मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
बाढीले डुबाएको कैलारी गाउँपालिकाका किसानको धान 
२०७८ कार्तिक १७ बुधबार १४:०५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

राहतको पर्खाइमा रहेका किसान भन्छन्– सरकारले दिन्छ भन्ने आस छ

Read Time : > 1 मिनेट
२०७८ कार्तिक १७ बुधबार १४:०५:००

कैलालीको जोशीपुर गाउँपालिका– १, बडहरियाका किसान केशव चौधरी गहुँबाली लगाउन बिउ र मलखाद कसरी जुटाउने भन्ने चिन्तामा छन्। विगतका वर्षहरूमा धान बेचेर बिउ र मलखादको जोहो गर्ने उनले यसपटक धान बेचेका छैनन्। ‘गहुँबाली लगाउनका लागि ऋण खोज्दै छु, पाएको छैन,’ चौधरीले दुःखेसो पोखे, ‘हिउँदे बाली कसरी लगाउने भन्ने चिन्ता छ।’

कात्तिक पहिलो साता आएको बाढीले उनले दुई बिघामा लगाएको धानबालीमा क्षति पुर्‍यायो। काटेर खेतमै कुन्यु बनाएर राखेको धान डुबेपछि कुन्युमै उम्रियो। उम्रिएर कालो दाग लागेको धानले मूल्य नपाएपछि नबेचेको चौधरीले बताए। ‘धान बिग्रेको भनेर व्यापारीले क्विन्टलको हजार–१२ सय रुपैयाँ पनि दिँदैनन्,’ चौधरीले भने, ‘त्यही धान बेचेर घरखर्च चल्थ्यो। खेती लगाउँथेँ, यसपालि निकै समस्यामा छु ।’

उनको पाँचजनाको परिवार खेती–किसानीमै निर्भर छ। वडा कार्यालयमा गएर क्षतिको विवरणसहित राहतका लागि फाराम भरेका चौधरी सरकारले थोरै भए पनि देला भन्ने आशामा छन्। गहुँको बिउ र मलखाद दिए पनि आफूलाई ठूलो सहयोग पुग्ने उनको भनाइ छ। कैलारी गाउँपालिका– ५, पवेराका किसान कमलेश कठरिया पनि घरखर्चसँगै हिउँदे बालीका लागि खर्चको जोहो कसरी गर्ने भन्ने चिन्तामा छन्। उनले खेती गर्ने पाँच बिघामध्ये चार बिघामा लगाएको धान बाढीमा डुब्दा काम नलाग्ने भएको छ। काटेर खेतमै पुला बाँधेर राखेको धान उम्रिएर बिग्रिएपछि हजार रुपैयाँ क्विन्टल पनि बिक्न गाह्राे भएको उनले बताए।

कठरियाले अहिलेसम्म कतैबाट पनि राहत नपाएको बताए। ‘वर्षभरिको मिहिनेत खेर गयो । किसानलाई यति ठूलो क्षति हुँदा सरकारले राहत त दिनुपर्ने हो,’ उनले भने, ‘सरकारले सहुलियतमा गहुँको बिउ र मल मात्र उपलब्ध गराई दिए पनि हामीलाई ठूलो राहत पुग्थ्यो।’ नौजनाको परिवारका लागि नुनतेल र बालबालिकाको पढाइखर्च कहाँबाट जुटाउने भन्ने चिन्ताले सताउने गरेको कठरियाले बताए। ‘खेतीपातीबाहेक आम्दानीको स्रोत केही छैन। यति ठूलो परिवारको खर्च कसरी जुटाउने ?’ उनले भने, ‘पीडित किसानका समस्या सरकारले बुझोस् ।’

अन्न उत्पादनको पकेट क्षेत्रको रूपमा रहेको कैलालीमा बेमौसमी वर्षाले धानबालीमा ठूलो क्षति गरेको छ। धानबाली नष्ट भएपछि सयौँ किसान पीडित छन्। स्थानीय तहहरूले वर्षाले धानबालीमा भएको क्षतिको विवरण संकलन गरिरहेका छन्। तर, सरकारी स्तरबाट किसानले अहिलेसम्म कुनै पनि खालको राहत पाएका छैनन्। राहत दिने विषयमा सुनुवाइ नहुँदा पीडित समस्यामा छन्। धानबाली नष्ट हुँदा परिवार पाल्नै समस्या भएको भन्दै पीडित किसानले राहत दिन सरकारसँग माग गरिरहेका छन्।

स्थानीय तहबाट संकलित विवरणअनुसार करिब ७८ हजार हेक्टरमा धानबाली लगाइएकोमा करिब ४९ हजार तीन सय हेक्टरको धानबाली पूर्ण रूपमा क्षति भएको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ। यहाँका सबै स्थानीय तहले संकलन गरेको विवरण हेर्दा वर्षाले धानबालीमा चार अर्ब ६४ करोड मूल्यको क्षति गरेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले बताए। तरकारीलगायत अन्य बालीमा करिब ७७ करोड क्षति भएको उनले जानकारी दिए। संकलित तथ्यांक यकिन गर्ने काम भइरहेको केन्द्रले जनाएको छ।
    
कतिपय किसानको धान पूर्ण रूपमा क्षति भएको उल्लेख गर्दै शर्माले पीडित किसानलाई राहतको आवश्यकता रहेको बताए। अहिलेसम्म राहत दिने कुनै कार्यक्रम भने आइनसकेको शर्माले बताए । ‘केन्द्र सरकारले पनि राहत दिने निर्णय गरेको सुनिएको छ। प्रदेश सरकारले पनि गर्ला,’ उनले भने, ‘धानबालीमा ठूलो क्षति भएको छ। किसानलाई राहतको खाँचो छ।’ क्षतिको यकिन विवरण आएपछि किसानलाई राहत दिनेबारे छिट्टै निर्णय गरिने सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ।