मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ कार्तिक २७ शनिबार १३:५४:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

सरकारी टाेलीद्वारा रसुवागढी नाकाकाे अनुगमन

Read Time : > 2 मिनेट
२०७८ कार्तिक २७ शनिबार १३:५४:००

नेपाल सरकारका उच्चस्तरीय अधिकारीले चीनसँगको अन्तर्राष्टिय व्यापारिक नाका रसुवागढीको अनुगमन गरेका छन्। कोरोना भाइरस संक्रमणका कारण देखाउँदै चीनसँगको अन्तर्राष्ट्रिय व्यापार प्रभावित रहेको नाकाको नेपाल सरकारका उच्चस्तरीय अधिकारीहरूले शुक्रबार स्थलगत अवलोकन गरेका हुन् ।

वाणिज्य मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मीको नेतृत्वमा आएको टोलीले रसुवागढी नाकाको स्थलगत अवलोकन गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए । ‘चिनियाँ पक्षले सामानको आयात किन बढाएनन् ? नेपालतर्फको अस्था के रहेछ ? भौतिक संरचनाको अवस्था के रहेछ ? भनेर टोलीले स्थलगत अवलोकन गरेको छ ।'

टोलीले नाकाको स्थलगत अवलोकन गर्नुका साथै नाकामा देखिएका समस्याबारे स्थानीय सरोकारवाला र जिल्लाका सम्बन्धित अधिकारीहरूसँग छलफल गरेको उनले बताए ।
स्थलगत रूपमा अवलोकनका लागि आएका टोलीलाई  प्रमुख जिल्ला अधिकारी जैसीले नाकामा रहेको याडलाई विस्तार गर्न आग्रह गरिएको बताए । ‘रसुवागढी नाकामा रहेको याडलाई विस्तार गर्न आग्रह गरेका छौँ, अहिले ६/७ वटा गाडीमा मात्र सीमित भइरहेको छ। छेउमै भूकम्पका वेलामा पहिरो गई माथिबाट बगेर आएको थुप्रिएको माटोलाई सफा गरेर थप विस्तार गर्न सकियो भने कम्तीमा पनि २० वटाभन्दा बढी गाडी अट्न सक्ने भयो’, उनले भने, ‘चीनले पनि सामान बढाउने भनेको छ । त्यसैले पनि याडलाई विस्तार गर्नुपर्ने भनेर टोलीलाई भनेका छौँ ।'

नाकाको स्थलगत अवलोकनपछि नयाँ पत्रिकासँगको कुराकानीमा वाणिज्य मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मीले नाकामा देखिएका समस्यामा ध्यान दिने र नाकाको व्यवस्थापनमा लागि पर्ने बताए । ‘चीनबाट सामान बोकेर नेपाल आउने कन्टेनरको संख्या थोरै छ । यसलाई बढाउन नेपालतर्फको याड विस्तार गर्नेछौँ । नाकालाई सहज रूपमा सञ्चालन गर्नका लागि अनुरोध तथा पहल गर्नेछौँ’, उनले भने, ‘चिनियाँ पक्षले सामानको आयात बढाउने भने पनि बढाएको छैन् । हामीले नाकाको  स्थलगत अवलोकन पनि गरेका छौँ। नाकामा देखिएका समस्याहरुबारे स्थानिय सरोकारवालाहरु र जिल्लाका सम्बन्धित अधिकारीसँग छलफल पनि गरेका छौँ। यहाँको समस्या समाधान गर्न लागि पर्नेछौँ।’

उनले नाकामा निर्माणाधीन पूर्वाधारको निर्माण छिट्टै सम्पन्न गराउन लागिपर्ने पनि बताए। मैलुङ–स्याफ्रुबेँसी सडक निर्माणको कामलाई तीव्रता दिन सडक विभागका महानिर्देशकालाई अनुरोध गर्नेसमेत उनले बताए । ‘नाका जोड्ने सडक निर्माणलाई तीव्रता अनि नाकामा निर्माणाधीन पूर्वाधार आइसिपी भवनलगायतका संरचनालाई सम्पन्न गराउन अनुरोध गछौँ ।’

कोरोना भाइरसको संक्रमणका कारण चीनसँगको अन्तर्राष्ट्रिय व्यापार प्रभावित भएको डेढ वर्ष बढी भएको छ । कोरोना संक्रमण सुरु भएयता चीनले कोटा प्रणालीमा सामान ल्याइरहेको छ । २०७६ माघ १५ देखि २०७७ जेठ २२ गतेसम्म नाका बन्द भयो। त्यसपश्चात् चीनले रसुवागढी नाका एकतर्फी सञ्चालन गरेको हो । चीनले आफ्नै गाडीमा नेपालतर्फको भूभागमा सामान ल्याइदिने गरेको छ । अहिले रसुवागढी नाकाबाट चिनियाँ नाैवटा कन्टेनरमा सामान आयात भइरहेको छ।  चिनियाँ एउटा गाडीमा आएको सामाग्री नेपाली दुईवटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन् । चिनियाँ गाडीमा आएको सामाग्री नेपाली गाडीमा लोड–अनलोड गर्न स्वास्थ्य मापदण्ड अपनाउँदै नेपाली कामदार नाकामा खटिएका छन् ।

कोरोना भाइरसको महामारी सुरु भएपछि खुम्चिएको नेपाल चीन व्यापार अझै सहज हुन सकेको छैन। अहिले कोटा प्रणाली सञ्चालित व्यापार पर्याप्त नभएको गुनासो व्यापारीले गरिरहेका छन् । कोटा प्रणालीअनुसार दैनिक नाैवटा चिनियाँ कन्टेनरमा सामाग्री नेपाल आयात भइरहेको छ । तर, यो परिमाण निकै कम भएको व्यापारीहरूले बताएका छन् । सिजनअनुसारको सामान ल्याइए पनि तोकिएको समयमा सामान नेपाल आई नपुगेको व्यवसायीहरूको गुनासो छ।

कोरोना महामारीअघि सयभन्दा बढी नेपाली कन्टेनरमा सामान नेपाल आयात हुने गरेको थियो । व्यवसायीहरूका अनुसार चीनको गोन्जाओबाट ल्याइएको सामान २० देखि २३ दिनभित्रमा नेपाल आइपुग्ने गरेको थियो । तर, अहिले सामान नेपाल आइपुग्न तीन महिनाभन्दा बढी लाग्ने गरेको छ। 

रसुवागढी नाका हुँदै अहिले नेपालतर्फ रेडिमेड कपडा, इलेक्ट्रोनिकलगायत सामग्री भित्रिने गरेको छ । नेपालबाट केरुङतर्फ हस्तकलाका सामग्री जाने गरेकोमा कोरोना संक्रमण सुरु भएपछि चीनले निर्यात रोकेको छ। २०७१ मंसिर १५ देखि रसुवागढी नाका विधिवत् रूपमा सञ्चालनमा आएको हो । भूकम्पपछि रसुवागढी र तातोपानी नाका बन्द भएको थियो। रसुवागढी नाका २०७२ मंसिरदेखि पुनः सञ्चालनमा आयो । त्यसयता चीनतर्फको नेपालको व्यापार यसै नाकामा केन्द्रित रहेको छ ।