संसद्‍मा विरोध जारी रहन्छ : केपी ओली

मंगलबार, २९ भदौ, २०७८
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसद्मा विरोध जारी रहने बताएका छन्। झापाको बिर्तामोडमा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभामुख अग्निप्रसाद सापकोटा एमाले फुटाउन  संलग्न भएको भन्दै संसद्मा अवरोध गर्नुपरेको दाबी गरे।

संसद्को सबैभन्दा ठूलो दल एमालेले चालू अधिवेशनमा बारम्बार संसद् अवरोध गर्दै आएको छ। ‘एमाले फुटाउनका लागि जालझेल गरेर अध्यादेश ल्याउन चलिरहको अधिवेशन १२ बजे राति अन्त्य गरेर बिहानै अध्यादेश ल्याउनु गैरसंवैधानिक कुरा हो। जाली–झेली कुरा हो। एमाले फुटाउने उद्देश्यका साथ गरिएको यो कार्य अलोकतान्त्रिक हो,’ उनले भने, ‘एमाले फुटाइछाड्ने माधव नेपालको उद्देश्य पूरा गर्न यो काम गरियो। यस काममा सभामुख संलग्न भएकाले, सभामुख षड्यन्त्रणको अंग भएर सामेल भएकाले संसद् अवरोध गर्यौँ । गैरसांसदलाई संसद् बैठकमा राखेको हुनाले हामी संसद् र प्रदेश सभाको बैठक अवरुद्ध गरिरहेका छौँ।’

ओलीले सभामुखले संसद्को निष्पक्षता कायम गर्न नसकी पार्टी कार्यकर्ताको रूपमा काम गरेका कारण संसद् अवरुद्ध गरेको बताए। ‘कार्यकर्ताको रूपमा काम मात्र हाेइन देशको सबैभन्दा ठूलो प्रमुख प्रतिपक्षी दलको विरुद्धमा षड्यन्त्र गरेको हुनाले हामीले उनलाई सभामुख मानिरहन सकेनौँ,’ उनले भने, ‘उनले संसद् नियमअनुसार चलाउन सकेनन्। गैरसांसदलाई गैरसांसद भन्न सकेनन्। हामीले बल मिच्याइँलाई अस्वीकार गरेर प्रतिनिधिसभाको बैठक अवरोध गर्याैँ । यो अवरोध जायज छ। कायम रहन्छ।’

उनले पद नपाए पार्टी छाड्ने धम्की दिने कम्युनिस्ट नभएको बताए। केही नेताले पद नपाएको भन्दै पार्टी छाड्ने धम्की दिएको दाबी गरे। ‘पदका लागि काम गर्ने कम्युनिस्ट हाेइनन्। हाम्रा कमरेडहरूलाई भन्न चाहन्छु– सबैको क्रमशः पालो आउँछ। पदका लागि मरिमेट्नुहुँदैन,’ ओलीले भने, ‘पदको जिम्मेवारी लिनुपर्छ। तर, देश, जनता, आन्दोलन र पार्टीका लागि लिनुपर्छ। देश र जनताको सेवा गर्नका लागि पार्टी र पद चाहिन्छ। तर, पदका लागि पार्टी फोड्न, जोड्न सक्ने कुरा हाम्रो हाेइन माधव नेपालको हो।’

ओलीले माधव नेपालको नेकपा (एकीकृत समाजवादी) पार्टी नक्कली भएको दाबी गरे। देशकै ठूलो पार्टीबाट चोइटिएर उनले प्रतिक्रियावादीको उद्देश्य पूरा गरेको बताए।

यस्तै, नेकपा एमाले एकीकृत पार्टी भएको दाबी गरे। एमालेमा पूर्वमाओवादीमा संघर्ष गरेका नेता–कार्यकर्ता भएको भन्दै यो पार्टी एकीकृत पार्टी रहेको दाबी गरे। ‘अदालतले पार्टी एकता भंग गरेको हाेइन। दर्ता मात्र बदर भएको हो। प्रचण्डलाई फोन गरेर पनि भनेँ, तर उनले मजाकका रूपमा लिए,’ उनले भने, ‘एमालेमा पूर्वमाओवादीमा दुःख गरेका साथीहरू हुनुहुन्छ। कानुनी रूपमा मात्र एमाले नाम रहेको हो। यो एकीकृत पार्टी हो। माओवादी त प्रचण्ड गुट मात्र हो। प्रचण्डमा लागेका साथीहरूलाई आग्रह गर्छु। उनी ज्वाइँ, छोरी र बुहारीलाई मात्र अवसर दिन्छन्। उनीसँग बस्नु राजनीतिक जीवन बर्बाद गर्नु हो।’

सुझावित समाचार