मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 17 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:o२:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

दसैँसम्म ३३% नागरिकलाई खोप लगाउने सरकारको लक्ष्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:o२:oo

सरकारले दसैँसम्म लक्षित समूहका ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने लक्ष्य लिएको छ । १८ वर्षभन्दा माथिका दुई करोड १७ लाख नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने सरकारको योजनाअनुसार ३३ प्रतिशतमा करिब ७२ लाख व्यक्ति पर्छन् । हालसम्म एक करोड ३३ लाख डोज खोप भित्रिएकोमा एक करोड १९ लाख ४३ हजार डोज लगाइएको छ ।

बाँकी खोप देशभर लगाउने क्रममा छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार १९ प्रतिशत नागरिकले पूर्ण खोप पाइसकेका छन् । यो भनेको करिब ३३ लाख हुन् । अब थप खोप ल्याएर दसैँसम्म ३३ प्रतिशतलाई लगाइसक्ने उनले बताए । सरकारले आगामी तीन दिनभित्र चीनबाट ४४ लाख डोज भेरोसेल ल्याउने भएको छ । यसअघि चीनबाट एकपटक आठ लाख डोज मात्रै खोप ल्याइएको थियो । यसपटक ल्याइने खोपको एक भायलमा पाँच डोज हुने उनले बताए । 
‘सरकारको पहिलो प्राथमिकता खोप हो भनेर जनतालाई भनेका छौँ । वाचा पूरा गर्नु राज्यको दायित्व भएकाले खोप उपलब्धतामा जोड दिएका छौँ,’ श्रेष्ठले भने, ‘सरकारले नियमित खोप ल्याउने भएकाले चिन्ता गर्नुपर्दैन ।’ 

स्वास्थ्य मन्त्रालयका अनुसार भारतबाट खरिद गरिएको १० लाख डोज कोभिसिल्ड असोजभित्र आउनेछ । चीन सरकारले अनुदानमा दिएको १६ लाख डोज भेरोसेल र जापानबाट अनुदानको १६ लाख डोज एस्ट्राजेनेका पनि आउने तयारीमा छ । त्यस्तै, पुस र माघमा कोभ्याक्स सुविधाअन्तर्गत मोडर्नाको ४० लाख डोज, कोभ्याक्समार्फत अनुदानमा एक करोड १३ लाख, कोभ्याक्समार्फत संयुक्त लगानीमा एक करोड १० लाख डोज र अमेरिकाबाट फाइजरको ६० लाख डोज आउने मन्त्रालयले जनाएको छ । 

संक्रमण बालबालिकामा समेत देखिन थालेपछि सरकारले मोडर्ना र फाइजरको खोप पनि ल्याउन लागेको हो । यी खोप बालबालिकालाई पनि दिन मिल्छ । विभिन्न चरणमा गरेर सरकारले साढे पाँच करोड डोज खोप ल्याउने भएको छ । बाँकी ५० लाख डोज कुनै कम्पनीबाट खरिद गर्ने योजना बनाएको छ । ५० लाख डोज खरिदका लागि स्वास्थ्यसचिव र स्वास्थ्यसेवा विभागका महानिर्देशकलाई जिम्मेवारी दिइएको छ ।