मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
किरण दहाल काठमाडौं
२०७८ भदौ २९ मंगलबार ०६:४७:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

विपक्षीले सर्वदलीय बैठक बहिष्कार गरेकोमा सत्तापक्ष असन्तुष्ट : सदन चलाउने र संवाद कायम राख्ने 

Read Time : > 3 मिनेट
किरण दहाल, काठमाडौं
२०७८ भदौ २९ मंगलबार ०६:४७:००

प्रमुख प्रतिपक्षी दल एमालेले संवाद नगर्ने र सदनलाई बन्धक बनाउने रणनीति अपनाएको निष्कर्षमा पुगेका सत्तागठबन्धनका नेताहरू अवरोधकै बीच सदन सुचारु गर्ने मनस्थितिमा पुगेका छन् । विपक्षीसँग संवादलाई पनि कायम राख्ने र सदनका कामकारबाही पनि अगाडि बढाउने सत्तागठबन्धनको तयारी छ । विपक्षीको अवरोधबीच बुधबार र शुक्रबार सदन चलेको थियो । 

संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सदन चलाउन सभामुख अग्नि सापकोटालाई पनि सुझाब दिएका छन् । सोमबार सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा सत्तागठबन्धनमा रहेका दलका शीर्ष नेताहरूले असंसदीय मर्यादा देखाएको भन्दै विपक्षी एमालेको आलोचना गरेका छन् । एमाले नेताहरू भने बैठकमा सहभागी भएनन् । 

एमाले बैठकमा नआएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले असन्तुष्टि पोखेका थिए । आगामी दिनमा छलफललाई निरन्तरता दिन उनले सभामुखलाई सुझाब दिए । ‘प्रतिपक्षले गरेको अवरोध देखिएकै छ । आज आउनुभएन, अब अर्काे दिन आउनुहोला । छलफल गर्दै जाऊँ, सहमति गरेरै अघि बढ्नुपर्छ । तर, संसद्मा धेरै काम छन्, रोक्नुहुँदैन, चलाउनुपर्छ,’ देउवाले भने । 

माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता प्रचण्डले अदालतको विचाराधीन विषयलाई एमालेले संसद्मा उठाएर गल्ती गरेको बताएका थिए । ‘अहिलेको अवरोध संसद्माथिको अपमान हो । सर्वदलीय बैठकमा उहाँहरूको अनुपस्थिति पनि संसद्माथिको अवहेलना हो । सभामुखले आफ्नोतर्फबाट समस्या समाधान गर्न लगातार प्रयास गर्नुपर्छ । तर, संसद् निरन्तर चल्नुपर्छ, यसलाई रोक्नुहुन्न,’ प्रचण्डको भनाइ थियो । 

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले प्रमुख प्रतिपक्ष दल एमाले जिम्मेवार ढंगले प्रस्तुत नभएको भन्दै आक्रोश व्यक्त गरेका थिए । ‘उहाँहरू संसद्प्रति पूर्वाग्रही हुनुहुन्छ । केपी ओलीको टोलीले अरूको मानमर्दन गर्न मात्रै सक्छ, अरू कुरा केही जान्दैन । लोकतान्त्रिक संस्कार नभएको प्रतिपक्ष हुनु दुःखद हो,’ उनले भनेका थिए, ‘ओलीलगायतका एमाले सांसदहरूको बोली र व्यवहारले सभ्यताको सीमा नाघेको छ । संवाद जारी राख्दै प्रतिनिधिसभा बैठकलाई नरोक्न म सभामुखसँग आग्रह गर्दछु ।’

जसपा नेता उपेन्द्र यादवले प्रतिपक्षसँगको संवादमा जोड दिएका थिए । सहमति र सहकार्य गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो । तर, एमालेले अवरोध जारी राखे पनि बैठक चलाइरहनुपर्ने उनको भनाइ थियो । ओली विगतमा र अहिले पनि संसद्को पक्षमा नरहेको भन्दै यादवले कटाक्ष गरेका थिए । 

‘केपी ओली हिजो र आज पनि संसद्को पक्षमा हुनुहुन्न । हिजो विघटन गर्नुभयो, आज अवरोध गरिरहनुभएको छ । हिजो र आज पनि उहाँलाई संसद् मन परेको छैन । संसद्लाई क्रियाशील बनाउनुपर्छ । संसद्लाई बचाउनुपर्छ, नत्रभने लोकतन्त्रमै आँच आउँछ । संसदीय प्रणालीमा संसदीय सर्वाेच्चता हुन्छ । मुलुकलाई सिस्टममा लैजानका लागि संसद् चाहिने हो । सहमतिको प्रयास पनि गरौँ, बैठक पनि चलाउँदै गरौँ,’ यादवले भने । 

लोसपा सांसद महन्थ ठाकुरले संसद्मा अवरोध नयाँ घटना नभएको बताएका थिए । ‘यो घटना नयाँ होइन । जसको उपस्थिति हुनुपथ्र्याे, ऊ पनि आएन । यो बैठकले समाधान दिन नसक्ने भयो । तर, संवाद कायमै गरौँ । सरकार र सभामुखले निकास निकाल्नुपर्छ,’ ठाकुरको भनाइ थियो । 

जनमोर्चा सांसद दुर्गा पौडेलले एमालेले राखेका माग न्यायसंगत नभएको टिप्पणी गरेकी थिइन् । प्रतिनिधिसभा बैठक नरोक्न पनि उनले सभामुखलाई सुझाब दिएकी थिइन् । उनको भनाइ थियो, ‘सभामुखलाई मात्रै दोष लगाएर हुँदैन । प्रतिनिधिसभा सुचारु गर्नुपर्छ । महत्वपूर्ण विधेयक थन्किएर बसेका छन् । तिनलाई पास गर्नुपर्छ । प्रतिपक्षले उठाएको माग न्यायसंगत छैन । ती मागले प्रतिनिधिसभा बन्धक बनाउँछ ।’ बैठकपछि पत्रकारहरूसँगको कुराकानीमा पनि पौडेलले संसद्लाई अनिर्णयको बन्दी बनाएर राख्न नहुने बताएकी थिइन् । संसद्मा प्रतिपक्ष मुख्य हुने हुनाले जिम्मेवार ढंगले प्रस्तुत हुन पनि उनले एमालेलाई आग्रह गरेकी थिइन् ।

नेमकिपा सांसद प्रेम सुवालले संसद् बल देखाउने ठाउँ नभएर प्राज्ञिक थलो भएको बताएका थिए । ‘संसद्मा बल देखाउने होइन । त्यहाँ छलफल गर्ने हो । त्यो प्राज्ञिक थलो हो,’ उनको भनाइ थियो । संसद्मा एमालेले निरन्तर अवरोध पु¥याएपछि यस विषयमा छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, जसपा, लोकतान्त्रिक समाजवादी पार्टी, नेमकिपाको उपस्थिति थियो । तर, बैठकमा सहभागी नभएको विपक्षीले नयाँ सर्त अगाडि सारेको छ । 

एमाले भन्छ– सर्वदलीय बैठकले समस्याको हल हुँदैन 
सभामुखले आफूसँग ‘वान अन वान’ वार्ता गर्नुपर्ने एमालेको अडान छ । सर्वदलीय बैठक बोलाएर समस्या समाधान नहुने उसको निचोड छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘उहाँ (सभामुख)लाई सधैँ सहयोग गर्दै आएका र टिकाउँदै आएका मान्छेलाई डाकेर वा साक्षी राखेर एमालेसँगको समस्या समाधान हुँदैन । मुख्य विवाद एमालेसँग भएको हुँदा एमालेसँगै छलफल गरेर समाधान निकाल्नुपर्छ ।’ १४ जना सांसदबारेको सूचना जारी वा मार्गप्रशस्त गर्न एमालेको माग छ । तर, सभामुखले आफूमाथि उठेका प्रश्नको जवाफ सदनबाटै दिइसकेका छन् । आपूm कानुनअनुसार अघि बढेको उनको ठहर छ । 

विपक्षी नआएकोमा सभामुख असन्तुष्ट
बैठकको सुरुमै बोलेका सभामुख अग्नि सापकोटाले १ भदौयताका घटनाक्रमबारे दलहरूलाई जानकारी गराएका थिए । १४ जना सांसद कारबाही, एमालेले सूचना निकाल्न दिएको दबाब, एमाले सांसदहरूले प्रयोग गरेका धम्कीपूर्ण भाषा, १३ गतेको सूचना, संसद्को कामकारबाहीलगायतका विषयमा उनी बोलेका थिए । ‘मैले संविधान र नियमावलीअनुसार काम गरेको हुँ । सदनलाई मर्यादित र व्यवस्थित बनाउन पटक–पटक आग्रह पनि गरेको छु । तैपनि अवरोध जारी छ । संवादका लागि पनि उहाँहरूलाई आग्रह गरेको छु, तर आउनुहुन्न,’ उनको भनाइ थियो, ‘यो स्तरको बैठक उहाँहरूबाट उपेक्षा होला भन्ने लागेकै थिएन ।