१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
स्वदेश आउँदै गरेका नेपाली नागरिकलाई गौरीफन्टा नाकामा जाँच गर्दै भारतीय प्रहरी
२o८१ जेठ ५ शनिबार o९:o३:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

गौरीफन्टा नाकामा ठगिँदै नेपाली

दसैँ मान्न घर फर्किएका नेपालीसँग नाकामा पैसा असुल्दै भारतीय सुरक्षाकर्मी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o९:o३:oo

भारतको बैंग्लोरमा मजदुरी गर्दै आएका कञ्चनपुर महेन्द्रनगरका रतिराम विक श्रीमती र तीन नाबालक छोराछोरीसहित मंगलबार दिउँसो गौरीफन्टा नाका हुँदै घर फर्कंदै थिए । तर, उनलाई विनाकारण नाकामा रोकियो । त्यहाँ खटिएका भारतीय प्रहरी र भन्सार कर्मचारीलाई भारु सय बुझाएपछि मात्र नाका पार गर्न पाएको उनले बताए । 

रतिरामका अनुसार सामान चेकजाँच गर्ने नाममा रोकेर भारतीय प्रहरी र भन्सार कर्मचारीले सुरुमा भारु दुई सय मागेका थिए । लुगाफाटोबाहेक अरू सामान नभएको भन्दै पटक–पटक अनुरोध गर्दा पनि नछाडेको प्रहरीले भारु सय बुझाएपछि छाडिदिएको उनले बताए । 

‘सबै सामान खोलेर एक–एक गरी देखाऊ भन्दै थिए, सामान देखाए पनि पैसा नदिएसम्म केही न केही बहानामा रोकिहाल्थे,’ रतिरामले नयाँ पत्रिकासँग भने, ‘उनीहरूसँग विवाद गरेर झमेलामा पर्नुुभन्दा पैसा दिएर आएँ ।’ रतिराम दसैँ मनाउन परिवारसहित घर फर्केका हुन् । गुजारा गर्न समस्या भएपछि कोरोना संक्रमणको पहिलो महामारीमा लकडाउनकै बीच उनी भारत पसेका थिए । 

गाउँका अन्य ६ जनासँगै बैंग्लोरबाटै फर्किएका बझाङ मष्टा गाउँपालिका– १ का दलबहादुर ओखेडा पनि मंगलबार गौरीफन्टा नाका आइपुगेका थिए । उनीसँग सामानको नाममा आफैँले लगाउने पुरानो कपडा र परिवारका लागि ल्याएका केही जोर नयाँ लुगा राखेको पोको थियो । चेकजाँचका नाममा भारतीय प्रहरी र भन्सार कर्मचारीले त्यही सामान देखाएर बखेडा झिके । केही सीप नलागेपछि भारु सयको नोट थमाएर छुटकारा पाएको दलबहादुरले बताए । 

‘लुगाफाटो मात्रै थियो, ल्याउन नमिल्ने सामान केही पनि थिएन, तैपनि पैसा तिर्नुप¥यो,’ नाकावारि भेटिएका दलबहादुरले भने, ‘पैसा नदिउन्जेल लुगाको बिल देखाऊ भनेर रोक्न थाले । दुई–चार जोर लुगाफाटो पनि उतै राखिदेलान् कि भन्ने डर भयो । अनि पैसा दिएपछि छाडिदिए ।’ 

चाडपर्व नजिकिँदा सुदूरपश्चिमको प्रमुख नाका गौरीफन्टा भएर घर फर्कने नेपालीको संख्या बढिरहेको छ । भारतीय प्रहरीले व्यक्तिपिच्छे ५०, सय, दुई सय, पाँच सयसम्म असुल गर्ने गरेको नेपालीहरूको गुनासो छ । ‘भारतीय प्रहरीले सुरुमै पैसा मागे । सामान चेक गर्नु, पैसा दिन्नँ भनेपछि पूरै सामानको कागजात हेर्नुपर्छ भन्दै रोकेर राखे,’ कञ्चनपुर झलारीका सुरेन्द्र रानाले भने, ‘केही बेर त अडिएँ । तर, दुःख गरी कमाएको पैसाले घरपरिवारलाई किनेको सामान नै राखिदेला भन्ने डर लाग्यो । पछि डेढ सय भारु दिएर आएँ ।’ 

पैसा असुलेको वारिबाटै देखिन्छ, तर प्रहरी भन्छ– गुनासो आएको छैन
गौरीफन्टा नाकाका दुई ठाउँमा नेपालीलाई चेकजाँच हुने गरेको छ । सुरुमा भारतीय प्रहरी र भन्सार कर्मचारीले चेकजाँच गर्छन् । सडकछेउतिर बनाइएको क्याबिनमा चेक गर्ने उनीहरूले अधिकांश नेपालीबाट पैसा असुल्छन् । पैसा नदिए थप चेकजाँच गर्ने नाममा रोकेर राख्छन् । रोक्ने डरले कतिपयले आफैँ पैसा दिएर आउँछन् । सिमानामै रहेको भारतीय सीमा सुरक्षा बल एसएसबीले पनि भारतबाट फर्कनेको सामान जाँच गर्छ । 

घर फर्कने नेपालीसँग भारतीय प्रहरी र भन्सार कर्मचारीले पैसा असुलिरहेको आफूले पनि सुनेको सशस्त्र प्रहरी नायब निरीक्षक दलबहादुर दुवालले बताए । ‘पारिपट्टि नेपालीबाट पैसा असुल्ने गरिरहेको सुनिएको छ, तर हामीसँग कसैले गुनासो गरेका छैनन्,’ दुवालले भने, ‘एसएसबीसँग हाम्रो नियमित समन्वय भइरहेको छ । एसएसबीबाट नेपालीलाई अप्ठेरो भएको सुनिएको छैन ।’ भारतीय प्रहरी र भन्सार कर्मचारीले पैसा असुलिरहेको दृश्य वारि नेपालको सीमाबाटै देख्न सकिन्छ ।

सिमानामा वारिपारि रहेको एसएसबी र सशस्त्र प्रहरीको पोस्ट करिब ३० मिटरको दूरीमा छन् । भारतीय प्रहरीले पैसा असुल्न थालेको सुनिए पनि एसएसबीले भने खुलेआम लिएको नसुनिएको नाकामा खटिएका नेपाली सुरक्षाकर्मीले बताए ।

सीमानाकामा सधैँ सास्ती
प्रहरीका अनुसार गौरीफन्टा नाकाबाट अहिले दैनिक करिब सात सयजना स्वदेश फर्किरहेका छन् । भारतका विभिन्न सहरमा मजदुरी गरेर फर्किने नेपालीले सीमानाकामा सधैँजसो सास्ती व्यहोर्ने गरेका छन् । एकातिर, दैनिक गुजारा गर्न समस्या भएपछि कोरोना महामारीकै बीच उनीहरू कामको खोजीमा भारत जानुपरिरहेको छ, अर्कोतिर चाडपर्व मनाउन घर फर्किंदा सास्ती व्यहोर्नुपरिरहेको छ । नेपाली ठगिने र लुटिने क्रम बढेको छ ।

‘गाउँमा रोजगारी पाइएन, गुजारा गर्न समस्या भएपछि दुई–चार पैसा कमाउँला भनेर गएको थिएँ, तर कमाएर ल्याएको पैसा बाटोमै सकिने भयो,’ भारतको गुजरातबाट फर्केका अछाम मंगलसेनका ललित परियारले दुःख सुनाए । नेपाली ठगिने र लुटिने क्रम बस चढेबाटै सुरु हुन्छ । गौरीफन्टासम्म ल्याउने भने पनि अधिकांश बसले नेपालीलाई गौरीफन्टाबाट करिब ४५ किलोमिटर दूरीमा रहेको पलिया बजार छोड्छ । त्यहाँबाट गौरीफन्टा पुग्दा ठगिने र लुटिने क्रम बढी हुने गरेको छ । पलियामा नेपालीको सामान चोरिने, लुटिने घटना हुने गरेका छन् । 

नेपाली रिक्साचालकले पनि लुट्छन् नेपाली
नाकामा भारतीय सुरक्षाकर्मी मात्र होइन, नेपाली रिक्साचालकले पनि नेपालीमाथि ‘लुट’ मच्चाइरहेका छन् । नाकादेखि धनगढी बसपार्कसम्मको रिक्साभाडा एकजनाको ३० रुपैयाँ रहेकोमा रिक्साचालकले सामानसमेत बोकेको नाममा हजार रुपैयाँसम्म असुल्ने गरेका छन् । बाटोभरि ठगिँदै नाका पार गर्ने नेपाली त्यहाँ रिक्साचालकको तानातानमा पर्ने गरेका छन् । कतिपय रिक्साचालकले पारिबाट सामान ल्याइदिएको नाममा जबर्जस्ती आफ्नो रिक्सामा जान बाध्य पार्छन् । 

यात्रु तान्न वारि रिक्सा राखेर पारी नाकासम्म पुग्ने रिक्साचालकहरूले समेत नाका पार गराइदिने भन्दै घर फर्कने नेपालीबाट पैसा असुलेर भारतीय सुरक्षाकर्मीलाई बुझाउने गरिरहेका छन् । पारिबाट सामान बोकेर वारि ल्याएको समेत उनीहरूले चर्को पैसा असुलिरहेका छन् । रिक्साचालकले मनपरी भाडा लिने गरेको गुनासो बढेपछि प्रहरीले तीन दिनयता कडाइ गरेको छ । तर, तोकिएभन्दा बढी भाडा असुल्ने, पारि पुगेर जबर्जस्ती सामान ल्याएर आफ्नै रिक्सामा जान बाध्य पार्नेजस्ता कार्य अझै रोकिएको छैन ।
 

ad
ad