१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
कृष्ण रिजाल काठमाडाैं
Invalid date format o६:३८:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल आउने सामान ढुुवानीमा भारतको सरकारी रेलको एकाधिकार अन्त्य

पहिलोपटक निजी रेलबाट ९० कन्टेनर भित्रियो

Read Time : > 1 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:३८:oo

सन् २००४ मा भएको नेपाल भारत रेलवे सम्झौताअनुसार भारतको सरकारी रेल कम्पनी कनकरले तेस्रो मुलुकको व्यापारको ढुवानीमा एकाधिकार पाएको थियो, तर गत वर्ष सो व्यवस्था संशोधन भएपछि पहिलोपटक निजी कम्पनीले ढुवानी सुरु गरेको छ

विगत १७ वर्षदेखि तेस्रो मुलुकबाट नेपाल आउने सामान ढुवानीमा भारतीय सरकारी रेल कम्पनी कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेड (कनकर)को एकाधिकार रहेकोमा त्यो तोडिएको छ । हालै भएको नेपाल–भारत रेल सम्झौताले निजी कम्पनीले पनि सामान ढुवानी गर्न पाउने व्यवस्था गरेपछि सोअनुसार पहिलोपटक निजी रेलले वीरगन्जसम्म कन्टेनर ल्याएको छ ।

बुधबार हिन्द टर्मिनल्स नामक भारतीय कम्पनीले भारतको हल्दिया बन्दरगाहबाट वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा ९० कन्टेनर मालवस्तु ल्याएको हो । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले उक्त मालवाहक निजी रेललाई स्वागत गरे । 

हिन्द टर्मिनल्सले सातामा दुईपटक कार्गाे ढुवानी गर्ने सो कम्पनीका अभिनव गुप्ताले जानकारी दिए । कन्टेनर आयातको मात्रा हेरेर ढुवानीको संख्या बढाउन सकिने उनले बताए । हिन्द टर्मिनल्सले नेपालको निर्यात प्रवद्र्धधनमा समेत सघाउने उनले बताए । त्यस्तै, विराटनगरमा समेत पूर्वाधार बनेपछि रेलवे कार्गो ढुवानी सेवा दिने उनले जानकारी दिए । 

सन् २००४ मा भएको नेपाल भारत रेल सेवा सम्झौताअनुसार नेपालमा भारतीय सरकारी स्वामित्वको रेल कम्पनी कनकार रेल्वेजले मात्रै कार्गाे ढुवानी गर्न सक्ने व्यवस्था थियो । उक्त व्यवस्थाअनुसार कार्गाे ढुवानीमा कनकरको एकाधिकार रहेको थियो । तर, नेपाल–भारत रेलसेवा सम्झौताको १७ वर्षपछि गत असारमा ५१ संशोधन भएको छ । रेलसेवाको संशोधित सम्झौता कार्यान्वयनमा आएसँगै भारतीय रेलसेवा कम्पनी कनकरको एकाधिकार तोडिएको हो । नयाँ व्यवस्थाअनुसार भारतीय निजी कम्पनी हिन्द टर्मिनल्सले रेलवेमा कार्गाे ढुवानी सेवा सुरू गरेको हो । 

निजी कम्पनीले रेलवेमा कार्गाे ढुवानी सेवा सुरू गरेपछि सामान ढुवानीमा प्रतिस्पर्धा बढ्न गई लागत घट्ने तथा समयसमेत बचत हुने कार्यकारी निर्देशक गजुरेलले बताए । ‘यसअघि नेपाल–भारतबीचका रेलबाट हुने ढुवानीमा कनकर रेल्वेजको एकाधिकार रहेको थियो । अहिले भारतीय रेलबाट लाइसेन्सप्राप्त अन्य आधिकारिक कार्गो रेल सञ्चालकले समेत नेपाली कार्गो ढुवानीका लागि अनुमति पाएका छन्’ उनले भने, ‘अब अरू निजी रेलवे कम्पनीले पनि कार्गाे ढुवानी गर्नेछन् ।’ 

नेपाल सरकारको १० वर्षदेखिको प्रयासपश्चात् निजी रेल कम्पनीले पनि नेपालको अन्तर्राष्ट्रिय कार्गो भारतीय बन्दरगाहहरूबाट सामान ल्याउन पाउने गरी गत वर्ष नेपाल–भारतबीच रेल सेवा सम्झौता संशोधन भएको थियो । नेपालको अन्तर्राष्ट्रिय व्यापार लागत न्यून गर्दै सहजीकण गर्ने अभिप्रायले स्थापना भएका सुक्खा बन्दरगाहजस्ता व्यापारिक संरचनाको समुचित परिचालन गर्दै वस्तुको प्रतिइकाइ लागत कम गर्नमा यो रेल प्रवेशले ठूलो भूमिका खेल्ने नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक गजुरेलले बताए ।

लागत घट्छ, समय जोगिन्छ : व्यवसायी
रेलवे कार्गाे ढुवानीमा कनकरको मोनोपोली तोडिएर प्रतिस्पर्धा बढ्ने भएपछि त्यसको लाभ व्यवसायी र उपभोक्ताले पाउने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सुबोधकुमार गुप्ताले बताए । ’चाहिएका वेला रेलवे र्‍याक नपाउँदा समयमै सामग्री आयात गर्न पाइएको थिएन, डेमरेज र डिटेन्सन पनि तिर्न पथ्र्याे’ उनले भने, ’अब समयमै रेलवे र्‍याक पाइन्छ, त्यसले लागत घटाउनेछ ।’ अब अन्य क्षेत्रमा समेत रेलवे कार्गाे ढुवानीमा जोड दिनुपर्ने उनको भनाइ छ ।