Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
मेलम्ची खानेपानी आयोजनाको मुख्य टनेल, जहाँ पहिरो थुप्रिएको छ । याङ्ग्री र लार्केको पानी यहीँ खसालिने छ ।
शान्ति तामाङ काठमाडौं
२०७८ भदौ २९ मंगलबार ०८:४२:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मेलम्चीको बाढीले याङ्ग्री र लार्केको भविष्यसमेत अनिश्चित

तीन वर्षमै सक्ने भनिएका दुवै आयोजनाबाट काठमाडौंमा दैनिक ३४ करोड लिटर पानी ल्याउने लक्ष्य थियो

Read Time : > 3 मिनेट
शान्ति तामाङ, काठमाडौं
२०७८ भदौ २९ मंगलबार ०८:४२:००

गत २० चैतमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले मेलम्ची खानेपानीको औपचारिक शुभारम्भ गर्दै तीन वर्षभित्र याङ्ग्री र लार्के नदीको पानी काठमाडौं आउने घोषणा गरेका थिए । त्यसैअनुसार काम थाल्न उनले खानेपानी मन्त्रालयलाई निर्देशनसमेत दिए । तर, गत असार र साउनमा आएको बाढीले मेलम्ची खानेपानीका सबै संरचनामा क्षति पुगेपछि याङ्ग्री र लार्के खानेपानीको काम ठप्प छ । बाढी आउनुअघिसम्म आयोजनामा जग्गा पर्ने जग्गाधनीलाई मुआब्जा दिने काम भइरहेको थियो । तर, अहिले सबै काम रोकिएको छ ।

आर्थिक वर्ष ०७८/७९ मा सरकारले मेलम्ची खानेपानी आयोजनाका लागि तीन अर्ब ५१ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । मेलम्ची आयोजनाको दोस्रो चरणअन्तर्गत लार्के र याङ्ग्री खोलाबाट दैनिक ३४ करोड लिटर खानेपानी प्रणालीमा थप गर्न आगामी आर्थिक वर्षमा सुरुङलगायत अन्य पूर्वाधार निर्माण कार्य आरम्भ गर्न सो बजेट विनियोजन भएको हो । याङ्ग्री र लार्के खानेपानी योजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा निर्माण सम्पन्न गर्न पाँच वर्ष लाग्ने उल्लेख भए पनि तीन वर्षभित्र खानेपानी काठमाडौं ल्याउने सरकारको तयारी थियो । 

‘याङ्ग्री र लार्के नदीको पानी पाँच वर्षमा काठमाडौं ल्याउने भन्ने थियो । मेलम्चीमा आएका बाढीका कारण अब यो याङ्ग्री र लार्केको काम पनि रोकिएको छ,’ मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले भने, ‘याङ्ग्री र लार्केको निर्माण सम्पन्न हेडवक्र्स, टनेललगायतका मुख्य काम कहिले सुरु हुन्छ, त्यसमा भर पर्छ । बाढी आउनुभन्दा अगाडि मुआब्जा दिने काम भइरहेको थियो । अहिले सबै रोकिएको छ ।’

मेलम्चीको विकल्प खोज्दा राम्रो
मेलम्ची नदीमा बाढी आएर आयोजनाको समेत एक अर्बभन्दा धेरै क्षति भएपछि मेलम्चीको विकल्प खोज्नुपर्ने आवाज उठ्न थालेको छ । ‘एउटै कुरामा निर्भर बन्न हुँदैन । विकल्प खोज्दा राम्रो हो,’ सूचना अधिकारी पन्तले भने, ‘बाहिरका स्रोत पनि खोज्न सकिन्छ । उपत्यकाकै विभिन्न नदीको माथि राम्रो बाँध बनाएर पनि पानी ल्याउन सकिन्छ । धेरै विकल्प छन्, त्यसबारे सोच्नुपर्छ ।’ काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का अनुसार हाल काठमाडौं उपत्यकामा खानेपानीको दैनिक माग ४३ करोड लिटर छ । तर, केयुकेएलले वर्षायाममा समेत जम्मा १६ करोड लिटर वितरण गर्दै आएको छ । अझ, सुक्खा मौसममा जम्मा १३ करोड लिटर मात्रै आपूर्ति भइरहेको छ । 

राजेन्द्रप्रसाद पन्त, सूचना अधिकारी
 मेलम्ची खानेपानी विकास समिति 

याङ्ग्री र लार्के नदीको पानी पाँच वर्षमा काठमाडौं ल्याउने भन्ने थियो । मेलम्चीमा आएका बाढीका कारण अब यो याङ्ग्री र लार्केको काम पनि रोकिएको छ । याङ्ग्री र लार्केको निर्माण सम्पन्न हेडवक्र्स, टनेललगायतका मुख्य काम कहिले सुरु हुन्छ, त्यसमा भर पर्छ । बाढी आउनुभन्दा अगाडि मुआब्जा दिने काम भइरहेको थियो । अहिले सबै रोकिएको छ ।
 

मेलम्चीमा अझै पहिरो आउने  सम्भावना छ : भूगर्भविद् 
खानी तथा भूगर्भ विभागका सिनियर डिभिजन भूगर्भविद् शिव बाँस्कोटा यही वर्ष मेलम्चीको पानी ल्याउन सकिनेमा शंका व्यक्त गर्छन् । ‘पहिरो अझै सक्रिय नै छन् । यो वर्ष सानातिना पहिरो थप आउने अथवा केही ठाउँमा पहिरो बढ्ने नै हुन्छ । एकैचोटि ठूलो पानी आयो । धेरै पहिरो जाने अवस्था भयो भने फेरि पहिलाको जस्तै ठूलो पहिरो आउन सक्छ,’ बाँस्कोटाले भने, ‘भे्रमाथाङमा हामी जाँदा कतिपय ठाउँमा आधा ढुंगा खसेर बसेका छन् । हामी बस्दाबस्दै चिराहरू बढिरहेका छन् । माथिबाट पहिरो आउँदैन भन्न सकिने खालको अवस्था छैन । पानी परेन भने स्थिर पनि हुन सक्छ । तर, माथिबाट गेग्रान आउने क्रम रोकिएको छैन ।’

दोस्रोपटक १६ साउनमा माथिल्लो तटीय क्षेत्रमा भएको अत्यधिक वर्षासँगै गेग्रानसहित मेलम्ची नदीमा बाढी आएपछि झन् जोखिम बढेको बाँस्कोटाले बताए । विभागको टोलीले बाढीपहिरोपछि त्यस क्षेत्रको भौगर्भिक अध्ययनसमेत गरेको थियो । १ असार र १६ साउनको बाढीपहिरोका कारण किउल, शेर्माथाङ, तिम्बु, सर्कथली, अम्बाथान, चनौटे, मेलम्ची, पाल्चोक, ग्याल्थुम, तालामाराङ, सिपाघाटलगायत क्षेत्रमा असर गरेको छ ।

 कति वर्ष लाग्ने छैन टुंगो
मेलम्ची नदीमा आएको बाढीका कारण भएको क्षतिले अब याङ्ग्री र लार्केको भविष्य पनि अनिश्चित भएको छ । डिपिआरअनुसार २५ अर्बको लागतमा निर्माण सम्पन्न गर्ने मेलम्ची आयोजनाले लक्ष्य राखेको थियो । मेलम्चीमा आएको बाढीसँगै डिपिआरमा उल्लेख भएको पाँच वर्षमा पनि सकिन्छ भन्ने टुंगो नभएको सूचना अधिकारी पन्त बताउँछन् । ‘बाढीका कारण मेलम्ची डाइभर्सनको हेडवक्र्स पुरिएको छ । त्यहाँ कति क्षति भयो ? हेडवक्र्स बन्न कति समय लाग्छ भन्न सकिने अवस्था छैन । याङ्ग्री र लार्केको पानी ल्याएर मेलम्ची नदीमै खसाल्ने हो,’ उनले भने, ‘मेलम्ची नदीको शिरमा जुन रूपमा भौगर्भिक समस्या देखिएको छ, त्यसले दीर्घकालीन रूपमा प्रभाव पार्न खोजिएको भनिएको छ । राम्रो अध्ययन, त्यसबाट आएको तथ्यांकलाई आधार मानेर हामी अगाडि बढ्नुपर्छ । त्यो तथ्यांक आउन बाँकी छ ।’

आयोजनाका अनुसार मेलम्ची नदी डाइभर्सन, याङ्ग्री नदी डाइर्भसन र लार्के नदी डाइभर्सन भनेर तीन चरणमा योजना बनाएको थियो । तर, आयोजनाको सुरुवातमा पहिलो चरणमै ढिलाइ भयो । ‘हामीले अब याङ्ग्री र लार्के एउटै फेजमा सक्ने लक्ष्य राखेका छौँ । सुरुमा लार्के नदीबाट एउटा हेडवक्र्स र दुई किलोमिटर जति टनेल बनाएर लार्के नदीको पानी याङ्ग्रीमा खसाउने हो । त्यसपछि तलपट्टि याङ्ग्रीमा हेडवक्र्स बनाउने र नौ किलोमिटर लामो टनेल बनाउने हो,’ पन्तले भने, ‘त्यो टनेलबाट याङ्ग्री र लार्केको पानी मेलम्ची नदीमा खसाउने हो । हामीले निर्माण गर्नुपर्ने मुख्य गरी नौ र दुई किलोमिटरको टनेल हो । यो पनि मेलम्ची नदीको पानी डाइभर्सन गर्न बनाएको टनेलको सिकाइबाट बनाउने हो ।’ तर, याङ्ग्री र लार्केमा निर्माण गर्ने हेडवक्र्स र टनेल निर्माणका लागि प्रवेश मार्ग र पुल आवश्यक पर्नेमा त्यो अझै कहिले निर्माण हुन्छ भन्ने अवस्था नरहेको उनले बताए ।

मेलम्चीसँगै याङ्ग्री र लार्केबाट पनि पानी ल्याउन सकिएमा काठमाडौं उपत्यकामा ५१ करोड लिटर पानी आउनेछ  । आयोजनाका लागि जग्गा अधिग्रहणको काम पनि ६५ प्रतिशत सकिएको आयोजनाले जनाएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका विभिन्न वडामा प्रस्तावित आयोजना क्षेत्रभित्र पर्ने तीन सय ७६ कित्ता जग्गाको मुआब्जा वितरण भइरहेको छ ।