१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ भदौ २६ शनिबार ०६:२३:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाललाई एकदिवसीय सिरिज : पपुवा न्युगिनीविरुद्ध रोहित र सन्दीप चम्के

Read Time : > 2 मिनेट
२०७८ भदौ २६ शनिबार ०६:२३:००

नेपालले पपुवा न्युगिनीविरुद्धको एकदिवसीय क्रिकेट प्रतियोगिताको सिरिज जितेको छ । नेपालले शुक्रबार पपुवा न्युगिनीलाई दोस्रो एकदिवसीय खेलमा एक सय ५१ रनको विशाल अन्तरले हराउँदै सिरिज २–० ले कब्जा जमाएको हो । एकदिवसीय खेलमा नेपालको यो जित अहिलेसम्मकै सबैभन्दा फराकिलो हो । यसअघि सन् २०१९ मा नेपालले युएईलाई एक सय ४५ रनले हराएको थियो । 

नेपालले पहिलो खेलमा पपुवा न्युगिनीमाथि दुई विकेटको कठिन जित निकालेको थियो । नेपालले पहिलोपटक डे–नाइट एकदिवसीय खेल खेलेको हो । आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेलेको हो । पपुवा न्युगिनीविरुद्ध दोस्रो खेलमा नेपालले सानदार जित निकाल्दा ब्याटिङतर्फ युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले अर्धशतक तथा बलिङमा सन्दीप लामिछानेले घातक बलिङको योगदान दिएका थिए । 

नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिलो ब्याटिङको निर्णय लिए । नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर दुई सय ३३ रनको योगफल बनायो । जसमा रोहितले महत्वपूर्ण ८६ रनको योगदान दिएका थिए । प्रत्युत्तरमा पपुवा न्युगिनीले सन्दीपको घातक बलिङ सामना गर्न नसक्दा १९.१ ओभरमा ८२ रनमै अलआउट भयो । पपुवा न्युगिनीको ब्याटिङमा ओपनर टोनी उराले सर्वाधिक १९ रन बनाए ।

उनले ३५ बलमा दुई चौका प्रहार गरेका थिए । यसैगरी, चार्लेस अमिनीले २५ बलमा १६ रन  तथा नोर्मान भानुआले १० बलमा १२ रन जोडे । यसबाहेक ६ ब्याट्सम्यानले दोहोरो रन नै बनाउन सकेनन् । दोस्रो एकदिवसीय खेलमा नेपालले तीन खेलाडी परिवर्तन गर्‍यो । नियमित खेलाडी शरद भेसवाकर, आरिफ सेख र पवन सरार्फ बेन्चमै रहे । उनीहरूलाई करण केसी, सुशान भारी र विनोद भण्डारीले विस्थापित गरे । 

करणको आक्रामक ब्याटिङ
नेपालले सोमपाल कामीलाई गुमाउँदा ४०.५ ओभरमा १६६–६ को स्थितिमा थियो । आठौँ क्रममा पिन्च हिटर करण केसी आए । क्रिजको अर्कोतिर जमेका ब्याट्सम्यान रोहित थिए । दुवैले सातौँ विकेटका लागि आक्रामक रूपमा ६६ रनको साझेदारी गरे । यसमा बढीजसो योगदान करणकै थियो ।

उनले २६ बलको सामना गरी दुई चौका र चार छक्काको सहयोगमा ४२ रनको योगदान दिँदै नेपालको स्कोर दुई सयमाथि पुर्‍याए । करण ४८.३ ओभरमा सोपरद्वारा क्याच आउट भए । पहिलो खेलमा करण टोलीबाट बाहिरिए । नेपालले अन्तिम चार विकेट केवल एक रनको अन्तरमा गुमायो । पपुवा न्युगिनीको बलिङमा काबुआ मोरियाले २६ रन खर्चेर दुई विकेट लिए । चन्द सोपरले ४५ रन खर्चेर सर्वाधिक तीन विकेट हात पारे । 

सन्दीपले लिए ६ विकेट
लगातार दोस्रो खेलमा पनि म्यान अफ दी म्याच बनेका सन्दीपले सर्वाधिक ६ विकेट लिए । उनले ५.१ ओभरमा ११ रन खर्चे । यस क्रममा उनले २.१ इकोनोमी रनरेटमा बलिङ गरे । सन्दीपले ९.४ ओभरमा उराको पहिलो विकेट लिए । पपुवा न्युगिनीका ब्याट्सम्यान नेपाली स्पिनरसँग खेल्न नसक्ने भएपछि कप्तान मल्लले सन्दीपलाई निरन्तर बलिङ गराए ।

सन्दीपले कप्तान मल्लको विश्वास नतोडी पपुवा न्युगिनीका चौथोदेखि आठौँ क्रमका ब्याट्सम्यानलाई सन्दीपले नै क्रिजबाट हटाए । सन्दीपकै घातक बलिङका कारण पपुवा न्युगिनी ४४–४ को अवस्थाबाट ८२–१० मै अलआउट भयो । 

 रोहितको दोस्रो अर्धशतक
चौथो क्रममा ब्याटिङ गर्न आएका आक्रामक ब्याट्सम्यान रोहितले महत्वपूर्ण ८६ रनको योगदान दिएका थिए । उनको यो दोस्रो एकदिवसीय अर्धशतक हो । रोहितले एक सय २३ बलमा दुई चौका र तीन छक्का प्रहार गरेका थिए । रोहितले दोस्रो एकदिवसीय अर्धशतक ७९ बलमा पूरा गरेका हुन् । खेलमा रोहितले एक जीवनदान पाए । व्यक्तिगत ३७ रनमा खेलिरहँदा उनी मिडअनमा टोनीबाट क्याच ड्रप भए । 

पहिलो खेलमा नेपाललाई संघर्षपूर्ण दुई विकेटको जित निकाल्दा रोहितले सर्वाधिक महत्वपूर्ण ४१ रनको इनिङ्स खेलेका थिए । रोहितले सन् २०१९ मा युएईविरुद्ध ५५ रनको इनिङ्स खेल्दै कम उमेरमा एकदिवसीय खेलमा अर्धशतक पूरा गर्ने ब्याट्सम्यान बनेका थिए । गत वर्ष कुशल मल्लले रोहितका नाममा रहेको सो रेकर्ड अमेरिकाविरुद्ध तोडेका थिए । 

 ज्ञानेन्द्र र रोहितबीच कीर्तिमानी साझेदारी
अल अमरेत क्रिकेट मैदान ओमानमा नेपालले सुरुवाती ब्याटिङ गर्दा सोचेजस्तो भएन । दुवै ओनपर आसिफ र कुशल भुर्तेलको विकेट गुमाउँदा नेपाल ९–२ को कमजोर अवस्थामा थियो । यसवेला ३.५ इनिङ्स मात्र चलिरहेको थियो । दयनीय स्थितिमा रहेको नेपालको ब्याटिङ इनिङ्सलाई मल्ल र रोहितले सम्हाले । दुवैले २४.१ ओभरसम्म तेस्रो विकेटका लागि साझेदारी गरे । नेपालले तेस्रो विकेटका रूपमा कप्तान मल्ललाई गुमाएको थियो । मल्ल करिअरकै तेस्रो एकदिवसीय अर्धशतक पूरा गर्न पाँच रनले चुके । 

मल्ल र रोहितले ८९ रनको साझेदारी गर्दै नेपाललाई ९८–३ को सन्तुलित अवस्थामा राखे । कप्तान मल्लले ७० बलमा तीन चौका र दुई छक्काको सहयोगमा ४५ रनको योगदान दिए । नेपालको एकदिवसीय खेल इतिहासमा रोहित र मल्लबीच भएको साझेदारी कुनै पनि विकेटका लागि उच्च साझेदारी हो । गत वर्ष कुशल मल्ल र विनोद भण्डारीले अमेरिकाविरुद्ध छैटौँ विकेटका लागि सर्वाधिक ८४ रनको साझेदारी कीर्तिमान बनाएका थिए ।