१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
शान्ति तामाङ काठमाडौं
२o८१ बैशाख १९ बुधबार o७:५७:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

बाहिरी चक्रपथ : १३ वर्षअघि डिपिआर तयार, तर अझै अघि बढेन काम

आयोजना वरपर बने २२ सय घर, धमाधम घर बन्न थालेपछि बाहिरी चक्रपथको भविष्य नै अन्योलमा

Read Time : > 3 मिनेट
शान्ति तामाङ, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:५७:oo

तीन वर्षअगाडि नै बाहिरी चक्रपथ निर्माणको पहिलो चरणका रूपमा चोभार, गाम्चा र सतुंगल खण्डको ६ दशमलव ६ किलोमिटरमा काम सुरु गर्ने भनिएको थियो । तर, अहिलेसम्म कुनै पनि प्रक्रिया अगाडि बढेको छैन । जसकारण पहिलो चरणको काम कहिलेदेखि सुरु गर्ने भन्ने अन्योल कायमै छ । 

सहरी विकास मन्त्रालयअन्तर्गत काठमाडौं उपत्यका विकास प्राधिकरणले बाहिरी चक्रपथ निर्माणको जिम्मा पाएको थियो । आठ लेनसहित बाहिरी चक्रपथको कुल लम्बाइ ७१ किलोमिटरभन्दा बढी हुने मन्त्रालयले जनाएको छ । हाल सहरी विकास मन्त्रालय नेतृत्वविहीन रहेकाले नयाँ मन्त्री आएपछि छलफलमा लगेर पहिलो चरणका काम अगाडि बढाउने प्राधिकरणले बताएको छ । 

‘०६५ मै आयोजनाको डिपिआर बनेपछि स्थानीयस्तरमा विरोध भयो । कृषियोग्य जमिनमा बाहिरी चक्रपथ निर्माण गर्न हुँदैन, सांस्कृतिक बस्तीलाई प्रभाव पार्छ भन्नेलगायतका कारण देखाउँदै विरोध गर्न थालियो । जसकारण आयोजना अगाडि बढ्न सकेन,’ प्राधिकरणका आयुक्त दिनेशकुमार पोतेले भने, ‘तर पनि हामीले काम अगाडि बढाउने प्रयास गरिरहेका छौँ । नयाँ मन्त्रीज्यू आएपछि छलफल गर्ने, मन्त्रिपरिषद्मा लगेर निर्णय गर्ने, जिल्ला प्रशासनबाट जग्गा अधिग्रहणको सूचना निकालेपछि मात्र बल्ल काम सुरु हुन्छ ।’ ०६५ मै बाहिरी चक्रपथ आयोजनाको डिपिआर (विस्तृत आयोजना प्रतिवेदन) तयार भए पनि १३ वर्ष बितिसक्दा पनि निर्माण कार्य भने सुरु हुन सकेको छैन । 

चक्रपथ निर्माण सुरु नहुँदा आयोजनावरपर धमाधम घर निर्माण हुन थालेका छन् । प्राधिकरणले गत असारमा गरेको अध्ययनअनुसार आयोजनावरपर हालसम्म २२ सय १९ घर निर्माण भइसकेका छन् । चोभार, गाम्चा र सतुंगल खण्डमा गत वर्ष ४४ वटा मात्र घर बनेका थिए । तर, असारसम्म त्यस क्षेत्रमा समेत थप एक सय १४ घर निर्माण भइसकेका छन् । यसरी दैनिक रूपमा घर निर्माण जारी रहने र जग्गा रोक्का नहुने हो भने आयोजनाको काम प्रभावित हुनेछ । धमाधम घर बन्न थालेकाले आयोजनाको लागत पनि बढ्दै जाने आयुक्त पोतेले बताए । 

यस्तो हुनेछ बाहिरी चक्रपथको रुट
बाहिरी चक्रपथको रुट बलम्बुलाई शून्य किलोमिटर मानेर सुरु हुनेछ । यो चक्रपथ नैकाप भन्ज्याङ, थापागाउँआसपास, स्युचाटार, सीतापाइला, बाहिरी स्वयम्भू, वनस्थली, बालाजु औद्योगिक क्षेत्रको छेउ तथा बाइपास, गोंगबु, हिलेडोल, मनमैजु, बालुवाटारको छेउ, टोखा–सरस्वती क्षेत्र, चपली, चुनीखेल, टुसाल गाउँ, गोकर्णेश्वर, बामथली, नयाँपाटी हुँदै जानेछ । सीतापाइलाबाट हलचोक, गैह्रीगाउँ (इचंगुनारायण बाहिर), दौडिनेपानी, नेपालटार, फुटुङलाई चिर्दै १३ किलोमिटर क्षेत्रको टोखा–सरस्वती क्षेत्रमा मिलाउने गरी थप १५ किमि सडक निर्माण गर्ने योजना छ । 

ललितपुरमा लुभु, विष्णुडोल, हरिसिद्धि, दशघर, धापाखेल, ठेँचो, बुङ्मती, खोकना, कार्यविनायक, बागमती पुल (चोभार क्षेत्र), पुरानो सिमेन्ट कारखानाको छेउ, कीर्तिपुर क्षेत्र, गाम्चा, मच्छेगाउँ हुँदै, तीनथानाको दक्षिण हुँदै सतुंगलसम्म पुगेर चक्रपथ बनाइनेछ । भक्तपुर क्षेत्रमा थली–डाँछी, चाँगुनारायण क्षेत्र, फुयाँलगाउँ, दुवाकोट, रोकागाउँ, हनुमानटार, लुकुन्डोल, पकाउने पाटी, खरीपाटी, सुडाल, यङ्डोल, जगाती (इँटा टायल कारखानाको छेउ), भक्तपुर नगरपालिका, हनुमन्ते खोलाको छेउ, अरनिको राजमार्ग, सिर्जनानगर, सल्लाघारी, त्रिभुवन विमानस्थलको बाहिरी क्षेत्र, दधिकोट, गाम्चा भएर निर्माण कार्य अगाडि बढाइनेछ ।

 लागत बढेर एक खर्ब १० अर्ब 
समय बढेसँगै आयोजनाको लागत पनि बढ्दै गएको छ । प्राधिकरणका अनुसार आयोजनाको लागत ७४ अर्बबाट बढेर एक खर्ब १० अर्ब रुपैयाँ पुगेको छ । डिपिआरमा उल्लेख लागत इस्टिमेटभन्दा बढी लाग्ने देखिएपछि आयोजना अगाडि बढाउन प्राधिकरणले गृहकार्य थालेको छ । सोहीअनुसार तीन विकल्प अगाडि सारिएको छ ।

पहिलो, ०६५ मा बनाएको डिपिआरको अध्ययन प्रतिवेदनअनुसार जग्गा अधिग्रहण गरी आयोजना अगाडि बढाउने तथा आवश्यकताअनुसार परिमार्जन गर्दै अगाडि बढ्ने । दोस्रो, ६५ सालको अध्ययन प्रतिवेदनका आधारमा थप अध्ययन गरी त्यस क्षेत्रमा भएका भवन तथा स्थानीय पूर्वाधार, बाटो हाइटेन्सन लाइन आदिलाई ध्यानमा राखी आयोजना अगाडि बढाउने ।

तेस्रो, पछिल्लो अवस्थाअनुसार सम्पूर्ण अलाइनमेन्टको पुनर्निर्माण गरी अगाडि बढाउने । तीनवटै विकल्पमध्ये पहिलो विकल्पअनुसार नै काम अघि बढाउनेबारे छलफल भइरहेको प्राधिकरणले जनाएको छ । आयोजना समयमै सुरुवात नहुँदा भूमाफियाको बिगबिगी बढेको र उनीहरूका लागि अवसर बन्ने भएकाले जनता आफँै सचेत हुनुपर्ने आयुक्त पोते बताउँछन् । ‘मानिसहरू नयाँ नगर बन्दै गरेको छ भनेर हिँडेका छन् । यसमा त जनता आफैँ नै सचेत बन्नुपर्छ,’ उनले भने । 

 सहरी विकास मन्त्रालय भन्छ- सबै काम प्राधिकरणको हो 
सहरी विकास मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्मा मन्त्रालयले समन्वयबाहेक सबै काम प्राधिकरणले गर्ने भएकाले नयाँ मन्त्री आउनेबित्तिकै काम अगाडि बढ्ने बताउँछन् । ‘चोभार, गाम्चा र सतुंगल खण्डको काम अगाडि बढाउने भन्ने कुरा भएको छ । तर, नयाँ मन्त्रीज्यू आउनुपर्‍यो । निर्णय हुनुपर्‍यो । त्यसपछि आयोजना अगाडि बढ्छ,’ प्रवक्ता शर्माले भने, ‘ठूलो लगानीको आयोजना हो । स्रोत जुटाउनुपर्‍यो । त्यसैले आयोजना अगाडि बढ्न नसकेको हो ।’

७१ दशमलव ९३ किलोमिटर हुने चक्रपथ निर्माणका लागि तत्कालीन सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले सबै अड्चन र कठिनाइलाई चिर्दै मन्त्रालयबाट १४ वैशाख ०७४ मा सम्पूर्ण निर्णय प्रक्रियालाई पूर्णरूप दिइएको बताइएको थियो । ०७५ देखि चक्रपथ निर्माणको प्रथम चरणको रूपमा चोभार, गाम्चा र सतुंगल खण्डको ६ दशमलव ६ किलोमिटरमा निर्माण सुरु गर्ने भनिएको थियो । पहिलो चरणको निर्माण खण्डमा पर्ने उक्त स्थानमा करिब आठ हजार रोपनी क्षेत्रफल र करिब १४ हजार जग्गाधनी छन् । चक्रपथको कुल लम्बाइमध्ये काठमाडौंमा ३५.०८ किलोमिटर, ललितपुरमा १५.८० किलोमिटर र भक्तपुरमा २१.०५ किलोमिटर हुनेछ । 

बाहिरी चक्रपथको अवधारणा काठमाडौं उपत्यकाका तीनवटै सहर र अन्य नगरपालिकालाई एउटै सडक सञ्जालको माध्यमबाट आपसमा जोडेर व्यवस्थित सहरीकरण गर्ने दीर्घकालीन सोचअनुरूप तयार भएको थियो । चक्रपथ आयोजना निर्माण कार्य सुरु भए जग्गा विकास (ल्यान्ड पुलिङ) प्रविधि र प्रक्रिया अपनाएर निर्माण गर्न लागिएको नेपालकै पहिलो सडक हुनेछ ।

ad
ad