मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवराज मैनाली काठमाडाैं
२०७८ कार्तिक १ सोमबार ०९:०९:००
Read Time : > 6 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

विमानस्थल सुरक्षा प्रणाली : गल्ती गर्ने प्रहरी, सास्ती यात्रुलाई

सुरक्षा जाँचमा प्रहरीबाट भएका चरम लापरबाहीपछि यात्रुलाई जुत्तासमेत खोल्न लगाएर जाँच गर्न थालिएको छ

Read Time : > 6 मिनेट
नवराज मैनाली, काठमाडाैं
२०७८ कार्तिक १ सोमबार ०९:०९:००

काठमाडौं विमानस्थल हुँदै दुई युवकले चार केजी सुन नेपालगन्ज पुर्‍याएको घटनामा प्रहरीको चरम लापरबाही रहेको छानबिन समितिले औँल्याएको छ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले गठन गरेको छानबिन समितिले प्रहरीको मिलेमतो नदेखिएको, तर गम्भीर लापरबाही गरेको भन्दै सुरक्षा प्रणालीमा सुधार ल्याउन सिफारिस गरेको छ । 

एसएसपी सन्दीप भण्डारी नेतृत्वको छानबिन समितिले प्रतिवेदन बुझाउँदै सुरक्षा कमजोरीहरू सुधार गर्न सुझाब दिएको हो । गत १८ भदौमा बुद्ध एयरका दुई यात्रु नेपालगन्ज विमानस्थलमा करिब चार किलो सुनसहित पक्राउ परेका थिए । जुत्तामा लुकाएर उनीहरूले सुन लगेका थिए । काठमाडौंस्थित विमानस्थलमा सुरक्षा जाँच गराउँदा उनीहरूसँग सुन देखिएको थिएन । जाँचमा संलग्न प्रहरीको लापरबाहीले गर्दा सुन पत्ता नलागेको छानबिन समितिको निष्कर्ष छ । 

विमानस्थलमा सबै यात्रुलाई ‘वाक थ्रु’ गेटमार्फत प्रवेश गराइन्छ । त्यसरी प्रवेश गराउँदा शरीरमा कुनै धातु भए मेसिन बज्ने गर्छ । सुन बोकेका दुई युवक गेटबाट प्रवेश गर्दा पनि मेसिन बजेको तैपनि प्रहरीले त्यसतर्फ ध्यान नदिएको र शरीर खानतलासी गर्दा पनि घुँडाभन्दा माथि मात्र गर्दा उनीहरूले सहजै अवैध सुन विमानस्थलबाटै ओसार्न सफल भएको छानबिन समितिले औँल्याएको छ । लापरबाही गर्ने प्रहरीलाई कारबाहीको सिफारिस भएको छ । तर, तस्करीमा मिलेमतो भने नदेखिएको छानबिन समितिका एक अधिकारीको दाबी छ । 

काठमाडौं विमानस्थलबाट गएका बुद्धिमान खाती र अमिर विश्वकर्मालाई सुराकीको आधारमा प्रहरीले नेपालगन्जमा पक्राउ गरेको थियो । उनीहरूलाई राजस्व अनुसन्धान विभागले थुनामा राखी अनुसन्धान गरिरहेको छ । प्रारम्भिक छानबिनमा विगतमा पनि उनीहरूले पटक–पटक नेपालगन्ज सुन ओसारेको खुलेको छ । विमानस्थलको सुरक्षा प्रणालीको कमजोरीको फाइदा उठाउँदै यसरी विमानबाटै अवैध सुन तस्करी भइरहेको र यसमा सुधार नगरे पछि ठूलो जोखिम उत्पन्न हुन सक्ने देखिएको छानबिन समितिका एक अधिकारीले बताए । 

गल्ती गर्ने प्रहरी, सास्ती भोग्ने यात्रु 
दुई युवकले अवैध सुन ओसारेपछि अहिले विमानस्थलमा हजारौँ यात्रुले सास्ती भोगिरहेका छन् । सो घटनापछि आन्तरिकतर्फका हवाई यात्रुले सुरक्षा जाँचको क्रममा अनिवार्य रूपमा जुत्तासमेत खोल्नुपर्छ । जब–जब विमानस्थलमा सुरक्षा कमजोरी पत्ता लाग्छ, त्यसपछि सिस्टममा सुधार गर्नेभन्दा यात्रुमाथि सुरक्षा जाँचका नाममा दुःख दिने गरिएको छ । अहिले पनि त्यही अवस्था छ । जुत्तासमेत खोलेर हुने अहिलेको चेकिङ प्रणालीका कारण डिपार्चर हलमा सधैँ भिडभाड हुने गरेको छ । 

विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेश बाँस्तोलाले यात्रुलाई जुत्ता खोल्न लगाउनु आफूहरूको बाध्यता भएको बताए । सुरक्षा संवेदनशीलताका आधारमा यो नियम लागू गरिएको उनको भनाइ छ । ‘जुत्तामा लुकाएर सुन लगेपछि मेटल फ्री गराएर चेकजाँच गराउन थालेका हौँ,’ उनले भने, ‘हामीसँग अत्याधुनिक प्रविधि छैन, यात्रुलाई दुःख दिने मनसाय होइन, यो हाम्रो बाध्यता हो ।’ 

अन्य देशमा पनि कतिपय विमानस्थलमा जुत्ता खोल्न लगाइन्छ । तर, विश्वका ठूला विमानस्थलमा भने यस्तो नियम लगाइएको छैन । जहाँ प्रविधिको कमी छ र उच्च सुरक्षा जोखिम हुन्छ, त्यस्ता विमानस्थलमा मेटल फ्री गराउन जुत्तासमेत खोल्न लगाउने गरिएको छ । नेपालको विमानस्थलमा पटक–पटक सुरक्षा कमजोरी देखिँदै आएको छ । सुन र डलर मात्र होइन विमानस्थलमा चिम्पान्जीसमेत तस्करी भएको घटनाले विमानस्थलको सुरक्षा अवस्था उदांगो भइसकेको छ । तैपनि विमानस्थल सुरक्षामा राज्यको ध्यान जान सकेको छैन । अन्तर्राष्ट्रिय तस्कर समूहले चार वर्षअघि नाइजेरियाबाट ल्याइएको चिम्पान्जी विमानस्थलबाट पास भइसकेपछि मात्र बरामद गरेको थियो । 

गृह मन्त्रालयले गठन गरेको विशेष अनुसन्धान टोलीले पाँच वर्षसम्म ३८ सय केजी सुन तस्करी भएको खुलेको थियो । त्यसअघि साढे ३३ किलो सुन विमानस्थलमा कार्यरत एसएसपी श्याम खत्रीको मिलेमतोमा भित्रिएको थियो । त्यसअघि तत्कालीन एसएसपी रविराज श्रेष्ठ डलर तस्करी प्रकरणमा बर्खास्त भएका थिए । विमानस्थलमा केही वर्षअघि लगेज चोरी बढेपछि पनि छानबिन समिति बनेको थियो । त्यसपछि ब्यागेजलाई पूर्ण रूपमा कभर गर्ने गरी सिसिक्यामेरा राखेपछि चोरी रोकिएको छ । लोडरका रूपमा काम गर्ने कर्मचारीले नै त्यसरी लगेजबाट सामान चोरी गर्ने सिसिक्यामेराबाट पत्ता लागेको थियो । 

विमानस्थलको सुरक्षा बलियो बनाउन विमानस्थलमा कार्यरत सबै निकायका कर्मचारीमा पनि शुद्धीकरणको आवश्यकता रहेको पूर्वएआइजी विज्ञानराज शर्माले औँल्याए । दुई वर्षअघि तत्कालीन एसएसपी सन्दीप भण्डारीले विमानस्थलको एप्रोन एरियामा प्रवेश गर्ने सबैमाथि चेकजाँच गर्ने नियम लागू गर्दा त्यतिवेला कतिपय कर्मचारीले नै विरोध गरेको एक प्रहरी अधिकारीले बताए ।

एक्सरे मेसिन थोत्रा भए, बडी स्क्यानर नै छैन 
विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेश बाँस्तोलाले बडी स्क्यानर भएको अवस्थामा जुत्ता खोल्न नपर्ने बताए । तर, नेपालको विमानस्थलमा अन्तर्राष्ट्रिय टर्मिनलमा समेत बडी स्क्यानर जडान हुन सकेको छैन । एक्सरे मेसिन थोत्रा भएका छन् । बडी स्क्यानरसँगै अत्याधुनिक एक्सरे मेसिन खरिद गर्नका लागि प्रहरीले प्रस्ताव गरे पनि त्यसमा प्रक्रिया अघि बढ्न सकेको छैन ।

हवाई सुरक्षाविज्ञ भरत ढकालका अनुसार विमानस्थलमा बडी स्क्यानरलाई आइकाओले अनिवार्य भनेको छैन । तर, यो जडान हुँदा विमानस्थलको सुरक्षा थप बलियो हुने उनले बताए । ‘थाइल्यान्डको सुवर्ण भूमि विमानस्थलमा पनि बडी स्क्यानर राखिएको छ,’ उनले भने, ‘तर, सबैलाई त्यो प्रयोग गरिँदैन, कोहीमाथि शंका लागेमा भने बडी स्क्यानरमार्फत चेकजाँच हुने गर्छ ।’ नेदरल्यान्डबाट एक व्यक्ति विस्फोटक पदार्थ बोकेर अमेरिका गएको घटनापछि अमेरिकाले विश्वभरिका विमानस्थलमा बडी स्क्यानर राख्न जोड दिँदै आएको छ । छानबिन समितिले ‘ड्युल भ्यु’ प्रविधिको एक्सरे मेसिनसमेत जडान गर्नका लागि सिफारिस गरेको छ । 

खाँचो विमानस्थल प्रहरीको 
नेपाल प्रहरीका पूर्वएआइजी विज्ञानराज शर्माले विमानस्थल सुरक्षामा व्यापक सुधारको आवश्यकता रहेको बताए । अहिलेकै अवस्थामा अघि बढ्दा कुनै दिन ठूलो समस्या नआउला भन्न नसकिने उनको भनाइ छ । ‘यदि सुनको सट्टा जुत्तामा राखेर हतियार लगेको भए के हुन्थ्यो ?’ विमानस्थल प्रहरी प्रमुखका रूपमा समेत काम गरेका शर्माले भने, ‘विमानस्थलमा एक्सेस कन्ट्रोल विशेष ध्यान दिनुपर्छ ।’ 

विश्वका सबै विमानस्थलमा एयरलाइन्सको काउन्टरपछि मात्र सेक्युरिटी जाँच हुन्छ । तर, नेपालमा भने सुरुमा सेक्युरिटी जाँच हुन्छ र त्यसपछि मात्र सर्वसाधारणको लगेज एयरलाइन्सको काउन्टरमा बुझाउने गरिन्छ । यसले लगेजमा एयरलाइन्सका कर्मचारीको पहुँच हुने भएकाले प्रतिबन्धित सामानसमेत जान सक्ने जोखिम हुन्छ । ‘हाम्रो विमानस्थलमा ठीक उल्टो व्यवस्था छ,’ नेपाल प्रहरीका पूर्वएआइजी शर्माले भने, ‘विश्वमा कहीँ पनि सुरक्षा जाँचभित्र एयरलाइन्सको टिकट काउन्टर हुँदैन ।’ यो विषय पटक–पटक उठ्दै आए पनि नागरिक उड्डयन प्राधिकरणले सुधारमा चासो दिएको छैन । 

हवाई सुरक्षा विशेषज्ञ भरत ढकाल भन्छन्– त्रुटिरहित सुरक्षा जाँचको खाँचो छ

हाम्रो विमानस्थलमा आइकाओले तोकेको मापदण्डअनुसारका सबै पूर्वाधार छन् । नयाँ–नयाँ प्रविधि आइरहेका हुन्छन् । हवाई सुरक्षा निकै संवेदनशील विषय हो, तर यो क्षेत्रमा तालिमप्राप्त प्रहरीको अभाव छ, यसमा सुधार गर्नुपर्छ । निषेधित क्षेत्रमा अनधिकृत व्यक्तिको प्रवेशमा नियन्त्रण र त्रुटिरहित सुरक्षा जाँच प्रणाली नै विमानस्थल तथा हवाई सुरक्षा प्रणालीको आधार हो । यसमा विशेष ध्यान दिन जरुरी छ ।

नेपाल प्रहरीमा विमानस्थल सुरक्षा प्रहरी गठन गर्नु अत्यावश्यक भइसकेको पूर्वएआइजी शर्माले बताए । प्रहरीलाई चेकजाँच र खानतलासीजस्ता मुख्य काममा केन्द्रित गरी बाहिरी पेरिमिटरको सुरक्षामा सशस्त्र वा सेनालाई खटाउनु उपयुक्त हुने उनको सुझाब छ । 

हवाई सुरक्षाविज्ञ भरत ढकालले पनि विशिष्टीकृत सुरक्षा फौजको विमानस्थलमा आवश्यकता रहेको औँल्याए । ‘हाम्रो विमानस्थलमा आइकाओले तोकेको मापदण्डअनुसारका सबै पूर्वाधार छन्,’ उनले भने,  ‘हवाई सुरक्षा निकै संवेदनशील विषय हो, तर यो क्षेत्रमा तालिमप्राप्त प्रहरीको अभाव छ, यसमा सुधार गर्नुपर्छ ।’ निषेधित क्षेत्रमा अनधिकृत व्यक्तिको प्रवेशमा नियन्त्रण र त्रुटिरहित सुरक्षा जाँच प्रणाली नै विमानस्थल तथा हवाई सुरक्षा प्रणालीको आधार भएको आइकाओका प्रशिक्षकसमेत रहेका ढकालले बताए । 

छिमेकी देश भारतमा पनि विमानस्थलमा विशिष्टीकृत सुरक्षा फौज खटाउन थालिएको छ । सेन्ट्रल इन्ड्रस्टियल सेक्युरिटी फोर्सअन्तर्गत एयरपोर्ट सेक्युरिटी ग्रुप बनाएर विमानस्थल सुरक्षामा खटाइएको छ । खासगरी सन् १९९९ मा नेपालबाट एयर इन्डियाको जहाज अपहरणमा परेपछि भारतमा यसरी विशिष्टीकृत सुरक्षाकर्मी खटाउन थालिएको हो । 

हालै एसएसपी भण्डारी नेतृत्वको छानबिन समितिले पनि विमानस्थलमा छुट्टै सेवा समूह गठन गरेर तालिमप्राप्त प्रहरी मात्र खटाउन सुझाब दिएको छ । सुन तस्करीको घटनामा तालिमप्राप्त प्रहरी नहुनुलाई प्रमुख कमजोरीका रूपमा औँल्याइएको छ । हाल आधारभूत तालिम मात्र दिएर विमानस्थलमा प्रहरी खटाउने गरिएको छ । 

विमानस्थलमा जताजतै सुरक्षा जोखिम 
विमानस्थलको सुरक्षा सुदृढ बनाउन तीन वर्षअघि एसपी कृष्णप्रसाद कोइरालाको नेतृत्वको अध्ययन कार्यदलले प्रतिवेदन बनाएको थियो । जसमा अन्तिम सेक्युरिटी चेकपछि यात्रु र कर्मचारी भेट नहुने गरी व्यवस्थापन मिलाउनुपर्ने, अत्याधुनिक बडी स्क्यानर र एक्सरे मेसिन जडान गर्नुपर्ने, सबै कर्मचारीलाई अनिवार्य रूपमा पोसाकको व्यवस्था गर्नुपर्ने, अत्यावश्यक अवस्थामाबाहेक पास दिन नहुनेलगायत सुझाब दिएको थियो ।

 स्काई सेफको खानालाई अनिवार्य रूपमा स्क्रिनिङ गर्न सिफारिस भएको थियो । प्लेनमा जाने खाना स्काई सेफ नामक निजी कम्पनीले लैजाने गरेको छ । तर, खानासँगै विमानमा अन्य प्रतिबन्धित वस्तुसमेत पुग्न सक्ने भएकाले स्क्यानिङ गर्न भनिएको थियो । तर, स्काई सेफका खानामा चेकजाँच हुने गरेको छैन । 

त्यस्तै, बाहिरी पेरिमिटर र भित्री पेरिमिटरको बीचमा बाटो बनाएर निरन्तर गस्ती गर्नुपर्ने, भाग्न खोज्ने सवारीलाई रोक्न अटोमेटिक हाइड्रोलिक गेट राख्नुपर्ने, यात्रुहरूको ब्यागेज एयरलाइन्स काउन्टरमा चेक इन काउन्टरमा पुगेपछि मात्र जाँच हुुनुपर्ने, ब्यागेजहरू अनिवार्य रूपमा र्‍यापिङ गराउनुपर्ने सुझाब समितिको थियो । नयाँ बिजनेस कम्प्लेक्स क्षेत्रमा जोकोही पनि सहजै जान सक्ने भएकाले त्यसले सुरक्षा जोखिम निम्त्याएको उल्लेख छ ।

प्रहरी, भन्सार र अध्यागमनलगायत निकायको एकीकृत हेल्प डेस्क बनाउन पनि भनिएको थियो । त्यस्तै एप्रोन एरियामा काम गर्ने कर्मचारीलाई खल्ती नभएको पोसाक लगाउन सिफारिस भएको थियो । खासगरी ब्यागेज अनलोड र अपलोड गर्ने कर्मचारीलाई यस्तो पोसाक प्रयोग गर्नुपर्ने सुझाब दिइएको समितिका एक सदस्य बताउँछन् । सो प्रतिवेदनमा औँल्याइएका केही विषय कार्यान्वयन भए पनि कतिपय कार्यान्वयन गरिएको छैन । 

एक्सरे मेसिन थोत्रा भए, बडी स्क्यानर नै छैन 
विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेश बाँस्तोलाले बडी स्क्यानर भएको अवस्थामा जुत्ता खोल्न नपर्ने बताए । तर, नेपालको विमानस्थलमा अन्तर्राष्ट्रिय टर्मिनलमा समेत बडी स्क्यानर जडान हुन सकेको छैन । एक्सरे मेसिन थोत्रा भएका छन् । बडी स्क्यानरसँगै अत्याधुनिक एक्सरे मेसिन खरिद गर्नका लागि प्रहरीले प्रस्ताव गरे पनि त्यसमा प्रक्रिया अघि बढ्न सकेको छैन ।

हवाई सुरक्षाविज्ञ भरत ढकालका अनुसार विमानस्थलमा बडी स्क्यानरलाई आइकाओले अनिवार्य भनेको छैन । तर, यो जडान हुँदा विमानस्थलको सुरक्षा थप बलियो हुने उनले बताए । ‘थाइल्यान्डको सुवर्ण भूमि विमानस्थलमा पनि बडी स्क्यानर राखिएको छ,’ उनले भने, ‘तर, सबैलाई त्यो प्रयोग गरिँदैन, कोहीमाथि शंका लागेमा भने बडी स्क्यानरमार्फत चेकजाँच हुने गर्छ ।’ नेदरल्यान्डबाट एक व्यक्ति विस्फोटक पदार्थ बोकेर अमेरिका गएको घटनापछि अमेरिकाले विश्वभरिका विमानस्थलमा बडी स्क्यानर राख्न जोड दिँदै आएको छ । छानबिन समितिले ‘ड्युल भ्यु’ प्रविधिको एक्सरे मेसिनसमेत जडान गर्नका लागि सिफारिस गरेको छ । 

 पूर्वएआइजी विज्ञानराज शर्मा  भन्छन्– प्रहरीको विशेष समूह खटाउनुपर्छ 
यदि सुनको सट्टा जुत्तामा राखेर हतियार लगेको भए के हुन्थ्यो ? यस्तो लापरबाही विमानस्थल सुरक्षामा निकै गम्भीर हो ।

विमानस्थलमा एक्सेस कन्ट्रोलमा विशेष ध्यान दिनुपर्छ । विश्वको सबै विमानस्थलमा एयरलाइन्सको काउन्टरपछि मात्र सेक्युरिटी जाँच हुन्छ ।

तर, नेपालमा भने सुरुमा सेक्युरिटी जाँच हुन्छ र त्यसपछि मात्र सर्वसाधारणको लगेज एयरलाइन्सको काउन्टरमा बुझाउने गरिन्छ । यसले लगेजमा एयरलाइन्सका कर्मचारीको पहुँच हुने भएकाले प्रतिबन्धित सामानसमेत जान सक्ने जोखिम हुन्छ ।

नेपाल प्रहरीमा विमानस्थल सुरक्षा प्रहरी गठन गर्नु अत्यावश्यक भइसकेको छ । प्रहरीलाई चेकजाँच र खानतलासीजस्ता मुख्य काममा केन्द्रित गरी बाहिरी पेरिमिटरको सुरक्षामा सशस्त्र वा सेनालाई खटाउन सकिन्छ ।