१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ भदौ ३० बुधबार ०७:५८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

संसदमा विरोध जारी रहन्छ : ओली

Read Time : > 1 मिनेट
२०७८ भदौ ३० बुधबार ०७:५८:००

एमाले अध्यक्ष केपी ओलीले संसद्को विरोध जारी रहने बताएका छन् । झापाको बिर्तामोडमा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै उनले सभामुख अग्निप्रसाद सापकोटा एमाले फुटाउन संलग्न भएको भन्दै संसदमा अवरोध गर्नुपरेको दाबी गरे । 

‘एमाले फुटाउन जालझेल गरेर चलिरहेको अधिवेशन १२ बजे राति अन्त्य गरेर बिहानै अध्यादेश ल्याउनु गैरसंवैधानिक कुरा हो । जालीझेली कुरा हो । एमाले फुटाउने उद्देश्यका साथ गरिएको यो कार्य अलोकतान्त्रिक हो,’ उनले भने, ‘एमाले फुटाइछाड्ने माधव नेपालको उद्देश्य पूरा गर्न यो काम गरियो । यस काममा सभामुख संलग्न भएकाले, सभामुख षड्यन्त्रको अंग भएर सामेल भएकाले संसद् अवरोध गर्‍यौँ । गैरसांसदलाई संसद् बैठकमा राखेको हुनाले हामी संसद् र प्रदेश सभाको बैठक अवरुद्ध गरिरहेका छौँ । यो अवरोध जायज छ । कायम रहन्छ ।’

ओलीले पद नपाए पार्टी छाड्ने धम्की दिने कम्युनिस्ट नभएको बताए । ‘पदका लागि काम गर्ने कम्युनिस्ट होइनन् । हाम्रा कमरेडहरूलाई भन्न चाहन्छु सबैको क्रमशः पालो आउँछ । पदका लागि मरिमेट्नु हुँदैन,’ उनले भने, ‘पदको जिम्मेवारी लिनुपर्छ । तर, देश, जनता, आन्दोलन र पार्टीका लागि लिनुपर्छ । देश जनताको सेवा गर्नका लागि पार्टी र पद चाहिन्छ । तर, पदका लागि पार्टी फोड्न, जोड्न सक्ने कुरा हाम्रो होइन माधव नेपालको हो ।’

ओलीले एमाले एकीकृत पार्टी भएको दाबी गरे । एमालेमा पूर्वमाओवादीमा संघर्ष गरेका नेता कार्यकर्ता भएको भन्दै यो पार्टी एकीकृत पार्टी रहेको दाबी गरे । ‘अदालतले पार्टी एकता भंग गरेको होइन । दर्ता मात्र बदर भएको हो । प्रचण्डलाई फोन गरेर पनि भनेँ, तर उनले मजाकका रूपमा लिए,’ उनले भने, ‘एमालेमा पूर्वमाओवादीमा दुःख गरेका साथीहरू हुनुहुन्छ । कानुनी रूपमा मात्र एमाले नाम रहेको हो । यो एकीकृत पार्टी हो । माओवादी त प्रचण्ड गुट मात्र हो । प्रचण्डमा लागेका साथीहरूलाई आग्रह गर्छु । उनीसँग बस्नु राजनीतिक जीवन बर्बाद गर्नु हो ।’

 ‘माधव नेपालको पार्टीले वडा सदस्य पनि जित्दैन’
ओलीले माधव नेपालको नेकपा (एकीकृत समाजवादी) पार्टी नक्कली भएको दाबी गरे । देशकै ठूलो पार्टीबाट चोइटिएर उनले प्रतिक्रियावादीको उद्देश्य पूरा गरेको बताए । ओलीले माधव नेपालको पार्टीले वडा सदस्य पनि नजित्ने दाबी गरे । ‘माधव नेपालको पार्टीले वडा सदस्य पनि जित्दैन । उनलाई जनताले भोट किन होल्ने ?’ ओलीले प्रश्न गरे, ‘के कारणले हाल्ने एमाले फुटाएकाले ?’ नेपालले एमाले कमजोर बनाउन तमासा गरेको दाबी गरे ।