मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १३ बुधबार ०९:०३:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

२४ करोडको सौर्य बत्ती परियोजनाबाट हात झिकेर १३ करोडको विद्युतीय बत्ती जडान गर्दै महानगर

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १३ बुधबार ०९:०३:००

महानगर भन्छ– अब काठमाडौंमा सोलार बत्तीको उपयोग देखिएन, तर मेयर उज्यालो कार्यक्रममार्फत सौर्य बत्तीमै लगानी

०७३ मा काठमाडौंमा सोलार बत्ती परियोजना अगाडि बढाउँदा काठमाडौं महानगरपालिकाको दाबी थियो– ‘सोलार प्यानलको आयु २५ वर्षको हुनेछ । वार्षिक एक करोड ११ लाख त रोयल्टी आउँछ ।’ 

किशोर थापा, पूर्वसचिव

दीर्घकालीन परियोजनामा जाने हाम्रो संस्कार, सोच छैन । तत्कालीन समस्यासँग रूमल्लिएका छौँ । दीर्घकालीन लगानी गर्न हामी तयार छैनौँ, हाम्रो सोच छैन ।

तर, १२ सय ८५ सौर्य सडक बत्ती जडान गरेर सडक झिलिमिली पार्ने र त्यसबाट महानगरले आम्दानी पनि गर्ने दाबी गरिएको परियोजना पाँच वर्षमै तुहिएको छ । २४ करोड लागतको सौर्य बत्ती परियोजना लत्याएर १३ करोड खर्चिने गरी १७ सय विद्युतीय बत्ती जडानको काम अगाडि बढाइने भएको छ । एक वर्ष जडान समय र बाँकी १० वर्ष निजी–सार्वजनिक साझेदारीअन्तर्गत विके ट्रेडर्सले सञ्चालन, व्यवस्थापन गरेर महानगरलाई हस्तान्तरण गर्ने भनिएको परियोजना तुहिएको हो । अहिले महानगरले नेपाल विद्युत् प्राधिकरणसँग साझेदारी गरेर विद्युतीय बत्ती जडान गर्न लागेको हो । सडक प्रयोगका लागि सडक विभागसहितसँग त्रिपक्षीय सम्झौता भएको छ । सौर्य बत्ती परियोजना ०७३ मा सुरु भएको थियो । 

‘दीर्घकालीन परियोजनामा जाने हाम्रो संस्कार, सोच छैन । तत्कालीन समस्यासँग रूमल्लिएका छौँ,’ पूर्वसचिव किशोर थापाले भने, ‘दीर्घकालीन लगानी गर्न हामी तयार छैनौँ, हाम्रो सोच छैन ।’

काठमाडौं महानर पूर्वाधार विभाग प्रमुख रामबहादुर थापाले सोलार मर्मत गरिरहनुभन्दा प्राधिकरणसँग मिलेर बत्ती बाल्नु उपयुक्त देखिएको बताए । ‘अब काठमाडौंमा सोलारको उपयोग देखिएन, नियमित सफा गर्नुपर्ने, चार÷पाँच वर्षमा ब्याट्री फेर्नेुपर्ने समस्या देखियो,’ उनले भने ।

महानगरले पहिलो चरणमा त्रिभुवन विमानस्थल–नयाँ बानेश्वर–माइतीघर–त्रिपुरेश्वर, पुतलीसडक–बालुवाटार, माइतीघर–पुतलीसडक, रत्नपार्क, न्युरोड, केशरमहल चोक, ठमेल क्षेत्र, क्षेत्रपाटीलगायत भिआइपी सडकमा १७ सय बत्ती जडान गर्न लागेको हो । ‘महानगरले ६० र प्राधिकरणले ४० प्रतिशत लगानी गर्ने सम्झौता भएको हो । तर, पहिलो चरणमा पूरै खर्च महानगरले बेहोर्ने र दोस्रो, तेस्रो चरणमा प्राधिकरणले पनि लगानी गर्ने (पछि पहिलो चरणको पनि) सहमति भएको छ,’ थापाले भने, ‘पहिलो चरणमा १७ सय बत्ती जडान गरिसकेपछि दोस्रो र तेस्रो चरण सुरु हुन्छ ।’ प्राधिकरण र महानगरका पोलमा बत्ती जडान हुनेछ । 

रामबहादुर थापा, प्रमुख काठमाडौं महानगर पूर्वाधार विभाग

अब काठमाडौंमा सोलार बत्तीको उपयोग देखिएन, नियमित सफा गर्नुपर्ने, चार/पाँच वर्षमा ब्याट्री फेर्नेुपर्ने समस्या देखिएकाले विद्युत प्राधिकरणसँग मिलेर बत्ती बाल्नु उपयुक्त देखियो ।
 

पूर्वसचिव थापा मुलुक लोडसेडिङमा रहेका वेला परियोजना डिजाइन भए पनि अहिले प्राधिकरणलाई पनि विद्युत् खपत बढाउने चाप बढिरहेका वेला नयाँ परियोजना सुरु भएको टिप्पणी गर्छन् । 

आठ सय सोलार बत्तीको व्यवस्थापन कसरी हुन्छ ?
महानगरले १७ सय बत्ती जडान गर्न थालेको सडकमा आठ सय सोलार बत्ती छन् । यी सोलार बत्ती निजी–साझेदारी लगानीमा विके टे«डर्सले जडान गरेको हो । पोलमा व्यावसायिक विज्ञापन राखिएको छ, जसबाट उसले आम्दानी गर्छ । तर, महानगरले विकल्प खोजेपछि अब सोलार बत्तीको व्यवस्थापन कहाँँ हुन्छ, टुंगो छैन । 

पूर्वाधार विभागका प्रमुख थापाले हाल उपयोगमा नभएकालाई झिकिने बताए । तर, बलिरहेका बत्ती कसरी व्यवस्थापन हुन्छ, यसको जवाफ महानगरसँग पनि छैन । प्राधिकरणसँग सम्झौता गर्दा महानगरका पदाधिकारीले सोलार बत्ती भित्री सडकमा स्थानान्तरण गरिने बताएका थिए । तर, हाल आएर महानगरले भित्री सडकमा पनि विद्युतीय बत्ती नै जडान गर्ने योजना अघि सारेको छ । 

‘सोलार बत्ती कहाँ, कसरी प्रयोग गर्न सकिन्छ, प्राधिकरणसँग सल्लाह गर्छाैं, संघसंस्थालाई दिने पनि एउटा विकल्प हुन सक्छ,’ उनले भने । ‘परियोजनाको दीर्घकालीन अवस्था नहेरी डिजाइन गर्ने र बीचमै सम्झौता रद्द गर्दा निजी क्षेत्रको विश्वास घट्छ,’ पूर्वसचिव थापाले भने, ‘यसले निजी क्षेत्र साझेदारीमा काम गर्न हिचकिचाउँछ । सोलारलाई क्षमता बढाउनेतिर जानुपर्छ ।’

अदालत जाने ठेकेदारको चेतावनी
निजी–साझेदारीमा १२ सय सोलार बत्ती जडान र १० वर्षसम्म व्यवस्थापनको जिम्मा पाएको विके ट्रेर्डसका सञ्चालक रञ्जनदास श्रीवास्तवले बीचमै परियोजनाको सम्झौता रद्द भए अदालत जाने चेतावनी दिए । ‘१२ सय बत्ती जडान गर्ने सम्झौता भए पनि आठ सय मात्र जोड्न पाएँ । बाँकी ठाउँमा हाइटेन्सन लाइन र साँघुरो सडकपेटीका कारण पोल नै गाड्न सकिएन,’ श्रीवास्तवले भने, ‘अहिले सम्झौता रद्द गर्ने कुरा सुनिँदै छ । यसमा मेरो करौडौँ लगानी भएको छ, महानगरको त एक रुपैयाँ पनि खर्च भएको छैन । यस्तै हो भने अदालत जान्छु ।’ 

८ कात्तिक ०७४ भित्रै एक हजार दुई सय ८५ सोलार बत्ती जडान गरिसक्ने दाबी गरिए पनि काम अधुरै छ । तर, श्रीवास्तवले विद्युत् प्राधिकरणको हाइटेन्सनलाइन, टेलिकमका खम्बा र केही ठाउँमा खम्बा गाड्न फुटपाथ नै नभएकाले तोकिएको अवधिभित्र सोलार प्यानल जडान गर्न नसकिएको दाबी गरे । महानगर, राजस्व विभागका अनुसार विके ट्रेडर्सले पोलको चार करोड रुपैयाँ रोयल्टी तिर्न बाँकी छ । तर, श्रीवास्तवले कार्यसम्पन्न भइसकेपछि मात्र रोयल्टी सुरु सम्झौता रहेको, पूरै पोल गाड्न नपाएकाले रोयल्टी तिर्न नसकिने बताए ।

‘मेयर उज्यालो कार्यक्रम’बाट पाँच करोड खर्चेर सौर्य बत्ती
अबको विकल्प विद्युतीय सडक बत्ती दाबी गरिरहेको महानगरले ‘मेयर उज्यालो कार्यक्रम’बाट भने सौर्य बत्ती जडान गर्ने गरेको छ । महानगरले यो कार्यक्रममार्फत सौर्य सडक बत्ती जडान गर्न आर्थिक वर्ष ०७४/७५ र ७५/७६ मा मात्र झन्डै पाँच करोड खर्चेको थियो । भित्री सडक मात्र होइन, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्र, रानीपोखरी, सुन्धारा, न्युरोड, रत्नपार्क, गोंगबु बसपार्क, बालाजु हाइट, सिनामंगल, गौरीघाट क्षेत्रमा सौर्य सडक बत्ती जडान गरिएको महानगरको वार्षिक प्रतिवेदनमा उल्लेख छ । गोंगबु आवास क्षेत्रमा त ४४ वटा सौर्य बत्ती जडान गरिएको दाबी गरिएको छ । जसबापत मात्र आठ लाख २५ हजार रुपैयाँ खर्च भएको छ ।

वैकल्पिक ऊर्जाको लगानी पनि महानगरमै सौर्य बत्ती जडानमा
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले काठमाडौं महानगर क्षेत्रमा ८७ वटा सौर्य सडक बत्ती जडान गरेको छ । उसले आर्थिक वर्ष ०७६/७७ मा काठमाडौं महानगर–३ खाडी बस्ती र वडा नम्बर २९ गोंगबु आवास क्षेत्रमा ८७ वटा सौर्य सडक बत्ती जडान गर्न १८ लाख ८५ हजार रुपैयाँ खर्चेको छ ।