१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका जनकपुरधाम
२०७८ कार्तिक १५ सोमबार ०९:२०:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

फोहोर व्यवस्थापनमा बेवास्ता गरेको भन्दै मेयरविरुद्ध वडाध्यक्ष

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
२०७८ कार्तिक १५ सोमबार ०९:२०:००

नगरप्रमुखकै घरअगाडि फोहोर फालेर वडाध्यक्षहरूले गरे प्रदर्शन 
 नगरप्रमुख भ्रष्टाचारमा मात्र लिप्त भएको आरोप

फोहोर व्यवस्थापनमा बेवास्ता गर्दै आएका जनकपुर नगरपालिका प्रमुखविरुद्ध वडाध्यक्षहरू नै प्रदर्शनमा निस्किएका छन् । आइतबार नगरप्रमुख लालकिशोर साहको घरअगाडि नै फोहोर फालेर वडाध्यक्षहरूले प्रदर्शन गरेका हुन् । वडा नम्बर– १ का वडाध्यक्ष शत्रुधन साह, ३ का वडाध्यक्ष दीपेन्द्र साह, ४ का वडाध्यक्ष सुदर्शन सिंह र ७ का वडाध्यक्ष जानकीराम साहको नेतृत्वमा प्रदर्शन भएको थियो । नगरप्रमुखले चाडपर्वको वेलासमेत नगर सरसफाइमा ध्यान नदिएको उनीहरूको भनाइ छ । उनीहरूले नगरप्रमुख साहलाई पटक–पटक फोहोर व्यवस्थापनका लागि आग्रह गर्दा कुनै चासो नदिएको आरोप लगाएका छन् । 

दीपावली नजिकिँदै गर्दा फोहोर व्यवस्थापनमा चासो नदेखाएको भन्दै केही वडाध्यक्षहरूले नगरप्रमुख साहलाई मोसो दल्ने चेतावनीसमेत दिएका छन् । वडा नम्बर– ७ का वडाध्यक्ष जानकीराम साहले उपमहानगरलाई दुर्गन्धित बनाउने गरी थुपारिएका फोहोर व्यवस्थापन गर्न मेयर साहले बेवास्ता गरेको भन्दै मेयर साहलाई मोसो दल्ने चेतावनी दिए । वडा नम्बर– १ का वडाध्यक्ष शत्रुधन साह, वडा नम्बर– ३ का वडाध्यक्ष दीपेन्द्र साह, वडा नम्बर– ४ का वडाध्यक्ष सुदर्शन सिंह र वडा नम्बर– ७ का वडाध्यक्ष जानकीराम साहलगायतले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयअगाडि धर्नासमेत दिएका छन् ।

वडाध्यक्ष साहले भने, ‘हामीले योभन्दा पहिला पनि धेरैपटक फोहोर व्यवस्थापन हुनुपर्छ भनेका थियौँ । फोहोर व्यवस्थापनका लागि कुनै चासो नदेखाएपछि विरोधको यो शैली अपनाएका हौँ ।’ नगरप्रमुखले जनताप्रति बेवास्ता गर्दा महानगर दुर्गन्धित बनेको बताए । ‘थुपारिएका फोहोर व्यवस्थापनलाई मेयर साबले वास्ता नै गर्नुभएन, फोहोर व्यवस्थापन हुनुपर्छ भनेर ल्यान्डफिल्ड बनाउनुपर्छ भन्दै आएका छौँ । तपाईंले नसके हामी वडाध्यक्षहरूको समूह बनाएर काम गर्छौँ भन्दा पनि उहाँले मान्नुभएन,’ वडाध्यक्ष साहले आक्रोश पोखे, ‘काम नगर्ने मेयर, गाली खाने हामी वडाध्यक्ष ? उहाँचाहिँ अहिले काठमाडौं घुम्न जाने चाडबाडको वेला, रमाइलो गर्ने ? अब हामी मोसो दल्नुपर्छ भने त्यो पनि दल्नेछौँ ।’वडाध्यक्षहरूले नगरप्रमुख भ्रष्टाचारमा मात्र केन्द्रित भएको आरोप लगाए । ‘उहाँको चासो फोहोर व्यवस्थापनमा छैन । बरु, भ्रष्टाचारमा ध्यान केन्द्रित छ,’ एकजना वडाध्यक्षले भने, ‘उहाँका अनैतिक कामको अब पर्दा उघ्रँदै जानेछ ।’