मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २७ आइतबार ०६:४९:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

के हो निपाह भाइरस ?

भारतमा यसअघि सन् २०१८ मा १९ जनामा निपाह संक्रमण पुष्टि भएको थियो  त्यसवेला संक्रमितमध्ये १७ जनाको ज्यान गएको थियो 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २७ आइतबार ०६:४९:००

भारतको केरला राज्यमा गत आइतबार १२ वर्षीय एक बालकको निपाह भाइरस संक्रमणबाट मृत्यु भयो । कोरोना भाइरसबाट विश्वमै धेरै ज्यान गुमाउने राष्ट्रहरूको सूचीमा रहेको भारतमा निपाह भाइरसबाट बालकको मृत्यु हुँदा यहाँ अर्को सन्त्रास फैलिएको छ । 

भारतमा अन्य दुई स्वास्थ्यकर्मीमा पनि निपाह भाइरस पोजिटिभ देखिएको स्वास्थ्य अधिकारीहरूले पुष्टि गरेका छन् । घातक मानिएको यो भाइरस संक्रमण नियन्त्रणका लागि उक्त बालकको सम्पर्कमा आएका हरेक व्यक्तिको स्वास्थ्य परीक्षण भइरहेको भारतका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । निपाह भाइरसको संक्रमण दर उच्च भएका कारण विश्व स्वास्थ्य संगठनले पनि प्राथमिकताको सूचीमा राखेको छ । कोरोना महामारीकै बीचमा नयाँ भाइरस देखिनु थप चिन्ताजनक हुने विश्व स्वास्थ्य संगठनको भनाइ छ । 

यही कारण अन्य व्यक्तिमा संक्रमण फैलिनबाट रोक्न रोग नियन्त्रण केन्द्रका विज्ञहरूको समूहले प्रभावित क्षेत्रमा अनुसन्धान गरिरहेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यद्यपि, केरलाकी स्वास्थ्यमन्त्री बिरा जर्जले भने तत्काल डराउनुपर्ने अवस्था नरहेको तर सावधानी भने आवश्यक रहेको बताएकी छन् । 

निपाह भाइरस अर्थात् एनआइभी सन् १९९९ मा पहिलोपटक मलेसियामा सुंगुरपालक किसानहरूमा देखिएको थियो । सुंगुर र अन्य जीवबाट मानिसमा सरेको मानिने यो रोग तत्कालीन समयमा सुंगुर किसानहरूमा प्रकोपको रूपमा फैलिएको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार फल चमेरो, जसलाई फ्लाइङ फक्स पनि भन्ने गरिन्छ, लाई निपाह भाइरसको प्राकृतिक होस्ट मानिन्छ ।

निपाह भाइरस जनावरहरूको माध्यमबाट मानिसमा सर्ने गर्छ । तर, संक्रमण मुख्य रूपमा चमेरो वा सुँगुरबाट मानिसमा र मानिसबाट मानिसमा सर्न सक्छ । पेट्रोपोडाइ परिवारका यी चमेराहरू फलफूल मन पराउने खालका हुने गर्छन् । खासगरी, यो जातका चमेराहरू फलफूलको रूखमा बस्ने हुँदा फलफूलका माध्यमबाट मानिसमा सर्ने अध्ययनले देखाएको छ । घोडा, बिरालो र कुकुरसहित घरपालुवा जनावरहरूका माध्यमबाट पनि संक्रमण फैलिन सक्छ । तर, यो भाइरस सुँगुरहरूको बीचमा धेरै संक्रामक मानिन्छ, जसले भाइरसलाई मानिसमा सर्न सक्छ ।

 कसरी सर्छ ?
सामान्यतया तरल पदार्थ र सुँगुरको पिसाबबाट मानिसमा सर्न सक्ने सम्भावना अत्यधिक रहन्छ । यो घातक संक्रमण नजिकको मानव सम्पर्कका माध्यमबाट पनि प्रसारित हुन सक्छ, कोरोना भाइरसजस्तै एक संक्रमितका माध्यमबाट अर्कोमा सजिलै सर्न सक्ने भएकाले यसलाई विश्व स्वास्थ्य संगठनले घातक रोगको सूचीमा राखेको हो ।

भारतमा सन् २०१८ मा १९ जनामा देखिएको यो भाइरस संक्रमितमध्ये १७ जनाको ज्यान गएको थियो । भारतमा यसअघि सन् २०१९ मा पनि निपाह संक्रमण फैलिएको थियो, तर सम्पर्कमा आएका प्रत्येक व्यक्तिको परीक्षण र रोकथामका लागि विभिन्न कार्यक्रम लागू गरिएका कारण धेरै मानिस जोगिएका थिए । 

निपाह संक्रमणको लक्षण
निपाह भाइरसका कतिपय लक्षण कोभिड संक्रमणसँग मिल्दाजुल्दा छन् । संक्रमणपछि ज्वरो आउने, रिंगटा लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने र टन्सिलाइट्स जस्ता लक्षण देखिन्छन् । निपाह भाइरस रोकथामका लागि फलफूल राम्रोसँग पखालेर खाने, तरकारी राम्रोसँग पकाएर खाने, गाईवस्तुको गोठ र फार्म सफा राख्ने, मासु काट्दा वा पकाउँदा पन्जा, मास्कको प्रयोग गर्नुपर्ने चिकित्सकहरू बताउँछन् । यसबाहेक पानी उमालेर मात्र पिउने, साबुनपानीले हात धुने र भिडभाडमा मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ । 

नेपालमा आत्तिहाल्नुपर्ने अवस्था छैन : डा बास्तोला 

 

नेपालमा हालसम्म निपाह भाइरस संक्रमण नदेखिएकाले डराइहाल्ने अवस्था नरहेको बताउँछन्, डा. अनुप बास्तोला । उनी भन्छन्, ‘निपाह संक्रमण एक किसिमको चमेरोबाट मात्रै सर्छ । नेपालमा हालसम्म निपाह फैलाउने चमेरोसमेत भए÷नभएको यकिन छैन । अर्थात्, चमेरोबाट संक्रमणले प्रकोपको रूप लिएको कुनै अध्ययन छैन । भारतमा देखिएको संक्रमण नियन्त्रणको प्रयास भइरहेकाले तत्काल नेपालमा डराउनुपर्ने अवस्था छैन । तर, सावधानी भने अपनाउनुपर्छ ।’

डा. बास्तोलाका अनुसार यो भाइरस प्राकृतिक रूपमा फ्रुट ब्याट भन्ने चमेरोबाट सर्ने गर्छ । संक्रमित चमेरोबाट सुँगुर, गाई, गोरुजस्ता घरपालुवा जनावारमा र तिनबाट मानिसमा सर्ने गर्छ । संक्रमित पशुको सम्पर्कमा आएको फलफूलको सेवनबाट समेत संक्रमण फैलिन सक्छ । यसबाहेक संक्रमित व्यक्तिको दिशा–पिसाबको सम्पर्कबाट पनि भाइरस फैलिन्छ ।