१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
तस्बिर : प्रधानमन्त्रीको सचिवालय
२o८१ जेठ २ बुधबार o६:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

ग्लास्गोमा देउवा–मोदी भेटवार्ता : राजनीति र सीमा समस्याबारे  छलफल नै भएन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o६:o६:oo

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच स्कटल्यान्डको ग्लास्गोमा मंगलबार भेटवार्ता भएको छ । देउवा पछिल्लोपटक प्रधानमन्त्री भएपछि यो उनीहरूको पहिलो भेटवार्ता हो । करिब २० मिनेटको भेटमा दुई देशबीचको राजनीतिक एवं सीमाका विषयमा छलफल नभएको परराष्ट्र स्रोतले बतायो । 

कूटनीतिक स्रोतका अनुसार प्रधानमन्त्री देउवाले नेपाललाई खोप सहयोग गरेकोमा तथा खरिद गरेको खोप आपूर्तिका लागि सहजीकरण गरिदिएकोमा मोदीलाई धन्यवाद दिएका छन् । मोदीले नेपाललाई थप सहयोग र सहजीकरणका लागि तयार रहेको आश्वासन दिएका छन् ।

परराष्ट्र मन्त्रालयले भने भेटवार्ताबारे ट्विटरबाट जानकारी दिएको छ । ‘जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको साइडलाइनमा भएको द्विपक्षीय वार्तामा दुई नेताहरूले द्विपक्षीय सम्बन्ध र सहयोगका विषयमा छलफल गर्नुभएको छ,’ परराष्ट्रले ट्विटमा भनेको छ ।

भारतीय प्रधानमन्त्री कार्यालयले पनि ट्विट गर्दै द्विपक्षीय वार्ता फलदायी भएको उल्लेख गरेको छ । ‘उहाँहरूबीच फलदायी बैठक भयो जसमा जलवायु परिवर्तनसँग विजय हासिल गर्न सँगै कार्य गर्ने र कोभिड– १९ महामारीका विषयमा सामूहिक प्रयास जारी राख्नेलगायत विषय समावेश थिए,’ भारतीय प्रधानमन्त्री कार्यालयले भनेको छ । 

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले निकट द्विपक्षीय सम्बन्ध थप बलियो बनाउने विषयमा दुई नेताले छलफल गरेको जानकारी दिएका छन् । उनीहरूबीच जलवायु परिवर्तन, कोभिड– १९ तथा त्यसपछिको परिस्थितिमा सहकार्यका विषयमा छलफल भएको उनको भनाइ छ । 

भेटवार्तामा प्रधानमन्त्री देउवाको टोलीमा वातावरण तथा वनमन्त्री रामसहाय यादव, परराष्ट्रसचिव भरतराज पौड्याललगायत सहभागी थिए । भारतीय प्रधानमन्त्री मोदीसँग विदेशमन्त्री डा. एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायत अधिकारीहरू सहभागी थिए ।

ग्लास्गोमा भएको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (युएनएफसिसिसी)को २६औँ सम्मेलन (कोप– २६) मा सहभागी देउवा र मोदीबीच सुरुमा सोमबारका लागि भेटवार्ता तय भएको थियो । तर, मोदीको व्यस्तताका कारण मंगलबार सरेको हो । सोमबार ग्लास्गोमा सहभागी भएका विभिन्न मुलुकका सरकार प्रमुखहरूसँगको जमघटमा देउवा र मोदीबीच जम्काभेट मात्रै भएको थियो ।

ad
ad