अमेरिका र युरोपका मुलुकबीच बाहिरबाट जेहेनदार विद्यार्थी लगेर पढाइ–सिकाइ प्रभावकारी बनाई तिनीहरूको विचारलाई प्रयोग गर्दै देश विकास गर्ने होडबाजी नै छ । तर, हाम्रो देशका प्रतिभाशाली विद्यार्थीलाई विदेश पलायन हुन बाध्य पारिएको छ ।
अर्थ, कानुन, सुरक्षा, कूटनीति, विकास, शिक्षा र स्वास्थ्य आदि क्षेत्रमा लामो अनुभव बटुलेका विज्ञ र अगुवाहरूको समूह नै थिंक ट्यांक अथवा स्वतन्त्र विज्ञ समूह हो । दोस्रो विश्वयुद्धतिर अमेरिकी वैज्ञानिक र सैनिकबीचको संयुक्त टोली बसेर सुरक्षा चुनौतीको विषयमा रणनीति र कार्ययोजना बनाइएको थियो । त्यसलाई पहिलो थिंक ट्यांक अभ्यासको रूपमा चिनिन्छ । अहिले विश्वमा लाखौँ संख्यामा थिंक ट्यांक छन् । युरोप र अमेरिकामा मात्र अहिले चार हजारभन्दा बढी यस्ता समूह छन् ।
सन् २०१७ मा युनिभर्सिटी अफ पेन्सिलभेनियाले ‘थिंक ट्यांक एन्ड सिभिल सोसाइटी प्रोग्राम’ नामक २०८ पेज लामो प्रतिवेदन प्रकाशित ग¥यो । त्यसमा उल्लेखित भएअनुसार विभिन्न प्रकारका थिंक ट्यांकअन्तर्गत अमेरिकामा मात्र १,८७२ वटा स्वतन्त्र विज्ञ समूह रहेका छन् । हाम्रो छिमेकी देश चीन र भारतमा क्रमशः ५१२ र २९३ वटा यस्ता संस्था तथा समूह कार्यरत छन् । नेपालमा भने विश्व तथ्यांकमा उल्लेखित भएअनुसार जम्मा १३ वटा समूह रहेछन् । नेपालमा थिंक ट्यांकको संख्या विश्वका कैयौँ देशको तुलनामा एकदमै कम हो । विश्वका विकसित राष्ट्र विकसित हुनुमा स्वतन्त्र विज्ञ समूहको ठूलो योगदान छ ।
सामान्य रूपमा हेर्दा पनि जति धेरै स्वतन्त्र विज्ञ समूह छन्, विकासको गति त्यति नै छिटो भएको देखिन्छ । त्यसको अर्थ धेरै विज्ञ समूह आफैँमा ठीक भन्न खोजेको होइन । अनुसन्धानमा आधारित विज्ञ समूहको प्रतिवेदनको प्रभावकारी प्रयोग भने हुनुपर्छ । हामीले सरसर्ती हेर्दा पनि विकसित देशहरूमा यस्ता समूह प्रभावकारी देखिन्छन् । तिनले प्रतिफल दिइरहेका छन् । तर, नेपालमा भएका थोरै थिंक ट्यांकसमेत खासै सञ्चालनमा रहेको पाइँदैन ।
नेपालमा अनुसन्धानमा आधारित भएर नीति निर्माण गर्ने चलन नै छैन भन्दा पनि हुन्छ । सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको यो पाँचौँ कार्यभार हो । अहिलेसम्मको कार्यकालमा एकदमै गर्व गरेर भन्न लायक कुनै कार्यकाल छैन भन्दा पनि हुन्छ । आफ्नै पार्टीभित्रका युवा समूहले विज्ञ समूह गठन गर्न आफ्नै प्रधानमन्त्रीलाई दबाब दिइयो भने बल्ल प्रतिफल आउँछ । देश विकास र समृद्धिका लागि त्यस्ता स्वतन्त्र विचार प्रस्तुत गर्ने समूह छैनन् र यस विषयप्रति कसैलाई रुचि देखिँदैन ।
जनतालाई सुखी र राष्ट्रलाई समृद्ध तुल्याउनका लागि चाहिने अति आवश्यक विज्ञ समूहको निर्माण नै गरिँदैन भने कसरी ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा प्रभावकारी होला ? उदाहरणका लागि विगतमा ‘चिकित्सा शिक्षा विधेयक’लाई माथेमा प्रतिवेदनविपरीत संसद्मा लान खोजियो । यस्ता कार्यले अनुसन्धानमा आधारित विज्ञहरूको आत्मबल नै घटायो र घटाउँछ पनि ।
\नेपालमा थिंक ट्यांकले अध्ययन गरेर निकालेका प्रतिवेदन पनि अमुक पार्टीले आफ्नो स्वार्थअनुरूप भएन भने उल्ट्याउन खोज्छन् । नेपालमा स्वतन्त्र विज्ञ समूह निर्माण गरिन्छ भने ती व्यक्ति स्वतन्त्र राष्ट्रको विकास र उन्नतितर्फ उन्मुख हुनुपर्छ । कुनै अर्को समूहको स्वार्थका निम्ति होइन । यदि यस्तो हुन सक्दैन भने विज्ञ समूह बनाउनुको अर्थ रहँदैन । यस विषयमा सबैले आफ्नै पार्टीभित्र बहस गर्न जरुरी छ । प्रत्येक चुनावमा विकासको नारा त ल्याइन्छ, तर विकास कसरी गर्न सकिन्छ भन्ने कुरा नै थाहा हुँदैन र चर्का भाषण ठोकिन्छ ।
अमेरिका र युरोपका मुलुकबीच बाहिरबाट जेहेनदार विद्यार्थी लगेर पढाइ–सिकाइ प्रभावकारी बनाई तिनीहरूको विचारलाई प्रयोग गर्दै देश विकास गर्ने होडबाजी नै छ । तर, हाम्रो देशका प्रतिभाशाली विद्यार्थीलाई विदेश पलायन हुन बाध्य पारिएको छ । हाम्रो देशमा आफ्नै देशका जेहेनदार र अब्बल व्यक्तिलाई संरक्षण गर्ने चलन नै छैन । ती आजका अब्बल विद्यार्थी भोलिका विज्ञ हुन सक्छन् । त्यस्ता व्यक्तिलाई सरकारले वातावरण मिलाएर आज संरक्षण गर्न सकेमा ती भोलि राष्ट्रका निम्ति अब्बल थिंक ट्यांकर बन्न सक्छन् ।
प्रोत्साहित गर्ने र दक्षता हासिल गर्न स्वदेश र विदेश पठाउने र पछि फर्काएर तिनीहरूको सोच, विचार र दक्षताको देशमा भरपुर उपयोग गराउन सकेमा देशलाई फाइदा नै पुग्थ्यो । अब्बल र जेहेनदार विद्यार्थीलाई संरक्षण गर्ने ट्रेन्ड चलाउन आवश्यक छ । यो गर्न सकेमा पनि पछिल्लो पुस्ताका लागि यो सरकारको उपलब्धि हुनेछ । हाम्रा राजनीतिज्ञले भाषणमा जहिले पनि विकासका कुरा गर्छन् । तर, हाम्रै राजनीतिज्ञले प्राविधिकलाई केवल तिनको पेसागत काममा सीमित बनाउँछन् । राजनीतिज्ञले तीबाट अतिरिक्त फाइदा उठाउन सक्दैनन् ।
हाम्रो नेतृत्व नै दिगो विकासलाई कार्यान्वयन गर्ने कुरामा चुक्छ भने कसरी हुन्छ देश समृद्ध ? राजनीतिक रूपमा पश्चगामी भने पनि महेन्द्रले विकासका क्षेत्रमा उल्लेख्य काम गरेका थिए । उनले यसका निम्ति विभिन्न व्यक्तिलाई छनोट गरेका थिए । उनको टिममा यदुनाथ खनाल, भेषबहादुर थापा, हर्कबहादुर गुरुङजस्ता विज्ञहरू थिए । विज्ञको संलग्नता र सल्लाहका कारण नै महेन्द्रको पालामा विकासक्षेत्रका नीतिगतदेखि भौतिक संरचनाहरू टिकाउ र मजबुत रहे । के अहिलेका नेताहरूले त्यो अभ्यासबाट सिक्न सक्दैनन् ?
अनुसन्धानमा आधारित, प्रमाणका आधारमा सुझाब, चासो र विचार दिन सक्ने, अझै भनौँ सिजनअनुसार भिजन प्रवाह गर्ने विज्ञको समूह निर्माण गरेर सरकार अघि बढ्नुपर्छ । राजनीतिकर्मीले पनि सबै कुरामा कोही पनि अब्बल हुँदैन भन्ने सोचका साथ विज्ञको सुझाबलाई आत्मसात् गर्न सकेमा हामीले विकासको पाइला चाल्न सक्छौँ । त्यसले विकास दिगो पनि बनाउँछ । हाम्रालाई भन्दा पनि राम्रा विज्ञ तथा प्राज्ञलाई समेटेर सरकार अघि बढोस् भन्ने जनअपेक्षा छ । (सिग्देल नेविसंघका नेता हुन् )