मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज १ शुक्रबार
  • Monday, 14 July, 2025
२o७८ असोज १ शुक्रबार ११:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङका सबै स्थानीय तहमा विद्यालय खुले, दुई सिफ्टमा पठनपाठन सुरु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज १ शुक्रबार ११:१६:oo

कोरोनाका कारण बन्द रहेका लमजुङका विद्यालय सञ्चालनमा आएका छन्। जिल्लाका आठवटै स्थानीय तहका विद्यालयमा भौतिक उपस्थितिमै पढाइ सुरु भएको छ। जिल्लाका सामुदायिक र संस्थागत विद्यालयले बिहान र दिउँसो दुई सिफ्ट मिलाएर पढाइ सुरु गरेका छन्।

जनकल्याण मावि चितीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवराज जोशीले दुई सिफ्टमा पढाइ सञ्चालन गरिएको बताए। उनका अनुसार बिहान १० देखि साढे १२ बजेसम्म नर्सरीदेखि ६ कक्षासम्म र दिउँसो १ बजेदेखि ४ बजेसम्म कक्षा सातदेखि ११ कक्षासम्मको पठनपाठन गराइएको छ। यस्तै, जनविकास मावि बेंसीसहरमा पनि भदौ पहिलो सातादेखि पढाइ सुरु गरिएको प्रधानाध्यापक रत्नमान श्रेष्ठले बताए। उनले भने, ‘विद्यालयमा भौतिक दूरी कायम छ । साबुनपानी र स्यानिटाइजरको व्यवस्था गरिएको छ ।’ अभिभावकलाई आफ्ना बालबालिकालाई मास्क लगाएर मात्र विद्यालय पठाउन अनुरोध गरिएको उनले बताए।

जिल्लाको बेंसीसहर नगरपालिका, दोर्दी, दूधपोखरी, क्व्होलासोंथर र मर्स्याङ्दी गाउँपालिकाका विद्यालयले भदौ पहिलो सातादेखि पठनपाठन सुरु गरेका हुन्। सुन्दरबजार नगरपालिकामा भदौ २२ देखि भौतिक रूपमै सिकाइ सहजीकरण थालिएको छ । राइनासमा भदौ २३ तथा मध्यनेपाल नगरपालिकामा बुधबारदेखि विद्यालय सञ्चालनमा आएको छ।

संस्थागत विद्यालयले पनि जिल्लामा सिकाइ सहजीकरण भदौ १ गतेदेखि नै सुरु गरेका छन्। शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख वीरबहादुर गुरुङले जिल्लाका आठवटै स्थानीय तहका विद्यालयमा सिकाइ सहजीकरण थालिएको बताए । ग्रामीण क्षेत्रमा इन्टरनेटको सहज पहुँच नहुँदा वैकल्पिक माध्यमबाट पढाउन समस्या आएको दोर्दी गाउँपालिकाका प्रमुख ओमबहादुर गुरुङले बताए। जिल्लामा तीन सय ३५ सामुदायिक र ३३ संस्थागत विद्यालय रहेका छन्।