१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
Invalid date format o७:२६:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बोटमै कुहिन थाल्यो लाखौँको अंगुर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:२६:oo

फार्ममा लटरम्म फलेको पुष्ट दाना भएको अंगुर बिक्री नभएर बोटमै कुहिन थालेपछि डोल्पाका कृषकलाई चिन्ताले पिरोल्न थालेको छ । त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने त्रिपुराकोट, गल्ली, रल्ली, फोईलगायतका स्थानमा तीन वर्षअघिदेखि व्यावसायिक अंगुरखेती सुरु गरिएको हो । 

केही वर्षअघिसम्म डोल्पालीलाई गुलियो अंगुरको स्वाद चाख्न जहाज नै चढेर नेपालगन्ज, सुर्खेतलगायतका सहरमा झर्नुपथ्यो । तर, अहिले त्रिपुरासुन्दरी नगरपालिकामै बिहान, दिउँसो र साँझ जुनसुकै समयमा डोकामा, बोरामा अंगुर फल्छ । अर्गानिक अंगुर नबिकेपछि गुलियो अंगुरले अमिलो पीडा दिन थालेको त्रिपुरासुन्दरी–१ मा बस्ने सुस्मिता श्रेष्ठले बताइन् । श्रेष्ठले स्थानीय जातको सिमी, मकै, कोदोलगायतका अन्नबाली हटाएर अंगुरखेती सुरु गरेकी हुन् । चार रोपनी क्षेत्रफलमा सुरु गरेको अंगुरले हाँगै नुहिने गरी फल्न थालेको दुई वर्ष भयो । सुरुमा नगरपालिकाबाट अनुदानमा पाएको अंगुर पहिलो वर्ष फल्दा जति उत्साह थियो, अहिले आधा घटेको छ ।

यस वर्ष आफ्नो फार्ममा करिब पन्ध्र क्विन्टलसम्म अंगुर फलेको श्रेष्ठले बताइन् । नेपालगन्ज, सुर्खेतलगायतका बजारमा बेच्न पाए चार लाखसम्म कमाइ हुने उनको भनाइ छ । ‘अरू परम्परागत खेती हटाएर अंगुरखेती सुरु गरेँ, फार्ममा लाखौँको अंगुर छ, घरमा आर्थिक संकट छ, बजार नहुँदा अंगुर त्यसै कुहिँदै आएको छ,’ श्रेष्ठले भनिन्, ‘स्थानीय सरकारले बजारको सुनिश्चितता गरेको भए कृषकहरू आत्मनिर्भर भई आर्थिक हिसाबमा पनि मजबुत हुन्थे ।’ अर्का कृषक कमल हमालको पीडा पनि उस्तै छ । १५ क्विन्टल सिमी र मकै उत्पादन हुने पाँच रोपनी खेत अंगुरले लटरम्म छ । फार्ममा तीन लाखसम्मको अंगुर फलेको भए पनि यस वर्ष मुस्किलले २५ हजारको बिक्री भएको उनले बताए ।   ‘नगरपालिकाले अंगुर खपतका लागि कि ढुवानी अनुदान, कि त वाइन प्रशोधन मेसिन ल्याइदिएको भए राम्रो आम्दानी हुन्थ्यो,’ उनले गुनासो गरे ।
 साढे दुई करोडमा अंगुरखेती 
त्रिपुरासुन्दरी नपाले व्यावसायिक अंगुरखेतीका लागि पटक–पटक गरेर दुई करोड ४० लाख खर्च गरेको छ । व्यावसायिक अंगुरखेती गर्ने कृषकलाई निःशुल्क बिरुवा वितरणदेखि एंगल र जाली खरिदका लागि सो रकम खर्चिएको हो ।

स्वर्गीय मेयर बुढाको योगदान
नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन स्वर्गीय मेयर ओमबहादुर बुढाले भारतको नासिकबाट अंगुरका बिरुवा ल्याएर कृषकहरूलाई वितरण गरेका थिए । अंगुरका लागि उर्वर माटो भएकै कारण व्यावसायिक अंगुरखेतीमा बुढाले जोड दिए । प्रत्येक वर्ष उत्पादित अंगुर खपतका लागि नगर क्षेत्रमै प्रशोधन केन्द्र खोल्ने मेयर बुढाको सपना रहेको कृषकको भनाइ छ । यस वर्ष अंगुर फार्म घेरबारका लागि बजेट छुट्याए पनि सबै रकम कोरोना नियन्त्रणमा खर्च भएको प्रमुख प्रशासकीय अधिकृत प्रीतिभक्त गिरीले बताए ।