के हो निपाह भाइरस ?

भारतमा यसअघि सन् २०१८ मा १९ जनामा निपाह संक्रमण पुष्टि भएको थियो त्यसवेला संक्रमितमध्ये १७ जनाको ज्यान गएको थियो

आइतबार, २७ भदौ, २०७८
डिजिटल संस्करण

भारतको केरला राज्यमा गत आइतबार १२ वर्षीय एक बालकको निपाह भाइरस संक्रमणबाट मृत्यु भयो । कोरोना भाइरसबाट विश्वमै धेरै ज्यान गुमाउने राष्ट्रहरूको सूचीमा रहेको भारतमा निपाह भाइरसबाट बालकको मृत्यु हुँदा यहाँ अर्को सन्त्रास फैलिएको छ । 

भारतमा अन्य दुई स्वास्थ्यकर्मीमा पनि निपाह भाइरस पोजिटिभ देखिएको स्वास्थ्य अधिकारीहरूले पुष्टि गरेका छन् । घातक मानिएको यो भाइरस संक्रमण नियन्त्रणका लागि उक्त बालकको सम्पर्कमा आएका हरेक व्यक्तिको स्वास्थ्य परीक्षण भइरहेको भारतका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । निपाह भाइरसको संक्रमण दर उच्च भएका कारण विश्व स्वास्थ्य संगठनले पनि प्राथमिकताको सूचीमा राखेको छ । कोरोना महामारीकै बीचमा नयाँ भाइरस देखिनु थप चिन्ताजनक हुने विश्व स्वास्थ्य संगठनको भनाइ छ । 

यही कारण अन्य व्यक्तिमा संक्रमण फैलिनबाट रोक्न रोग नियन्त्रण केन्द्रका विज्ञहरूको समूहले प्रभावित क्षेत्रमा अनुसन्धान गरिरहेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यद्यपि, केरलाकी स्वास्थ्यमन्त्री बिरा जर्जले भने तत्काल डराउनुपर्ने अवस्था नरहेको तर सावधानी भने आवश्यक रहेको बताएकी छन् । 

निपाह भाइरस अर्थात् एनआइभी सन् १९९९ मा पहिलोपटक मलेसियामा सुंगुरपालक किसानहरूमा देखिएको थियो । सुंगुर र अन्य जीवबाट मानिसमा सरेको मानिने यो रोग तत्कालीन समयमा सुंगुर किसानहरूमा प्रकोपको रूपमा फैलिएको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार फल चमेरो, जसलाई फ्लाइङ फक्स पनि भन्ने गरिन्छ, लाई निपाह भाइरसको प्राकृतिक होस्ट मानिन्छ ।

निपाह भाइरस जनावरहरूको माध्यमबाट मानिसमा सर्ने गर्छ । तर, संक्रमण मुख्य रूपमा चमेरो वा सुँगुरबाट मानिसमा र मानिसबाट मानिसमा सर्न सक्छ । पेट्रोपोडाइ परिवारका यी चमेराहरू फलफूल मन पराउने खालका हुने गर्छन् । खासगरी, यो जातका चमेराहरू फलफूलको रूखमा बस्ने हुँदा फलफूलका माध्यमबाट मानिसमा सर्ने अध्ययनले देखाएको छ । घोडा, बिरालो र कुकुरसहित घरपालुवा जनावरहरूका माध्यमबाट पनि संक्रमण फैलिन सक्छ । तर, यो भाइरस सुँगुरहरूको बीचमा धेरै संक्रामक मानिन्छ, जसले भाइरसलाई मानिसमा सर्न सक्छ ।

 कसरी सर्छ ?
सामान्यतया तरल पदार्थ र सुँगुरको पिसाबबाट मानिसमा सर्न सक्ने सम्भावना अत्यधिक रहन्छ । यो घातक संक्रमण नजिकको मानव सम्पर्कका माध्यमबाट पनि प्रसारित हुन सक्छ, कोरोना भाइरसजस्तै एक संक्रमितका माध्यमबाट अर्कोमा सजिलै सर्न सक्ने भएकाले यसलाई विश्व स्वास्थ्य संगठनले घातक रोगको सूचीमा राखेको हो ।

भारतमा सन् २०१८ मा १९ जनामा देखिएको यो भाइरस संक्रमितमध्ये १७ जनाको ज्यान गएको थियो । भारतमा यसअघि सन् २०१९ मा पनि निपाह संक्रमण फैलिएको थियो, तर सम्पर्कमा आएका प्रत्येक व्यक्तिको परीक्षण र रोकथामका लागि विभिन्न कार्यक्रम लागू गरिएका कारण धेरै मानिस जोगिएका थिए । 

निपाह संक्रमणको लक्षण
निपाह भाइरसका कतिपय लक्षण कोभिड संक्रमणसँग मिल्दाजुल्दा छन् । संक्रमणपछि ज्वरो आउने, रिंगटा लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने र टन्सिलाइट्स जस्ता लक्षण देखिन्छन् । निपाह भाइरस रोकथामका लागि फलफूल राम्रोसँग पखालेर खाने, तरकारी राम्रोसँग पकाएर खाने, गाईवस्तुको गोठ र फार्म सफा राख्ने, मासु काट्दा वा पकाउँदा पन्जा, मास्कको प्रयोग गर्नुपर्ने चिकित्सकहरू बताउँछन् । यसबाहेक पानी उमालेर मात्र पिउने, साबुनपानीले हात धुने र भिडभाडमा मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ । 

नेपालमा आत्तिहाल्नुपर्ने अवस्था छैन : डा बास्तोला 

नेपालमा हालसम्म निपाह भाइरस संक्रमण नदेखिएकाले डराइहाल्ने अवस्था नरहेको बताउँछन्, डा. अनुप बास्तोला । उनी भन्छन्, ‘निपाह संक्रमण एक किसिमको चमेरोबाट मात्रै सर्छ । नेपालमा हालसम्म निपाह फैलाउने चमेरोसमेत भए÷नभएको यकिन छैन । अर्थात्, चमेरोबाट संक्रमणले प्रकोपको रूप लिएको कुनै अध्ययन छैन । भारतमा देखिएको संक्रमण नियन्त्रणको प्रयास भइरहेकाले तत्काल नेपालमा डराउनुपर्ने अवस्था छैन । तर, सावधानी भने अपनाउनुपर्छ ।’

डा. बास्तोलाका अनुसार यो भाइरस प्राकृतिक रूपमा फ्रुट ब्याट भन्ने चमेरोबाट सर्ने गर्छ । संक्रमित चमेरोबाट सुँगुर, गाई, गोरुजस्ता घरपालुवा जनावारमा र तिनबाट मानिसमा सर्ने गर्छ । संक्रमित पशुको सम्पर्कमा आएको फलफूलको सेवनबाट समेत संक्रमण फैलिन सक्छ । यसबाहेक संक्रमित व्यक्तिको दिशा–पिसाबको सम्पर्कबाट पनि भाइरस फैलिन्छ । 
 

सुझावित समाचार