मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ असोज १९ मंगलबार
  • Monday, 31 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज १९ मंगलबार १६:२२:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

एक सातापछि बढ्यो नेप्से, आगामी बाटो ब्याजदरमा निर्भर 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज १९ मंगलबार १६:२२:oo

लगातार सात कारोबार दिन घटेको सेयर बजार मंगलबार वृद्धि भएको छ। आज नेप्से करिब ४२ अंकले बढेर पुनः २६ सय पार गरेको छ। नेप्से दुई हजार ६ सय १२ अंक कायम भएर कारोबार बन्द भएको छ।

मूलतः व्यवसायीका संस्थाहरूको दबाबमूलक कार्यक्रम र सरकारको खर्चमा वृद्धि भएको खबरले बजारलाई राहत पुगेको देखिन्छ। पछिल्लो समय बजार करिब पाँच सयभन्दा बढी अंकले घटेपछि लगानीकर्ताहरूले खबरदारी गर्दै आएका छन्। सरकारको खर्च बढ्दा बैंकहरूमा देखिएको तरलता अभावको समस्या समाधान हुने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्। 

कात्तिकमा निक्षेपको ब्याजदर वृद्धि हुन सक्ने आकलन बैंकरहरूबाटै भएपछि केही लगानीकर्ता भने कात्तिकमा जारी हुने ब्याजदरको पर्खाइमा देखिएका छन्। यही कारणले बजार बढे पनि कारोबार रकममा सुधार देखिएको छैन। अघिल्लो दिन तीन अर्ब ६२ करोड रुपैयाँको सेयर किनबेच भएकोमा मंगलबार दुई अर्ब ९९ करोड रुपैयाँबराबरको कारोबार भएको छ। आज करिब १७ प्रतिशतले कारोबार रकम घटेको हो।

‘लगानीकर्ता संघ र लगानीकर्ता आबद्ध ठूला व्यवसायी संस्थाहरूको आह्वानको असर आजको बजारमा देखिएको छ,’ एक ब्रोकरले भने, ‘कात्तिकमा निक्षेपको ब्याजदर उकालो लागेन भने बजार केही माथि जान सक्छ। नत्र बजार बढ्न समय लाग्न सक्छ।’

यस दिन कारोबारमा आएका दुई सय २३ धितोपत्र, ऋणपत्रलगायतमध्ये एक ९५ वटाको मूल्य बढेको छ भने २६ वटाको मूल्य घटेको छ। यस दिन मल्टिपर्पस फाइनान्स, समता घरेलु लघुवित्त, हिमालयन पावरलगायतका कम्पनीको मूल्य १० प्रतिशतसम्म वृद्धि भएको छ।

सूचीकृत कम्पनीहरूले लाभांश सार्वजनिक गर्ने क्रम बढे पनि बजारलाई खासै उत्साहित गर्न सकेको छैन। हालसम्म सामूहिक लगानी कोष र युनिलिभर नेपालबाहेक अन्यबाट औसतमा १९ प्रतिशत हाराहारी लाभांश घोषणा भएको छ।

मंगलबार रिलायन्स इन्स्योरेन्स, मेरो लघुवित्त र एनआइसी एसिया लघुवित्तको लाभांश सार्वजनिक भएको छ। ५ प्रतिशत नगद लाभांश घोषणा गरेको रिलायन्सको मूल्य ३.२ प्रतिशतले घटेको छ। यता २० प्रतिशत बोनस र एक प्रतिशत नगद लाभांश घोषणा गरेको मेरो लघुवित्तको मूल्य भने ६.२४ प्रतिशतले बढेर  एक हजार चार सय चार पुगेको छ। ५.४१ प्रतिशत नगद लाभांश घोषणा गरेको एनआइसी एसियाको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेर एक हजार एक सय ४२ मा झरेको छ।

यस दिन व्यापार समूहबाहेक सबै समूहमा वृद्धि देखिएको छ। वित्त कम्पनी र विकास बैंकमा लगानीकर्ता आकर्षित भएसँगै यी समूहमा सबैभन्दा धेरैको वृद्धि देखिएको हो। वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र जलविद्युत् समूहमा सबैभन्दा धेरै रकमको कारोबार भएको छ।  यी समूहमा १७ करोडदेखि ६१ करोड रुपैयाँसम्म कारोबार भएका छन्। जलविद्युत् र वाणिज्य बैंक दुवैमा लगानीकर्ताहरूले ६१ करोडसम्म लगानी थपेका छन्।