मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गणेश लम्साल विराटनगर
२०७८ असोज २० बुधबार ०८:०४:००
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

काठमाडौंबाट कैदी गिरीलाई ल्याउन लागेको भन्दै  मोरङ कारागारअगाडि प्रदर्शन 

Read Time : > 2 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ असोज २० बुधबार ०८:०४:००

काठमाडौंको डिल्लीबजार कारागारमा रहेका कैदी अभिषेक गिरीलाई विराटनगर ल्याउन नदिन कैदीबन्दीका आफन्तले मोरङ कारागारअगाडि प्रदर्शन गरेका छन् । विराटनगर महानगरपाालिका मधुमाराका गुण्डा नाइके गिरीलाई विराटनगर ल्याए असुरक्षा बढ्ने भन्दै कैदीबन्दीका आफन्तले मंगलबार दिउँसो प्रदर्शन गरेका हुन् । 

एक सयभन्दा बढी कैदीका आफन्तहरूले मंगलबार दिनभरि विराटनगरको हाटखोलास्थित मोरङ जिल्ला कारागारअगाडि भेला भएर गिरीलाई ल्याउन नहुने भन्दै मूलगेटमा नाराबाजी गरेका थिए । सोमबार मोरङ कारागारका चौकीदार नवीन राईलाई बल प्रयोग गरेर सुनसरीस्थित झुम्का कारागार पठाएपछि भित्र रहेका कैदीबन्दीहरू गिरीलाई ल्याउन लागिएको भन्दै त्रसित बनेका छन् । राईले झुम्का कारागार जान नमानेपछि जेल प्रशासनले बल प्रयोग गरेर स्कर्टिङमार्फत कारागार पुर्‍याएको थियो । कर्तव्य ज्यान मुद्दा आरोपमा जेल परेका राई तीन वर्षदेखि मोरङ कारागारमा चौकीदारका रूपमा कार्यरत थिए । 

मोरङ कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले पहिले काठमाडौंबाट गिरीसहित चारजना कैदीलाई मोरङ सरुवा गर्ने सर्कुलर विभागले पठाएको, तर पछि स्थगित गरे पनि फेरि अचानक राईलाई झुम्का सार्न निर्देशन आएको बताए । ‘सोहीअनुसार राईलाई सोमबार साँझ झुम्का सारिएको हो, अभिषेक गिरीलाई सरुवा गर्ने कुनै परिपत्र भएको छैन,’ उनले भने ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले गिरीलाई ल्याउनेबारे आफूलाई केही जानकारी नभएको, सबै काम कारागार विभाग आफैँले हेर्ने गरेको बताए । कारागार विभागका सूचना अधिकारी नारायण न्यौपानेले पनि कैदी गिरी मोरङ सरुवा हुनेबारे आफूलाई केही जानकारी नभएको उल्लेख गरे ।

व्यक्ति अपहरण र फिरौती असुली आरोपमा काठमाडौंको बानेश्वरबाट पक्राउ परेका गिरीलाई काठमाडौं जिल्ला अदालतले आठ वर्ष कैद सजाय तोकेको थियो । अदालतको फैसलापछि डिल्लीबजार कारागारमा रहेका कैदी गिरीले कांग्रेस सरकार बनेसँगै पहुँच प्रयोग गरेका थिए । उनलाई घरपायक सरुवा गराउन गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएको स्रोतले बतायो ।

अभिषेक गिरी विराटनगर बसेर ठेक्कापट्टाको टेन्डर र गुन्डागर्दीका कारण चर्चामा थिए । उनी पटक–पटक गुन्डागर्दी आरोपमा पक्राउ परेर छाडिन्थे । गिरीलाई खासगरी निर्माण व्यावसायी र टेन्डर हत्याउन चाहने व्यापारीहरूले पेस्की दिएर गुन्डागर्दीमा प्रयोग गराउने गर्थे । सुरुमा अरूको प्रयोगमा आएका गिरीले पछि आफैँ टेन्डर हत्याउने र व्यवसायी, व्यापारी र उद्योगीलाई धम्क्याउने, अपहरण गर्ने गरेका थिए । गुन्डागर्दीमा उनको आफ्नै समूह थियो । विराटनगरका पर्शुराम बस्नेत समूहसँग उनको शत्रुता थियो ।

१७ साउन ०६५ मा तत्कालीन जिल्ला विकास समिति मोरङको १० करोडबराबरको टेन्डर काण्डमा विराटनगर महानगरपालिका–१२ जतुवाका युवा करण यादवको हत्या भएको थियो । उनको हत्याको आरोप अभिषेक गिरीमाथि लागेको थियो । फरार रहेका गिरी पछि आफैँ अदालतमा हाजिर भएका थिए । उनी २१ साउन ०६६ देखि पुर्पक्षका लागि जेल गएका थिए । गिरीलाई क्षेत्रीय कारागार सुनसरीको झुम्काबाट पेसीका लागि मोरङ जिल्ला अदालत ल्याउँदा १८ जेठ ०६८ मा अदालत परिसरभित्रै पर्शुराम बस्नेत समूहले सांघातिक हमला गर्दा उनी गम्भीर घाइते भएका थिए । आक्रमणपछि सुरक्षाका लागि भन्दै गिरीलाई मोरङ कारागारमा सरुवा गरिएको थियो । कारागारमा रहँदा गिरीले जेलभित्रैबाट चन्दा आतंक चलाएर फिरौती असुल्ने गरेको आरोप पनि लागेको थियो ।

अदालत परिसरमा आफूमाथि आक्रमण गराएको आरोपमा गिरी र उनकी श्रीमती अमिषा गिरीले पर्शुराम समूहका २३ जनाभन्दा बढीलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दायर गरेका थिए । व्यक्ति हत्या आरोपमा जेल परेका गिरी एक वर्षपछि अदालतले सफाइ दिएपछि छाडिएका थिए । जेलबाट रिहा भएपछि उनी कांग्रेस प्रवेश गरेका थिए । 

त्यसपछि केही महिना उनी शान्त बसेका थिए । संविधानसभाको दोस्रो निर्वाचनपछि उनी पुनः आफ्नो पुरानै धन्दामा फर्किएका थिए । उनले उद्योगी, व्यापारी र ठेकेदारहरूलाई धम्क्याएर चन्दा र फिरौती उठाउन थालेको भन्दै प्रहरीले खोजी गरेको थियो । फरार रहेका गिरीपछि काठमाडौंबाट व्यक्ति अपहरण र फिरौती आरोपमा पक्राउ परेका थिए । गिरीलाई सम्पत्ति शुद्धीकरण विभागले पनि गुण्डागर्दी गरेर अकूत कालोधन जम्मा गरेको आरोपमा मुद्दा चलाएको थियो । उनी तत्कालै धरौटी बुझाएर रिहा भएका थिए ।