१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 01 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:२o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सकियो दसैँ, महालक्ष्मीको आराधना गरी मनाइयो कोजाग्रत पूर्णिमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:२o:oo

धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा–आराधनासहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडादसैँलाई बिदा गरेका छन् । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्वको अन्तिम दिन मंगलबार आश्विन शुक्ल पूर्णिमाको राति धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा–आराधनासहित रात्रिमा जाग्राम बसेपछि समापन भएको छ।

शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि मंगलबार नै समाप्त भएको छ। अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि एक वर्षका लागि सकिएको छ। मंगलबार राति नै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगी सेलाइएको छ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आमनेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन्। आश्विन शुक्ल पूर्णिमाको  सायंकालमा महालक्ष्मीको पूजा–आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएकोे धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतम बताउँछन्। 

नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । कार्तिक कृष्ण औँसीका दिन मनाइने लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ। यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आश्विन शुक्ल पूर्णिमाको राति जुवा खेल्ने विधानसमेत शास्त्रीय आधारमा रहेको धर्मशास्त्रविद् गौतमले बताए । महालक्ष्मीसँगै मंगलबार राति हात्तीमा चढेका इन्द्रको पनि पूजा गरिएको छ।

कोजाग्रत पूर्णिमा मंगलबार परे पनि पूर्णिमा व्रत भने आज रहेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए । महालक्ष्मीको व्रत गर्न गरिने कर्म मध्यरातमा पूर्णिमा भएका दिन गरिन्छ। चन्द्रमाको पूजा गरिने पूर्णिमा व्रतका लागि भने सूर्योदय र सायंकालमा पूर्णिमा तिथि चाहिने भएकाले आज परेको हो। कार्तिक स्नान र आकाशदीपदान पनि आजदेखि नै सुरु हुने समितिले जनाएको छ। वैदिक सनातन धर्ममा कात्तिक मासमा गरिने स्नान र दानको ठूलो महत्व रहेको विभिन्न ग्रन्थमा उल्लेख छ। कात्तिकमा गरिएको दान अक्षय हुने भएकाले देउसी–भैलोलाई पनि दान दिने प्रचलन सुरु भएको हो ।