१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ असोज ५ मंगलबार ११:०८:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

कति सुरक्षित छन् हाम्रा बालबालिका ?

Read Time : > 2 मिनेट
२०७८ असोज ५ मंगलबार ११:०८:००

अचेल हरेक स्थान र क्षेत्रमा हाम्रा बालबालिका असुरक्षित हुँदै गएको देखिन्छ । घरेलु हिंसा, बलात्कार, एसिड आक्रमण, अपहरण तथा बेचबिखन हुनेमा पनि धेरैजसो बालिबालिका नै छन् । यसो गर्‍यो, उसो गर्‍यो अपराधीको निसानामा बालबालिका नै बढी परिरहेका हुन्छन् । बाबुआमासँग रिस उठ्यो भने पनि त्यसको सिकार बालबालिका नै हुनुपरिरहेको अपराधसम्बन्धी विभिन्न तथ्यांकले देखाउँछन् । 

घरैपिच्छे खोलिएका पसलमा सामान ढुवानी गर्ने साना, ठूला सवारीसाधनले घटौँसम्म आधा सडक ओगटिरहेका हुन्छन् । जसका कारण सडकपेटी नभएका ठाउँमा बीच सडकबाट हिँड्न बाध्य हुनुपर्छ । पैदल हिँडेर स्कुल जाने विद्यार्थीका लागि यस्ता सवारीसाधन कालजस्तै भएर बसेका हुन्छन् ।

मोटरसाइकल मर्मत केन्द्र, घर बनाउन झारिएका गिट्टी, बालुवा, इँटा र पसलबाहिर सडकपेटी पनि ओगटेर राखिएका विभिन्न सामान र फलफूलका कारण हात समाएर डोर्‍याउँदै लगिएका केटाकेटीलाई समेत सडकमा हिँडाउनुपर्ने बाध्यता छ । सडक दुर्घटना भएर ज्यान गुमाउने वा अंगभंग भएर बाँच्न बाध्य पार्ने यी विभिन्न कारण हुन् । वेलावेलामा हुने टिपर आतंकले त ठूलासाना सबैको सातो लिइरहेकै हुन्छ । 

सडकपेटी नै नभएका हाम्रा कतिपय सडकमा नयाँ मोटरसाइकल किनेर भर्खरै चलाउन सिकेका अल्लारे केटाहरूले आँखा चिम्लेर हुइँक्याउने भएकाले पैदलै स्कुल जाने विद्यार्थीलाई झनै सकस हुने गरेको छ । कतिपय ठाउँमा यसले दुर्घटना पनि निम्त्याइसकेको छ । गत वर्ष चाबेल पशुपति क्याम्पसमा स्नातक पढ्ने एक छात्राले बसको ठक्करबाट ज्यान गुमाइन् ।

नेपालगन्जमा सडक पार गर्दै गर्दा ट्रकले किच्दा एकजना स्कुले छात्राको दुइटै खुट्टा काट्नुपर्‍यो । यी घटना प्राकृतिक नभई सबै मानव निर्मित हाम्रै असावधानीका कारण घटेका हुन् । बेलायतको ब्रिस्टलस्थित युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्यान्ड र अमेरिकाको वासिंटन युनिभर्सिटीका अनुसन्धानकर्ताले गरेको अध्ययनले नेपालको सडक दुर्घटनाको तथ्यांक विश्वमै डरलाग्दो रहेको देखाएको थियो । दिन, प्रतिदिन यस्ता दुर्घटनामा कमी आउनुको साटो बढ्दै गइरहेको विभिन्न अध्ययनले देखाएका छन् । 

अपहरण, हत्या, हिंसा, बलात्कारजस्ता अपराधजन्य घटनामा बालबालिका नै बढी सिकार हुने गरेका छन् भने सडक दुर्घटनामा पनि उनीहरू नै बढी असुरक्षित देखिन्छन् 
 

अहिले कोरोना भाइरसको महामारीले केटाकेटीहरू घरबाहिर निस्कन सकेका छैनन् । अरू वेला पनि जाडो बिदा, वार्षिक परीक्षाजस्ता लामो बिदाका दिनमा पनि केटाकेटीलाई घरबाहिर खेल्न खुला ठाउँको अभाव छ । कतिपय सडकका छेउछाउमा केटाकेटीहरू खेलिरहेको देखिन्छ । यसले खेल्ने केटाकेटी र सवारीचालक दुइटै दुर्घटनामा पर्न सक्ने देखाउँछ ।

सहरका केटाकेटी गर्मी होस् या जाडो, खुला ठाउँको अभावका कारण बिदामा पनि घरभित्रै बस्न बाध्य हुन्छन् । यसले वयस्कजस्तै घरबाहिर ननिस्कने केटाकेटीमा पनि बिस्तारै सूर्यबाट पाइने भिटामिन ‘डी’को कमी हुँदै गइरहेको अध्ययनले देखाएको छ । अरू वेला पनि स्कुल बिदा भयो कि सदर चिडियाखाना, फन पार्कमा लगेर कहिलेसम्म बालबालिकालाई घाम तपाउन सकिन्छ र ?

कतिपय ठाउँमा खालि रहेका सरकारी जग्गा पनि बिस्तारै अतिक्रमणमा पर्दै गएका छन् । सडकनजिकैका घरमा बस्ने केटाकटीलाई सडकबाट उड्ने धुलोले अझै जोखिममा पार्ने गरेको छ । बालबालिकाको फोक्सो सानो हुने हुँदा उनीहरूले वयस्कको तुलनामा दोब्बर सास फेर्छन् ।

जसका कारण उनीहरूले बढी धुलो लिइरहेका हुन्छन् । वायु प्रदूषण बालबालिकाको मृत्युको एक मुख्य कारण हो । यसले बालबालिकामा निमोनिया, दम, ब्रोङकाइटिस र अन्य श्वासप्रश्वासजन्य संक्रमण गराउँछ । युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरको एक वक्तव्यअनुसार दक्षिण एसियाका ६२ करोड बालबालिका विषाक्त हावामा सास फेर्छन् ।

शारीरिक अभ्यास केटाकेटी स्वस्थ रहन एकदमै महत्वपूर्ण छन्, तर तिनकै अभावमा हाम्रा केटीकटी रोगी बन्दै गइरहेका छन् । महामारीका कारण लामो समयदेखि बालबालिका घरभित्रै बस्नुपर्दा झनै निष्क्रिय भएका छन् । ठाउँठाउँमा सरकारले केटाकेटीलाई खेल्नका लागि खालि ठाउँ, चौरको व्यवस्था गर्न जरुरी छ । यसका लागि सरकारी जग्गाको सदुपयोग गर्न सकिन्छ । खालि जग्गा किनेर वा स्थानान्तरण गरेर भए पनि सरकारले बालबालिकाको खेल्न पाउने अधिकार सुनिश्चित गर्नु जरुरी छ । सरकारले सडक बालबालिको उद्धार गरेर उदाहरणीय कार्य गरेको छ ।

यसैगरी गरिब, बेचबिखन, हिंसामा परेका, आमाबुबा गुमाएका, बलात्कृत बालबालिकाको संरक्षण तथा उनीहरूलाई सुरक्षा प्रदान गर्न पनि सरकार अग्रसर हुनुपर्छ । कोभिड–१९ ले निम्त्याएको महामारीका कारण लामो समयदेखि कतिपय बालबालिका शिक्षा र स्वास्थ्यमा सहज पहुँच, मनोरञ्जन, मायाप्रेम, स्वास्थ्य सुरक्षा, स्वस्थ आहार, खेल्न पाउने अधिकारजस्ता बालबालिकाले पाउनुपर्ने न्यूनतम अधिकारबाट वञ्चित छन् ।

आजका बालबालिका नै देश निर्माण गर्ने भोलिका जनशक्ति हुन् । त्यसैले उनीहरू शारीरिक तथा मानसिक रूपमा सानैदेखि स्वस्थ र सुरक्षित रहनु आवश्यक छ । अभिभावक, परिवार, समाज तथा सरकार सबै मिलेर बालबालिकाले पाउनुपर्ने अधिकारप्रति ध्यान दिनु जरुरी छ ।