढी भएमा इन्सुलिन पनि बढी नै उत्पादन हुनुपर्छ । सल्फोनाइल युरिया वर्गमा पर्ने ग्लिबेनक्लामाइड, ग्लिमिपेरिड र ग्लाइबुराइड नामक औषधिले बिटा सेलहरूलाई इन्सुलिन उत्पादन गर्न प्रेरित गर्छन् । 

३) थायाजोलिडिनडायोन्स : यस वर्गका औषधिहरू पियोग्लिटाजोन, रोजिग्टिजोनले दुई तवरले मधुमेहलाई नियन्त्रणमा राख्छन् । यिनीहरूले रक्तकोषहरूमा संकलित ग्लुकोजका अणुहरूलाई अन्य कोषहरूजस्तै मांसपेशी, हड्डी र बोसोका कोषहरूमा सोस्न सहयोग र बिटा सेलहरूलाई इन्सुलिन उत्पादन गर्न पनि 
प्रेरित गर्छन् । 

४) ग्लिप्टिन : ग्लिप्टिनले डाइपेप्टाइल पेप्टिजेज–४ नामक इन्जाइको क्रियाशीलतालाई नियन्त्रणमा राख्न मद्दत पुर्‍याउँछ । यो इन्जाइम बढी सक्रिय भए इन्क्रिटिन हर्मोनलाई नष्ट गर्छ । जुन हर्मोनले आवश्यकताअनुसार इन्सुलिन तयार गर्न सहयोग पुर्‍याउँछ । यस प्रकारका औषधिले इन्क्रिटिन हर्मोनलाइ सुरक्षित राखी इन्सुलिन उत्पादनमा अवरोध हुन दिँदैन । 

५) अल्फाग्लुकोसिडेज इन्हिविटर : अल्फाग्लुकोसिडेज इन्जाइमले स्टार्चलाई ग्लुकोजमा परिणत गरी आन्द्रालाई चाँडै सोस्न बाध्य पार्छ । परिणामस्वरूप रगतमा ग्लुकोजको मात्रा उच्च रहन्छ । त्यसैले यस्ता प्रकारका इन्जाइमहरूलाई काबुमा राख्न यो वर्गका औषधिले मद्दत गर्छन् । 

६) एसजिएलटी–२ इन्हिविटर : रगतमा बढी भएको ग्लुकोजको मात्रालाई छानेर पुनः रगतमा फर्काउने कार्य मिर्गौलाले एसजिएलटी–२ इन्जाइमको सहायताले गर्छ । यो इन्जाइमलाई नियन्त्रणमा राख्न सके ग्लुकोजका अणुहरू सीधै पिसाबबाट बाहिर निस्कन्छन् । औषधिले बढी भएको ग्लुकोजलाई पिसाबद्वारा बाहिर फ्याँकी रगतमा वृद्धि हुन दिँदैन । 

७) ग्लाइनाइड्स ः यो वर्गका औषधिले पनि सल्फोनाइल युरियाजस्तै नै प्यांक्रियाजमा अवस्थित बिटा सेलहरूलाई प्रेरित गराई इन्सुलिन उत्पादन गराउँछन् । तर, ग्लाइनाइड्सहरूले सल्फोनाइल युरियाको दाँजोमा चाँडो उत्पादन गर्ने र छोटो समयका लागि मात्र असर देखाउँछन् । रेपाग्लिनाइड्स, नाटेग्लिनाइड्सहरू यस समूहका प्रभावकारी औषधि हुन् ।

उल्लिखित औषधिहरू विभिन्न नाममा विश्व बजारमा उपलब्ध छन् । यी सबैको उद्देश्य रगतमा ग्लुकोजको परिमाणलाई सामान्य स्थितिमा राख्नु हो । यति धेरै र एउटै कम्पनीबाट पनि विभिन्न प्रकारका औषधि मधुमेहका लागि उत्पादन किन गरिएको होला भन्ने लाग्न सक्छ । मधुमेहका कारण धेरै छन्, त्यसैले औषधि पनि धेरै किसिमका हुन्छन् । (खड्का नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का वरिष्ठ वैज्ञानिक हुन्)