१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७८ असोज ४ सोमबार ०६:३७:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

अस्पतालमा एन्फ्लुएन्जा र स्क्रब टाइफसका बिरामीको भिड

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७८ असोज ४ सोमबार ०६:३७:००

कोभिडको शंका लागेर काभ्रेका ६० वर्षीय एक पुरुष गत बुधबार टेकु अस्पताल पुगेका थिए । उनमा एक सातादेखि उच्च ज्वरो आउने, आँखा रातो हुने, टाउको दुख्नेजस्ता लक्षण देखिएको थियो । तर, स्वास्थ्य परीक्षण गर्दा कोभिड नेगेटिभ देखियो । त्यसपछि अन्य चेकजाँचका क्रममा शरीरमा स्क्रब टाइफसको जस्तै घाउ अर्थात् कालो धब्बा देखियो । नभन्दै उनलाई स्क्रफ टाइफस संक्रमण भएको पुष्टि भयो । अत्यधिक ज्वरोका कारण उनलाई अस्पतालले रिफर गर्‍यो ।

गत साता नै कोभिड संक्रमण नेगेटिभ देखिए पनि ज्वरो आइरहेको भन्दै नेपालटार (काठमाडाैं) बस्दै आएका २६ वर्षीया एक महिला टेकु अस्पताल पुगिन् । चिकित्सकका अनुसार उनमा पनि ज्वरो आउने र मांसपेसी दुख्ने समस्या थियो । स्वास्थ्य परीक्षण गर्दा उनमा पनि स्क्रब टाइफस संक्रमण देखियो । हाल उनी सोही अस्पतालमा उपचारत छिन् । 

कोभिड संक्रमण विस्तारै घट्दै गए पनि अस्पतालहरूमा बिरामीको चाप भने घटेका छैन । विशेष गरी हिजोआज टेकु अस्पतालमा यो समस्या लिएर आउने बिरामी बढ्दो क्रममा छन् । कोभिडको शंका लागेर आउने धेरैजसो बिरामीमा एन्फ्लुएन्जा र स्क्रब टाइफस हुने गरेको चिकित्सकहरू बताउँछन् ।

भाइरल संक्रमणका लागि ओपिडी सञ्चालनमा ल्याइरहेको अस्पतालमा दैनिक चारदेखि पाँचजना स्क्रब टाइफसका बिरामी पुग्ने गरेका छन् । यस्तै एन्फ्लुएन्जाको सिजन चलिरहेका कारणसमेत दैनिक चेकजाँचका लागि अस्पताल पुग्नेहरूमा ६ देखि आठजनासम्म संक्रमण पुष्टि भइरहेको चिकित्सकहरू बताउँछन् । भाइरल संक्रमणका लागि सबैभन्दा ठूलो अस्पताल टेकुलाई कोभिड अस्पताल बनाएसँगै अन्य सेवा भने प्रभावित बनेका छन् । 

अस्पतालमा दैनिक कोभिडबाहेकका सयभन्दा बढीले ओपिडी सेवा लिने गरेको अस्पतालका प्रवक्ता नवराज गौतम बताउँछन् । उनी भन्छन्, ‘ओपिडीको समयमा दैनिक भिड लाग्ने गरेको छ । तर, अस्पतालले कोभिडका बिरामी मात्रै लिने भएकाले अन्य संक्रमण पुष्टि भए अन्यत्र पठाउनुपर्ने अवस्था छ । सिजनल एन्फ्लुएन्जा बिरामीलाई अस्पताल नै भर्ना गर्नुपर्ने अवस्था छैन, तर स्क्रब टाइफसका बिरामी भने प्रभावित भएका छन् ।’ 

स्क्रब टाइफस भएको कसरी थाहा पाउने ? 
डा. शेरबहादुर पुन, भाइरोलोजिस्ट

कोभिड, इन्फ्लुएन्जालगायत संक्रमणका जस्तै हुने भएकाले स्क्रब टाइफस संक्रमण आझेलमा पर्ने गरेको छ । १२ प्रतिशतभन्दा बढी मृत्युदर रहेको स्क्रब टाइफसबारे खासै वास्ता गरेको पाइँदैन । एक प्रजातिको किर्नाले टोकेर स्क्रब टाइफस हुन्छ । तर, यो एक व्यक्तिबाट अर्कोमा भने सर्दैन । तर, संक्रमण देखिएपछि अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, अत्यधिक पसिना आउने हुन्छ । कोभिडसँग मिल्ने लक्षणबाहेक कानमा टिनटिन आवाज आउने, शरीरमा ससाना बिमिरा देखिने, आँखा रातो हुने र किर्नाले टोकेको दागमा चिलाउने र कालो हुँदै पाप्रा आउनेजस्ता लक्षणहरू देखिन्छ । 

 एन्फ्लुएन्जा र स्क्रब टाइफसको लक्षण कोभिडसँग मिल्दोजुल्दो
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन एन्फ्लुएन्जा र स्क्रब टाइफसका अधिकांश लक्षण कोभिडसंँग मेल खाने हुँदा पनि अस्पताल पुग्नेहरू बढेको बताउँछन् । उनी भन्छन्, ‘ठूला अस्पतालहरूमा दुई महिनायता अन्य संक्रमणका बिरामी पनि बढेका छन् । एन्फ्लुएन्जा केही दिनमा आफैँ निको हुने भए पनि स्क्रब टाइफसजस्ता संक्रमणबारे अझै जानकारी नहुँदा उपचार पहुँचमा पुगेको पाइँदैन ।’ एन्फ्लुएन्जाको शंका नै नगरिएका बिरामीमा पनि संक्रमण देखिनुले संक्रमित अस्पतालसम्म पुग्ने दर अझै कम हुन सक्ने विज्ञहरू बताउँछन् । अस्पतालहरूमा कोभिड बाहेकका अन्य सिजनल संक्रमितको संख्या बढेको पाइए पनि कोभिड सुरु भएपछि एन्फ्लुएन्जा र स्क्रब टाइफसजस्ता संक्रमणको तथ्यांक उपलब्ध छैन ।

 एन्फ्लुएन्जा भएको कसरी थाहा पाउने ?
कोभिडको तुलनामा एन्फ्लुएन्जा एकबाट अर्कोमा सजिलै फैलिन सक्ने हँुदा जोखिमपूर्ण मानिन्छ । केही दिनको अन्तरालमा आफँै ठिक भएर जाने भएकाले कोभिडको तुलनामा घातक भने मानिँदैन । घाँटी दुख्ने, नाकबाट सिँगान बगिरहने, उच्च ज्वरो, टाउको दुखाइ, मांसपेशी तथा हाडजोर्नीको दुखाइजस्ता लक्षण देखापर्छन् । यस्तै, एन्फ्लुएन्जाका अधिकांश लक्षण भाइरल रुघाखोकीको जस्तो देखिए तापनि तुलनात्मक रूपमा यो सामान्य रुघाखोकीभन्दा बढी घातक हुन्छ । तसर्थ, यस्ता लक्षण देखिएमा अनिवार्य चिकित्सकको सल्लाह लिनुपर्छ ।