
चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानको अन्तरिम सरकारका अधिकारीहरूसँग भएको भेटवार्ता सकारात्मक रहेको बताएका छन्। अफगानिस्तानको अन्तरिम सरकारका अधिकारीहरूसँग उनले भेटवार्ता गरेका थिए। सो भेटले आपसी विश्वासमा वृद्धि भएको जानकारी विदेशमन्त्री वाङ यीले गराएका हुन्।
विदेशमन्त्री वाङ यीले अफगानिस्तानको अन्तरिम सरकारका उपप्रधानमन्त्रीसँग कतारको राजधानी दोहामा भेटवार्ता गरेका थिए। मंगलबार भएको द्विपक्षीय भेटका क्रममा आपसी विश्वास वृद्धि गर्नुका साथै विविध विषयमा स्पष्ट रूपमा छलफल भएको उनले बताए। सो भेटका क्रममा अफगानिस्तानको पछिल्लो अवस्थाबारे कुराकानी भएको बताइएको छ। भेटमा तालिबानहरूले आफ्नो सरकारको नीतिबारे विदेशमन्त्री वाङ यीलाई जानकारी दिएका थिए।
अफगानिस्तानको अन्तरिम सरकारका विदेशमन्त्री अमिर खान मुतागीले अफगानिस्तानको तालिबान सरकारले देशभित्र आतंककारी गतिविधिमा निगरानी राख्ने र मानव अधिकारका पक्षमा काम गर्ने बताएका थिए। हाल अफगानिस्तानको सरकार महिला अधिकारका विपक्षमा रहेको भन्दै यसका लागि विश्व समुदायले पनि चासो राखिरहेको छ।
अफगानिस्तानका विदेशमन्त्रीले हाल अफगानिस्तानले महिला अधिकार, बाल अधिकारका साथै बालबालिकाको अवस्थाबारे पनि निकै चनाखो भएर काम गरेको बताए। रासस