१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ असोज १ शुक्रबार १९:२६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सुदूरपश्चिम सरकारमा एकीकृत समाजवादीबाट दुई मन्त्री थपिए

Read Time : > 1 मिनेट
२०७८ असोज १ शुक्रबार १९:२६:००

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो सरकारमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीबाट दुई जना मन्त्री थप गरेका छन्। आर्थिक मामिला मन्त्रीमा तारा लामा तामाङ र सोही मन्त्रालयको राज्यमन्त्रीमा माया तामाङ बोहरा नियुक्त भएका हुन्। 

नवनियुक्त मन्त्री तामाङलाई प्रदेश प्रमुख गंगाप्रसाद यादव र राज्यमन्त्री बोहरालाई मुख्यमन्त्री भट्टले शुक्रबार बेलुकी पद तथा गोपनीयताको सपथ गराएका छन्। तामाङ तत्कालीन नेकपा एमालेबाट कञ्चनपुरबाट निर्वाचित सांसद हुन् भने बोहरा बझाङबाट समानुपातिक सांसद हुन्। तामाङ यसअघि एमाले कञ्चनपुरका जिल्ला अध्यक्ष र एमाले संसदीय दलका प्रमुख सचेतक थिए। 

नेपाल समूहमै रहेकी बोहरा नेकपा विवादका बेला ओली पक्षमा लागेकी थिइन्। गत २५ जेठमा नेपाल समूहका १७ जनाले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिँदा बोहरासहित ओली पक्षका सात जनाले विपक्षमा मतदान गरेका थिए। एमाले विभाजन भएपछि भने उनले समाजवादी रोजिन्।

पार्टी विभाजनपछि पनि एमालेमै रहने निर्णय गरेका तत्कालीन आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले र मन्त्री अर्चना गहतराजले राजीनामा दिएपछि ती दुवै पद खाली थिए। सुदूरपश्चिममा एमाले विभाजनपछि एकीकृत समाजवादी १४ सांसदसहित सबैभन्दा ठूलो दल बनेको छ। 

११ सदस्यीय मन्त्रीमण्डलमा समाजवादीबाट चार मन्त्री र तीन राज्यमन्त्रीसहित सात जना छन्। एमाले विभाजनअघि माधव नेपाल समूह सरकारमा सहभागी थियो। पार्टी विभाजनपछि पनि उनी निकट अधिकांश सांसदले एकीकृत समाजवादी रोजेपछि सुदूरपश्चिममा विगतकै गठबन्धनले निरन्तरता पाएको हो। माओवादी र समाजवादीको गठबन्धनले सरकार प्रष्ट बहुमतमा छ। हाल कायम रहेको ५२ सदस्यीय प्रदेश सभामा नेकपा माओवादी केन्द्रका १३ सांसद छन्। सरकार गठनका लागि २७ सांसदको मत आवश्यक पर्छ। 

समाजवादीको संसदीय दलको बैठकले सरकारलाई समर्थन दिने निर्णय यसअघि नै  गरिसकेको छ। ११ सदस्यीय मन्त्रीमण्डलमा एमालेबाट चार मन्त्री र तीन राज्यमन्त्रीसहित सात जना सरकारमा थिए। उनीहरुमध्ये तीन मन्त्री र दुई राज्यमन्त्रीसहित १४ सांसदले एमाले त्यागेर समाजवादी रोजेका छन्। 

मन्त्रीमण्डल विस्तारसँगै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सरकारमा जाने सम्भावना तत्कालका लागि समाप्त भएको छ। केन्द्रमा गठबन्धन बनेको रहेकोले प्रदेशमा पनि गठबन्धन बनाएर जानुपर्ने भन्दै कांग्रेस सरकारमा जान इच्छुक देखिएको थियो। कांग्रेसका १२ सांसद छन्।

माओवादी र समाजवादीको प्रष्ट बहुमत रहेकाले कांग्रेसलाई सरकारमा सहभागी गराउनेबारे कुनै छलफल नभएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताएकी छन्। एमाले त्यागेर समाजवादीमा आएका पाँच मन्त्री मुख्यमन्त्रीले विश्वासको मत लिएपछि नियुक्त भएका थिए।