मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
डेभिड ई स्याङर
२०७८ कार्तिक २ मंगलबार १०:०५:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

चीन–अमेरिकाबीच शीतयुद्ध सुरु भइसक्यो ? 

Read Time : > 3 मिनेट
डेभिड ई स्याङर
२०७८ कार्तिक २ मंगलबार १०:०५:००

वर्तमान स्थितिलाई शीतयुद्ध नाम नदिए पनि चीन र अमेरिकाबीच टकरावको सम्भावना निकै बढेको छ


‘चीनविज्ञ’समेत मानिने अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुडले हालै एक जर्मन पत्रिकासँगको अन्तर्वार्तामा बेइजिङ र वासिङ्टनबीच शीतयुद्धको सम्भावना अत्यधिक रहेको बताए । उनको टिप्पणीले ह्वाइट हाउसको कान ठाडो बनायो । ह्वाइट हाउसका अधिकारीले विभिन्न तर्कमार्फत चीनसँगको शीतयुद्धको सम्भावनालाई नकार्ने प्रयास गरे । तिनले चीन कुनै वेला सोभियत संघ रहेभन्दा बृहत्तर रणनीतिक प्रतिद्वन्द्वीको रूपमा उदाइरहेको स्विकारे तापनि शीतयुद्धको सम्भावनालाई भने नकारे । यथार्थमा अहिले चीनले अमेरिकालाई प्राविधिक, सैन्य चुनौती र आर्थिक क्षेत्रमा जुन प्रतिद्वन्द्विता दिइरहेको छ, त्यस्तो प्रतिद्वन्द्विता सोभियत संघले कुनै समयमा दिन सकेको थिएन । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले अघिल्लो महिना संयुक्त राष्ट्रसंघमा ‘अमेरिकाले शीतयुद्ध वा कठोर गुटमा विभाजित विश्व चाहेको छैन’ भने पनि उनी विभिन्न सन्दर्भमा ‘अधिनायकवाद र प्रजातन्त्र’बीचको पुस्तौनीस्तरको संघर्षको सन्दर्भ दोहोर्‍याउँछन् । बाइडेनको टिप्पणीले केहीलाई सन् १९५० र ६० को दशकको वैचारिक प्रतिद्वन्द्विता स्मरण गराउन थालेको छ । शीतयुद्ध मानसिकतामा रहेका सरकार हरेक विवादलाई बढाइचढाई गर्छन् र तिनलाई बृहत्तर संघर्षको हिस्साको रूपमा देखाउन खोज्छन् । तिनले सहकार्यका अवसर गुमाउँछन् । जस्तो, अमेरिका र चीनले कोभिड–१९ महामारीविरुद्ध संघर्षका क्रममा देखाए । र, पुनः जलवायु परिवर्तनको विषयमा पनि यस्तो सहकार्य नहुन सक्छ । के त्यसो भए अमेरिका र चीन शीतयुद्धमा प्रवेश गरिसके ?

अमेरिका र चीनबीचको वर्तमान सम्बन्ध शीतयुद्ध हो कि होइन, वा अरू नै केही हो भन्ने कुरा छुट्याउन हामीले आर्थिक रणनीति, प्राविधिक प्रतिस्पर्धा र सैन्य क्रियाकलापमा बढ्दो तनावभन्दा गहिराइमा गएर हेर्न सक्नुपर्छ । समुद्री पिँधमा भइरहेको अनुसन्धान, अन्तरिक्ष वा साइबर क्षेत्र यो अध्ययनका लागि उपयुक्त क्षेत्र हुन् । विगत केही साताका घटनाक्रममा पुरानो शीतयुद्धको प्रतिबिम्ब देखिएको चर्चा छ । चिनियाँ हवाई फौज ताइवानको हवाई क्षेत्र प्रवेश गर्‍यो । बेइजिङले उसको अन्तरिक्ष कार्यक्रम विस्तार गर्ने क्रममा उसको आफ्नै अन्तरिक्ष केन्द्रमा थप तीन अन्तरिक्षयात्री पठायो । र, चीनले अमेरिकी मिसाइल प्रतिरक्षा प्रणालीलाई भेद्न सक्ने हाइपरसोनिक मिसाइल परीक्षण गरेको समाचार अन्तर्राष्ट्रिय मिडियामा छायो । साथै, हुवावेका शीर्ष पदाधिकारीको उन्मुक्तिमा दुई क्यानेडियन र दुई अमेरिकीको रिहाइमा कैदी साटफेरको झझल्को देखिन्थ्यो । 

उता, यस अवधिमा अमेरिकाले अस्ट्रेलियालाई आणविक पनडुब्बी प्रविधि प्रदान गर्ने घोषणा गर्‍यो । अमेरिकाले अस्ट्रेलियालाई दिने पनडुब्बीमा कसैको राडारमा नदेखीकन एकैपटक चिनियाँ तटमा देखिन सक्ने क्षमता छ । चिनियाँ टिप्पणीकारका अनुसार अमेरिकाले पछिल्लोपटक सन् १९५८ मा ब्रिटेनसँग यस्तो प्रविधि साझा गरेको थियो । त्यस बखत बेलायतका नौसेनालाई सबल बनाउनुपछाडि अमेरिकाको उद्देश्य रुसी आणविक नौसेनाको प्रतिरक्षामा सहयात्री खोज्नु थियो । अस्ट्रेलियासँगको सम्झौताको घोषणा हुनुभन्दा केही दिनअघि भूउपग्रहीय तस्बिरहरूले नयाँ चिनियाँ आणविक मिसाइल भण्डारण क्षेत्र सार्वजनिक गर्‍यो । तस्बिरबारे बेइजिङले हालसम्म स्पष्टीकरण दिएको छैन । अमेरिकी विश्लेषक चिनियाँ सरकारको मनसायबारे निश्चित छैनन् । तर, अमेरिकी गुप्तचर एजेन्सी र पेन्टागनभित्रका केही विज्ञका अनुसार चीनले ६ दशकपछि मार्ग बदल्न लागेको छ । तिनको आशंकाअनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङ उनको देशले ६ दशकदेखि अँगालेको ‘मिनिमम डिटरेन्ट’ (प्रतिरक्षात्मक नीति)लाई परित्याग गर्ने तयारी गर्दै छन् । भलै, त्यसका लागि नयाँ सैन्य दौड त सुरु किन नहोस् ?

निरन्तरको साइबर द्वन्द्व र प्रविधि चोरीपछि सिआइएले यो महिना चीन हेर्नका लागि अलग चीन मिसन सेन्टर घोषणा गर्‍यो । घोषणाका क्रममा सिआइएका निर्देशक विलियम जे. वर्नले सेन्टर निर्माणको उद्देश्य अमेरिकालाई ‘२१औँ शताब्दीमा अमेरिकाले सामना गरेको सबैभन्दा महŒवपूर्ण भूराजनीतिक जोखिम तथा शत्रुतापूर्ण चिनियाँ सरकारसँग जुध्न तयार बनाउने’ रहेको बताए । यी सब घटनाक्रमका बाबजुद बाइडेनका सल्लाहकार हालको परिस्थितिलाई पुरानो शीतयुद्धको आँखाबाट हेर्न नहुने भनिरहेका छन् । उनीहरू दुई महाशक्तिबीच केही क्षेत्रमा सहकार्य हुने र केही क्षेत्रमा प्रतिस्पर्धा हुने तर्क गरिरहेका छन् । जस्तो, एकैपटक दुई मुलुकबीच जलवायु परिवर्तन सल्ट्याउन, उत्तर कोरियाको हतियार नियन्त्रण गर्न सहकार्य हुन सक्छ भने प्रविधि तथा व्यापारमा प्रतिस्पर्धा हुन सम्भव रहेको बताइरहेका छन् । 

केही विश्लेषकका अनुसार भाषामा नरमपन देखाउन प्रयास गरे पनि दुई मुलुक पहिलेदेखि शीतयुद्धमा फसेझैँ व्यवहार गरिरहेका छन् । यस्तो विचार राख्नेहरूका अनुसार नयाँ शीतयुद्ध विगतको भन्दा पूर्णतः फरक हुनेछ । 

‘अहिले शीतयुद्धजस्तो परिस्थिति छैन । विगतको शीतयुद्ध मुख्यतः सैन्य प्रतिस्पर्धा थियो, जुन आज देखिँदैन,’ बाइडेनका एक वरिष्ठ सल्लाहकारले नाम नबताउने सर्तमा बताए । उनले नाम बताउन नचाहेबाट पनि ह्वाइट हाउस बेइजिङको विषयमा कति गम्भीर छ भन्नेतर्फ नै संकेत गर्छ । दुई देशबीच प्रविधि, व्यापार तथा तथ्यांकमा गहिरो सम्बन्ध छ । शीतयुद्धकालमा अमेरिका र सोभियत संघबीच यस्तो प्रकारको आपसी निर्भरता थिएन । चीन र अमेरिकाबीच तनाव बढ्न थालेपछि दुई अर्थतन्त्र ‘डिकप्लिङ’ (अलग) हुने डर बढ्न थालेको छ । तर, यो डरका बीच अघिल्लो वर्ष अमेरिकाले चीनमा १२४ अर्ब डलरको सामान निर्यात गर्‍यो भने चीनबाट ४३४ अर्ब डलरको खरिद गर्‍यो । अझै पनि चीन अमेरिकाको सबैभन्दा ठूलो सामान आपूर्तिकर्ता र तेस्रो सबैभन्दा ठूलो उपभोग्य निर्यातक छ । चीनअगाडि अमेरिकाका दुई छिमेकी क्यानडा र मेक्सिको मात्र थिए । तर, अमेरिका र चीनबीचको व्यापारिक सम्बन्धको यो आकार र जटिलता त्यति चर्चा हुँदैन । 

तर, केही विश्लेषकका अनुसार भाषामा नरमपन देखाउन प्रयास गरे पनि दुई मुलुक पहिलेदेखि शीतयुद्धमा फसेझैँ व्यवहार गरिरहेका छन् । यस्तो विचार राख्नेहरूका अनुसार नयाँ शीतयुद्ध विगतको भन्दा पूर्णतः फरक हुनेछ । ‘धेरै मानिस शीतयुद्धलाई अमेरिका–सोभियत संघ मोडेलका रूपमा मात्र बुझ्छन्, तर त्यस्तो होइन,’ सिआइएमा लामो समय विश्लेषक रहेका पल हिरले भने । उनी नयाँ शीतयुद्ध विगतमा जस्तो आणविक गतिरोध तथा वैचारिक संघर्षका आधारमा परिभाषित नहुने बताउँछन् ।

हिरका अनुसार पुरानो शीतयुद्धको मुख्य तŒव ‘सैन्य द्वन्द्वको जस्तो वैरभावको स्थिति’ हो, जुन आज दृष्टिगोचर हुन थालिसक्यो । किनकि, दुवै मुलुक शक्ति र प्रभाव विस्तारका लागि एक–अर्कालाई अवरोध पुर्‍याउने र नियन्त्रण गर्ने क्रियाकलापमा छन् । ‘दुवै मुलुकले शीतयुद्ध पदावली प्रयोग गर्न चाहँदैनन् । त्यसका केही कारण छन् । तर, ती मुलुकभित्रको राजनीतिक बहस र तिनले एकअर्कालाई गर्ने व्यवहारले तिनलाई शीतयुद्धमै पुर्‍याउँछ,’ हिरले पछिल्लो एक अन्तर्वार्तामा भनेका थिए । वर्तमान स्थितिलाई जे नाम दिए पनि चीन र अमेरिकाबीच टकरावको सम्भावना विगतको तुलनामा निकै बढेको छ ।