मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर ११ शनिबार
  • Saturday, 27 November, 2021
बर्खा दत्त
२०७८ कार्तिक ११ बिहीबार ०७:१८:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

भारतीय क्रिकेट टिमको पाखण्ड

Read Time : > 2 मिनेट
बर्खा दत्त
२०७८ कार्तिक ११ बिहीबार ०७:१८:००

सन् २०१६ मा ‘सन् फ्रान्सिस्को फोर्टीनाइनर्स’का खेलाडी कोलिन केपरनिकले अमेरिकाको राष्ट्रगान बजिरहेका वेला काला जातिप्रति हुने नश्लीय उत्पीडनविरुद्ध विरोध जनाउन भुइँमा एउटा घुँडा टेकेका थिए । उनको विवादास्पद घुँडा टेकाइ ब्ल्याक लाइभ्स म्याटर्स (काला जातिको जीवन पनि उत्तिकै महत्वपूर्ण छ भन्ने अर्थ) अभियानको वैश्विक प्रतीक बन्न पुग्यो । त्यस उपरान्त यो क्रियालाई वैश्विक रूपमा नश्लभेदविरुद्धको एक शक्तिशाली प्रतीक मानिन्छ । यो प्रतीकले तमाम प्रतिस्पर्धाका बाबजुद खेलकुदले अन्त्यमा मानिसलाई जोड्छ भन्ने देखाउँछ । केपरनिकको घुँडा टेकाइको करिब ५० वर्षपहिले सन् १९६८ को ओलम्पिक्समा दुई अफ्रिकी अमेरिकी खेलाडी टमी स्मिथ र जोन कार्लोसले अमेरिकी राष्ट्रगान बज्दा मानवअधिकारको सन्देश दिन मुठी उचालेका थिए ।

सम्भवतः विश्वमै सबैभन्दा धेरै माया गरिएका ११ जना भारतीय क्रिकेट खेलाडीले पनि दुबईको घाँसे मैदानमा नश्लीय समानतालाई समर्थन गर्न केपरनिकले झैँ घुडा टेके । प्रश्न उठ्छ, त्यो घुँडा टेकाइले सुरुमा मानिसलाई किन चकित बनायो र अन्त्यमा सो घुँडा टेकाइ किन व्यापक निन्दाको विषय बन्यो ? घुँडा टेक्ने काम राष्ट्रिय खेल व्यवस्थापन गर्ने बोर्डको निर्देशनमा भएको भए पनि ती घुँडा टेक्नेहरू नागरिक स्वतन्त्रताका मुखर प्रतिरक्षक होइनन् । वास्तवमा उनीहरूले भारतमा सामाजिक न्यायको पक्षमा एक शब्द पनि व्यक्त गरेका छैनन् । ठीक विपरीत उनीहरूले सामाजिक न्यायविरुद्धका क्रियाकलाप गरेका छन् । यो घुँडा टेकाइको खासै अर्थ छैन । भारतमा सम्भवतः जातीय विभेदविरुद्धको विरोधले बढी अर्थ राख्थ्यो । यस सन्दर्भमा क्रिकेट खेलाडीहरूले आफूभन्दा टाढाको र ‘असर’ नगर्ने सजिलो क्रियाकलाप रोजे ।    

  महामारीदेखि हाल कस्मिरमा भइरहेका हिंसाका घटनाले भारतलाई अशान्त बनाइरहेका वेला आफ्नै मुलुकका घरेलु यथार्थबारे बोल्न र गर्न धेरै चिज थियो । क्रिकेट खेलाडीले आफ्ना साना स्वार्थलाई पछाडि छोड्न सक्थे र आवाज मुखरित पार्न सक्थे । यसको जिउँदो जाग्दो उदाहरण बंगलादेशी क्रिकेट टिमका पूर्व–कप्तान मस्रफे मुर्तजा हुन् । उनले हालै बंगालदेशमा अल्पसंख्यक हिन्दूमाथि हमला हुँदा कडा वक्तव्य जारी गरेका थिए । 

यदि भारतीय क्रिकेट खेलाडीले घुँडा टेक्ने प्रदर्शन नगरेका भए यत्रो हल्लाखल्ली हुने थिएन । सबैलाई दक्षिण एसियाकै भारत र पाकिस्तानको रोमाञ्चक खेलको अधैर्यसाथ प्रतीक्षा थियो । तर, जब उनीहरूले अमेरिकी फुटबल खेलाडीको सिको गरेर तमासा प्रदर्शन गरे, महत्वपूर्ण विषयहरू एकाएक सतहमा आए । चाखलाग्दो कुरो के रह्यो भने भारतमा विभिन्न तप्काका मानिसले यो तमासालाई निकृष्ट सांकेतिकता (टोकनिजम) का रूपमा बुझे । यो घटना पनि बिस्तारै सेलाउँथ्यो होला, तर खेलपछि जे भयो, त्यसले यो घुँडा टेकाइको प्रतिक्रिया सेलाउन दिएन ।

मोहम्मद सामीमाथि ‘हमला’ भइसकेपछि भारतीय खेलाडीको घुँडा टेकाइले निरर्थकता मात्रै होइन, पाखण्ड पनि दर्सायो । के अब उनीहरू आफ्नै साथीको समर्थनमा घुँडा टेक्न सक्छन् ?

  पाकिस्तानले सानदार रूपमा खेल जित्यो र स्वभावतः भारतीयको मुटु छियाछिया भयो । तर, केही मानिस अनलाइनमा निकै तल्लो स्तरको र अश्लील टिप्पणी गर्न थाले । ३१ वर्षीय खेलाडी मोहम्मद सामी यी भद्दा टिप्पणीको सबैभन्दा प्रमुख तारो बने । उनको इन्स्टाग्राम अत्यधिक विषाक्त एवं इस्लामद्वेषी टिप्पणीले भरिए, जहाँ उनलाई गद्दार करार गरियो र पाकिस्तान जान भनियो । अन्य खेलाडीको तुलनामा सामीप्रति गरिएको दुव्र्यवहार पृथक् थियो, अर्थात् उनीमाथि हमला मुसलमान भएकै कारण गरियो । वास्तवमा यो खेल टुर्नामेन्टमा सामी भारतबाट खेल्ने एक मात्र मुसलमान खेलाडी हुन् ।

अब यस घटनालाई ब्ल्याक लाइभ्स म्याटर्सलाई आकर्षित गर्ने नश्लभेदसँग दाँजेर हेरौँ । सामीमाथि भएको व्यवहार झल्काउने गरी बेलायती फुटबलरहरू बुकायो साका, मार्कस  र्‍यासफोर्ड र जेडन स्यान्चोमाथि युरोकप २०२० को फाइनल खेलमा पेनाल्टी गुमाउँदा अनलाइन नश्लीय गालीगलोजयुक्त व्यवहार भयो । सामीमाथि हमला हुनुअघिसम्म घुँडा टेक्ने काम तमासासम्म सीमित थियो । तर, सामीमाथि हमला भइसकेपछि घुँडा टेकाइले निरर्थकता मात्रै होइन, पाखण्ड पनि दर्सायो । के अब उनीहरू आफ्नै साथीको समर्थनमा घुँडा टेक्न सक्छन् ?

  लडाकु एवं उत्कृष्ट खेलाडी र भारतका कप्तान विराट कोहली आफ्ना टिमका सदस्यप्रति अत्यन्त बफादार खेलाडीमा दरिन्छन् । उनले पाकिस्तानी टिमलाई ठूलो जित हात पारेकोमा बधाई दिएर उदारता र सभ्यताको प्रदर्शन गरेका छन्, जुन पाकिस्तानी ब्याट्सम्यान मोहम्मद रिजवानलाई अँगालो हालेको भाइरल तस्बिरले देखाउँछ । भारत–पाकिस्तानको खेललाई युद्धका रूपमा हेरिने सन्दर्भमा कोहलीको व्यवहार निकै परिपक्व देखिन्छ । यद्यपि, सहकर्मीमाथि भएको व्यवहारमा उनले साधेको मौनता स्तब्ध एवं निराश बनाउने खालको छ ।    

बढ्दो आलोचनाबीच थुप्रै प्रतिष्ठित खेलाडीले सामीका पक्षमा बोलेका छन् । तर, कोहली मौन छन् । सामीका पक्षमा बोल्न पनि उनलाई क्रिकेट बोर्डको अनुमतिको आवश्यकता पर्छ हो ? के उनलाई अनलाइन माध्यममा लेखिएका विषाक्त टिप्पणीबारे थाहा छैन ? यति आधारभूत विषयमा बोल्दा पनि उनलाई केही गुमाउने डर छ र ?   यो मौनतामा तपाईंहरू भारतीय क्रिकेट टिमको घँुडा टेकाइको कर्कस अर्थहीनता महसुस गर्न सक्नुहुन्छ ।
द वासिंगटन पोस्टबाट

(दत्त वरिष्ठ टेलिभिजन पत्रकार हुन्)