Skip This
मध्यपहाडी क्षेत्रबाट कसरी विस्थापित भयो पाटे बाघ ?
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
युवराज भट्टराई
२o८१ बैशाख २६ बुधबार १o:१o:oo
Read Time : > 7 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

मध्यपहाडी क्षेत्रबाट कसरी विस्थापित भयो पाटे बाघ ?

Read Time : > 7 मिनेट
युवराज भट्टराई
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १o:१o:oo

नदी किनाराका क्षेत्रबाटै राजमार्गको विस्तार हुनुले स्वाभाविक रूपमा मध्यपहाडी क्षेत्र र नदी करिडोरबाट बाघलाई विस्थापित पारेको छ । तिनको तराईका जंगलसँगको ‘कनेक्सन’ पनि टुटेको छ । बाघको अभावमा चुरे तथा पहाडी क्षेत्रमा चितुवा र बाँदरको जैविक नियन्त्रण संयन्त्र पनि भत्किएको छ ।


पछिल्लो समय पहाडी क्षेत्रतिर आक्कलझुक्कल पाटे बाघ देखिएका समाचारहरू सुनिन्छन् । यिनै समाचारका आधारमा ‘उकालो चढ्दै बाघ’ जस्ता रमाइला शीर्षकमा पत्रपत्रिकातिर लेखहरू छापिएका पनि हामी देखिरहेकै छौँ । हुन पनि नेपालमा सर्वाधिक वनक्षेत्र भनेकै पहाडी क्षेत्रमा छ । पछिल्लो डिपार्टमेन्ट अफ फरेस्ट रिसर्च एन्ड सर्भे र नेसनल फरेस्ट प्रोडक्स सर्भे प्रोजेक्टको संयुक्त अध्ययनअनुसार पहाडी क्षेत्रको उल्लेख्य ३७.८, उच्च पहाडीको ३२.२८, चुरेको २३.०४ र तराईको ६.९० प्रतिशत भूमि वनले ढाकेको छ । जता वनक्षेत्र छ, बाघ त्यतै नगए अन्त कहाँ जान्छ त ?

चितुवा–मानव तथा बाँदर–मानव द्वन्द्व 

पहाडी क्षेत्रको वन पर्यावरण बिल्कुलै सन्तोषजनक छैन । ३७.८ प्रतिशत वनक्षेत्र भएको मध्यपहाडी इलाकामा नै ठाउँअनुसार चितुवा–मानव तथा बाँदर–मानव द्वन्द्व पछिल्ला वर्षमा आकासिएको छ । तनहुँमा मात्रै २०१८ मार्चदेखि जनवरी २०२० सम्ममा चितुवाको आक्रमणबाट आठ बालबालिकाले ज्यान गुमाएका थिए भने अरू चार घाइते भएका थिए । भानु नगरपालिकामा मात्र ६ जना मारिएका थिए । शुक्लागण्डकी र खैरेनीमा अरू एक–एकजना मारिएका थिए । त्यसयता भने त्यहाँ चितुवा आतंकको घटना बाहिर आएको छैन । 

भानु नगरपालिकाका स्थानीयका अनुसार जंगलमा आहारको अभावमा चितुवाहरू गाउँ पस्ने गर्छन् र बालबालिकालाई निसानामा पार्छन् । आसपासको जंगल त घना छ, तर त्यहाँ सिकार जीवजन्तु छैनन् । स्थानीयका अनुसार त्यहाँको जंगलमा बाँदरको झुण्ड पनि आक्कलझुक्कल मात्र आउँछ । फलस्वरूप जंगलमा सिकारको अभावका कारण तनहँु र कास्कीलगायतका क्षेत्रमा मानव–चितुवा द्वन्द्व आकासिएको छ । 

मानव–चितुवा द्वन्द्वभन्दा अर्को व्यापक द्वन्द्व छ, बाँदर र मानवबीचको । लगभग नेपालका प्रायजसो ग्रामीण पहाडी क्षेत्र बाँदर आतंकबाट गुज्रिरहेको छ । दुई वर्ष पहिला सम्भवतः पहिलोपटक धनकुटा नगरपालिकाले बाँदर समातेर स्थानान्तरण गर्न भारतदेखि मानिसहरू भाडामा ल्याएर खटाएको थियो । पछि अन्य धेरै पहाडी क्षेत्रका स्थानीय निकायले पनि यो विधि अपनाए । धेरै स्थानीय निकायले अहिले पनि ठूलो धनराशि बाँदर नियन्त्रणका लागि छुट्याएका छन् । धेरैतिर बाँदर तर्साउने यन्त्र बनाउने र कृषकमाझ वितरण गर्ने प्रचलन बढेको छ । यसले पनि बाँदर आतंकको पछिल्लो अवस्था उजागर गर्छ । 

बाँदर आतंकको पछाडि बाँदरको संख्यामा आएको उल्लेख्य वृद्धि एउटा कारण हो । २००८ मा केही खास स्थानमा गरिएको सर्भेले पनि यो देखाएको छ । बाँदरविज्ञ डा. मुकेश चालिसेका अनुसार पनि सन् २०१३ मा गरिएको देशव्यापी मोटामोटी सर्वेक्षणमा २५ प्रतिशतले बाँदरको संख्यामा वृद्धि आएको छ । स्थानीय कृषकहरूको पनि मुकेश चालिसेकै जस्तो राय छ । दुई वर्ष पहिला भोजपुरकी एक कृषकले बताएकी थिइन्, ‘मैले यति ठूलो बाँदरको झुण्ड पहिला कहिल्यै देखेकी थिइनँ । २५ रोपनी बारीमा लगाएको मकै सक्न तिनलाई जम्मा अढाई घन्टा लाग्यो । एक्लैले धपाउन÷हर्काउन सक्ने कुरै भएन ।’ 

किन बढ्दो छ त बादर आतंक ? ती स्थानीय महिला र बाँदरविद् चालिसेको मुख्य तर्क एउटै छ । पहिला जंगलछेवैसम्म छेउकुना सबैतिर अन्नपात लगाइन्थ्यो, बाँदर त्यतैतिर अल्मलिन्थे । तर, आजकाल ग्रामीण परिवेशको कामदार शक्ति बाहिरिएको छ र अधिकांश जमिन बाँझो छ । मान्छेले लगाउने अनाज खान पल्किएका बाँदरहरू आजकाल माझगाउँमै पस्ने गरेका छन् । 

तर, यी चितुवा र बाँदर आतंकमा केही खास समानता भने छन् । एकातिर चितुवाको र अर्कोतिर बाँदरको संख्यामा र चहलपहलमा वृद्धि भएको छ । दुवैतिर वनक्षेत्र पनि विस्तार भएको छ । यद्यपि, यी दुवै वन्यजन्तुलाई वनक्षेत्रभित्र खानेकुराको भने अभाव छ । र, तिनले अब विशुद्ध मानिसमा निर्भर हुनुपर्ने अवस्था सिर्जना भएको छ ।

बदलिँदो वनको स्वरूप 

मुलुकभर मध्यपहाडी क्षेत्रमा एक मात्रै राष्ट्रिय निकुञ्ज छ– नागार्जुन शिवपुरी राष्ट्रिय निकुञ्ज । बाँकी सबै पहाडी क्षेत्रका वन निजी र सामुदायिक हुन् । यस्ता वनमा वन–पैदावर घाँस–दाउराका लागि विनारोकटोक उपयोग गरिन्छन् । त्यसैगरी, जंगल गोडमेलको नाममा व्यावसायिक हिसाबले नाफामूलक साल, खयर तथा सल्लाजस्ता रूखहरू मात्र राखिन्छन् । डा. चालिसेको पनि यही नै निचोड छ कि हाम्रा अधिकांश जंगल आमवन्यजन्तुलाई हितकर हुने नभईकन मानवीय स्वार्थअनुकूल रूपमा विकसित भइरहेका छन् । यिनीहरू प्राकृतिक नभई ‘मोनोकल्चरल’ बन्दै छन् र त्यहाँबाट दिनानुदिन वन्यजन्तु विस्थापित भइरहेका छन् । जसका कारण पर्यावरणीय सन्तुलन खलबलिँदै छ । 

विगतमा बाघ पाइने पहाडी नदीआसपासका बेँसी क्षेत्रहरूमा व्यापक गाईवस्तुको बथान हुने गथ्र्याे । तिनको चरन क्षेत्र पनि वन र सालघारी नै हुन्थ्यो । सय वर्गकिलोमिटर क्षेत्रभित्र हजारौँको संख्यामा वस्तुभाउ जंगलमा चर्थे, जो बाघको स्वाभाविक आहारामा पर्थे । यस अर्थमा मानिस र बाघ दुवै मध्यपहाडी क्षेत्रका प्रमुख ‘इकोसिस्टम इन्जिनियर’ थिए । दुवैको पर्यावरण सन्तुलनमा विशेष भूमिका थियो ।

‘मोनोकल्चरल प्लान्टेसन’को सबैभन्दा चुस्त उदाहरण हो– सल्लाघारी । सल्लाघारीले पर्यावरणीय क्षेत्रमा पुर्‍याएको विकराल असरको सम्बन्धमा काठमाडौं पोस्टले एउटा लामो फिचर नै गरेको थियो । छिरिङ न्यागदुप लामाको सिन्धुपाल्चोकको अन्तली गाउँको रिपोर्टअनुसार ३० वर्ष पहिलासम्म बन्जर रहेको उक्त पहाडी गाउँमा सल्ला रोपियो । सल्लाको जंगल हुर्किएर घना जंगल त भयो, तर त्यस इलाकाका कुल १० कुवा–धाराको पानी बिस्तारै घट्दै गयो । २०१० सम्मको २० वर्षको अवधिमा कुल आठ मूल ठ्याप्पै सुक्यो भने बाँकी दुई मूल पनि भूकम्पपछि सुक्न पुग्यो । गाउँमा खानेपानीकै हाहाकार हुने अवस्था आयो । 

अत्यधिक पानीको शोषण गर्ने सल्लाले पानी सुकाउँदै जमिन बन्जर र रुखो मात्र बनाउँदैन, अन्य सिरु–दुबोजस्ता घाँसहरू र चुत्रो, ऐँसेलु, तितेपातीजस्ता स–साना बोटबिरुवालाई पनि उम्रन र हुर्कन दिँदैन । यस्तो जंगलमा बाँदर, चराचुरुंगी र अन्य स–साना सिकार प्राणीले आफ्नो खानेकुरा भेट्दैनन् र विस्थापित हुन्छन् भने चितुवा र वनबिरालोजस्ता सिकारी प्राणीलाई पनि न त्यहाँ आहारा मिल्छ, न सुरक्षित वासस्थान नै । यो समस्या अहिले प्रायजसो पहाडी क्षेत्रमा देखिएको छ ।

सल्ला र टिकका वन त काठका लागि मानिसद्वारा निर्मित एकल स्वरूपीय वन हुन् । दुवै प्रजाति आयातीत हुन् । यस्ता एकल प्रजातीय ‘मोनोकल्चरल’ वृक्षारोपणका कारण पनि कतिपय पहाडी वनको पर्यावरणीय चक्रमा खलल पुगेको छ । यसले पनि मानव र चितुवा तथा बाँदरलगायतका जंगली जनावरसँगको द्वन्द्व निम्त्याएको छ । आयातीत वनस्पति मात्र होइन, स्वस्फूर्त रूपमा मुख्यतया अमेरिका, मेक्सिको र वेस्ट इन्डिजबाट भित्रिएका मिचाहा वनस्पतिले पनि नेपालको प्राकृतिक वन र पर्यावरणमा इतिहासदेखि नै विषम परिस्थति सिर्जंदै आएको छ । त्रिभुवन विश्वविद्यालय वनस्पति केन्द्रीय विभागका अनुसार दुई सय १९ यस्ता वनस्पतिहरू नेपाल भित्रिएका छन् । जसमध्ये मुख्यतया सेता वनमारा (क्रोमोलाइना ओडोराटा) माइल अ मिनेट (मिकानिया मिक्रान्था), जलकुम्भी (इचोर्निया क्रासिपस) र गन्धे फूल (लान्टाना कामरा) पूर्वी र मध्यनेपालमा अत्यधिक मौलाएको छ । वनमारा भित्रिएको त झन्डै दुई सय वर्ष हुन लागिसकेको छ । 

उदाहरणका लागि, पूर्वी पहाडको अरुण उपत्यकाआसपासमा ४५–५० वर्षअघि वनमारा यसरी फैलिएको थिएन । तर, विगतको आधा शताब्दीमा यो यसरी फैलियो कि खेतीजन्य जमिनबाहेक कुनै कुना–कन्दरा यसले बाँकी राखेन । फलस्वरूप वस्तुभाउ र जंगली जन्तुको चरन क्षेत्र नासिएर आयो । दुई–चार वर्षयता भने वनमाराले बिस्तारै आफ्नो साख गुमाउँदै छ । 

तर, अर्को दुःखको कुरा, वनमाराको स्थान त्यहाँ अब माइल अ मिनेट (मिकानिया मिक्रान्था)ले लिँदै छ । यसको रफ्तार वनमाराको भन्दा कैयौँ गुणा तीव्र छ र यसले जस्तोसुकै वनस्पतिलाई पनि ढाकेर मार्ने हैसियत राख्छ । त्यसैगरी, अहिले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जलाई गन्धे फूल (लान्टाना कामरा)ले ढाक्दै गरेको पाउन सकिन्छ । काठमाडौं उपत्यकाभित्रै पनि प्रचुर मात्रामा फैलँदै गरेको लान्टाना कामराका झाडीहरू हामी देख्न सक्छौँ । भारतमा बाघको वासस्थान विनाशको एउटा कारण लान्टाना कामरा नै भएको निचोड गत वर्ष मोंगवेमा निस्किएको थियो । 

तसर्थ, चाहे त्यो विचार नपुर्‍याई गरिएको ‘मोनोकल्चरल प्लान्टेसन’ होस्, या आगन्तुक वनस्पतिको मिचाहा प्रवृत्तिको परिणाम, शिवालिक तथा मध्यपहाडी शृंखलाका वनको स्वरूप बदलिइरहेको छ । हिजो त्यही जंगलमा आश्रित वन्यजन्तु आज त्यहाँ निर्भर हुन नसक्ने अवस्थाको सिर्जना भएको छ । यो पनि बाँदर र चितुवालगायतका केही निश्चित प्राणी र मानवबीचको द्वन्द्वको अवस्था सिर्जना हुनुको कारण हो ।

तर, यो वन–पर्यावरणीय सन्तुलनको जटिलता यतिमा मात्र सीमित छैन । हाम्रा वनहरू कत्तिको वन्यजन्तुमैत्री छन् भन्ने बारेमा अझै थप अनुसन्धानको खाँचो छ । अनि सँगसँगै अर्को प्रश्न पनि सोझिन्छ– हाम्रा वनहरू वन्यजन्तुमैत्री नभए कसरी त्यही वनका फरक–फरक क्षेत्रमा चितुवा र बाँदरको संख्या भने आकासियो त ?

पहाडी क्षेत्रबाट बाघको विस्थापन

वन वन्यजन्तुमैत्री नभए पनि बाँदर र चितुवाको संख्यामा वृद्धि भइरहेको छ । ठाउँअनुसार कुनै निश्चित प्रजातिको संख्यामा घटबढ हुनुमा विविध कारण हुन सक्छन् । यद्यपि, पूर्णतः जमिनको घाँसमा आश्रित हुने खरायो, हरिण र मृगका प्रजातिमा ठूलो गिरावट आएको देखिन्छ । जहाँसम्म चितुवा र बाँदरको संख्या वृद्धि छ, केही अनुभवका आधारमा पहाडी क्षेत्रबाट पाटे बाघको विस्थापन पनि तिनको संख्या वृद्धिको एउटा प्रमुख कारणको रूपमा लिन सकिन्छ । 

जब २००५ मा राजस्थानको सारिस्का टाइगर रिजर्भमा सबै बाघको चोरी सिकारी भएर संख्या शून्यमा झरेको थियो, रिजर्भको सबैतिर चितुवाको बिगबिगी बढेको थियो । तिनको संख्या पनि अत्यधिक पाइएको थियो । सँगसँगै, हाइना र स्याल पनि बढेका थिए । बाघ लोप हुँदा के–कसरी चितुवाको गतिविधिमा वृद्धि हुने गर्छ भन्ने वैज्ञानिक अध्ययनको अभाव छ । उल्लेखित उदाहरण बाघविद्द्वय फत्तेसिंह राठौर र बाल्मिक थापरको अनुभव हो । 

बाल्मिक थापर आफ्नो पुस्तक टाइगर फायरमा लेख्छन्, ‘चितुवा बाघको स्वाभाविक आहारा होइन, तर दुवै एउटै वर्गको सिकार समूहमा आश्रित हुने हुँदा बाघले चितुवाको सिकार खोस्ने र सके तिनलाई मार्ने र लखेट्ने गर्छ ।’ उनका अनुसार रान्थाम्बोरे राष्ट्रिय निकुञ्जमा पनि बर्सेनि हुर्कंदै गरेका केही चितुवा बाघद्वारा मारिन्छन् । 

तर, पछिल्लो रिपोर्टअनुसार नेपालमा चाहिँ निकुञ्जभित्र एकै ठाउँमा बाघ र चितुवाको संख्या सँगसँगै वृद्धि भएको छ । चितवन राष्ट्रिय निकुञ्जको हकमा भने यो स्वीकार्य पनि छ, किनकि त्यहाँ २०१८ को सर्वेक्षणअनुसार बाघको संख्यामा गिरावट आएको छ । नत्र त अनुभवले भन्छ, अन्य पारिस्थितिक वातावरण यथावत् रहे बाघको संख्या घट्दा चितुवाको बढ्ने गर्छ । 

गण्डकी नदीका करिडोर तथा तनहुँका क्षेत्रहरू पनि हिजोका सम्भावित बाघ क्षेत्रहरू हुन्, भला एक–दुई बाघ आक्कलझुक्कल मात्र किन नदेखिऊन् । कहिलेसम्म त्यतातिर बाघ लाग्ने गथ्र्यो र बाक्लै लाग्ने गथ्र्यो भन्ने विगतको अनुसन्धानबाट चितुवाको संख्या वृद्धिको अर्को सम्भावित कारण खोतल्न सकिन्छ । पहाडी रिभर करिडोरबाट पाटे बाघ कसरी विस्थापित भए भन्ने सम्बन्धमा अरुण उपत्यका क्षेत्रको अनुभव पनि केही हदसम्म प्रभावकारी बन्न सक्छ । ३०–४० वर्ष पहिलासम्म तुम्लिङटारआसपासका अरुण नदी करिडोरका सालघारीमा नियमित जस्तो बाघ पाइन्थ्यो । प्रायजसो बाघविद्हरू पहाडमा देखिएका बाघ त्यहाँका टेरोटोरियल बाघ नभई अन्तबाट विस्थापित भएर यदाकदा आक्कलझुक्कल पुग्ने गरेको तर्क अघि सार्छन् । तर, आधा शताब्दीअघि पहाडी भूभागमा पनि इलाका ओगटेर बस्ने स्थानीय बाघहरू नै हुन्थे । 

४०–५० वर्षअघिसम्म अरुण नदीआसपासको एक–डेढ सय वर्गकिलोमिटर क्षेत्रभित्र हप्ता–दशदिनको अन्तरालमा कहीँ कतै वस्तुभाउ मारिइरहेका हुन्थे । नियमितजसो कसै न कसैको घाँस–दाउरा र गोठालो जाँदा बाघसँग देखादेख हुन्थ्यो । ४०–४१ सालतिर हज्जारे भन्ने ठाउँको आसपासमा एउटी बघिनीले दुई डमरु हुर्काएकी थिई । यस अर्थमा मध्यपहाडी क्षेत्रका ठूला नदी करिडोरआसपासमा त्यस बखत आफ्नो इलाका ओगटेरै बसेका बाघहरू पाइन्थे । 

जिम कुर्वेले मारेका उत्तराखण्डका अधिकांश बाघ पनि मध्यपहाडी क्षेत्रका निश्चित इलाकामा कब्जा जमाएर बसेका बाघ थिए । यस अर्थमा ५० वर्ष पहिला निर्जन–पहाडी वनहरू र रिभर करिडोरहरूसमेत बाघको क्षेत्र रहेको आकलन गर्न सकिन्छ । बाघलाई बाँच्नका लागि ठूला–ठूला समूहमा रहने साम्बार, हरिण, चित्तल बाह्रसिङ्गाजस्ता वन्यजन्तु भएको स्थान चाहिन्छ, ताकि तिनलाई आहाराको अभाव नहोस् । पहाडी इलाकाका जंगलमा यो सम्भव छैन । त्यसैले इलाका नै लिएर बाघहरू पहाडमा रहँदैनन् भन्ने पनि धेरैको तर्क छ । 

तर, विगतमा बाघ पाइने पहाडी नदीआसपासका बेँसी क्षेत्रहरूमा व्यापक गाईवस्तुको बथान हुने गथ्र्यो । तिनको चरन क्षेत्र पनि वन र सालघारी नै हुन्थ्यो । सय वर्गकिलोमिटर क्षेत्रभित्र हजारौँको संख्यामा वस्तुभाउ जंगलमा चर्थे, जो त्यतिवेला बाघको स्वाभाविक आहारामा पर्थे । यस अर्थमा मानिस र बाघ दुवै मध्यपहाडी क्षेत्रका प्रमुख ‘इकोसिस्टम इन्जिनियर’ थिए । दुवैको पर्यावरण सन्तुलनमा विशेष भूमिका थियो ।

तर, आजकाल पशुपालनको यो परम्परागत शैली बिस्तारै हराइसकेको छ भने मुख्य नदी करिडोर क्षेत्रबाट राजमार्गहरू विस्तार भएका छन् । ती क्षेत्रहरू बिस्तारै घना मानवीय बसोवास तथा व्यापारिक केन्द्रमा रूपान्तरण भएका छन् । नदी किनाराका क्षेत्रबाटै राजमार्गको विस्तार हुनुले स्वाभाविक रूपमा मध्यपहाडी क्षेत्र र नदी करिडोरबाट बाघलाई विस्थापित पारेको छ । तिनको तराईका जंगलसँगको कनेक्सन पनि टुटेको छ । बाघको अभावमा चुरे तथा पहाडी क्षेत्रमा चितुवा र बाँदरको जैविक नियन्त्रण संयन्त्र पनि भत्किएको छ । र, यसकै कारण तिनको संख्या बढ्दो भएको आकलन गर्न त्यति गाह्रो हुँदैन । यद्यपि, यसको ठोस दाबीका लागि चाहिँ विस्तृतमै अध्ययन हुनु जरुरी छ । 

(लेखक ‘पहाडी रिभर करिडोर क्षेत्रबाट कसरी बाघ हराए’ भन्ने विषयमा अनुसन्धानरत छन्)

ad
ad