मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १७:o७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

फोहोर व्यवस्थापनमा फेरि समस्या : सिसडोलतर्फ बाटो बिग्रियो, बन्चरेडाँडामा सहरी विकासले फाल्न दिएन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:o७:oo

सहरी विकास मन्त्रालयले नयाँ ल्यान्डफिल्ड साइट बन्चरेडाँडामा फोहोर फाल्न नदिएपछि उपत्यकाको फोहोर व्यवस्थापनमा फेरि समस्या थपिएको छ । भदौ १८ गतेदेखि नै काठमाडौं महानगरपालिकालाई बन्चरेडाँडा हस्तान्तरण गर्ने बताएको सहरी विकास मन्त्रालयले हालसम्म पनि फोहोर फाल्न नदिएको महानगरले जनाएको छ।

लामो समयदेखि फोहोर फाल्दै आएको सिसडोल भरिएपछि उपत्यकाको फोहोर व्यवस्थापन गर्न समस्या हुँदै आएको छ । हाल सिसडोलतर्फको बाटो बिग्रिएको छ । जसका कारण फोहोर बोकेका ट्यांकर गुड्न सकेका छैनन् । पानी परेर बाटो बिग्रिएकाले फोहोर उठ्न नसकेको महानगरले जनाएको छ । उपत्यकाका अधिकांश ठाउँमा तीन दिनदेखि फोहोर उठेको छैन । अहिले गौशाला, सिनामंगल, कोटेश्वर, शान्तिनगर, तीनकुने, नयाँ बानेश्वर, लगनखेल, सुन्धारा, बालाजु, नयाँ बसपार्कलगायतका क्षेत्रमा फोहोर उठेको छैन । सडकको आसपासमा फोहोर थुपारिएको छ ।
 
सरकारी निकायको गैरजिम्मेवारीले उपत्यकामा फोहोर नउठ्ने समस्या बल्झिरहन्छ । दिनहुँ उठ्नुपर्ने फोहोर पछिल्लो समय महिनौंँसम्म पनि उठ्न छाडेको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले सहरी विकास मन्त्रालयले नयाँ ठाउँमा फोहोर फाल्न नदिएपछि समस्या भएको बताए । उनले भने, ‘सिसडोलतर्फ बाटो बिग्रिएको छ । बन्चरेडाँडामा सहरी विकास मन्त्रालयले फाल्ने अनुमति दिएन ।’

उपत्यकामा दैनिक एक हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुन्छ । फोहोर बोकेर गएका गाडी सिसडोलमै फस्न थालेपछि उपत्यकाको फोहोर व्यवस्थापनमा फेरि समस्या भएको    हो । महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले सहरी विकास मन्त्रालयले झुक्याएको बताए । ‘सिसडोलमा फोहोर फाल्न निकै कठिन छ । पानी परेपछि गाडी फस्छन् । बन्चरेडाँडामा फोहोर फाल्न दिने भनेर सहरी विकासले झुक्यायो,’ उनले भने ।

सहरी विकास मन्त्रालयका उपमहानिर्देशक कुमार घिमिरेले महानगरपालिकालाई फोहोर फाल्ने अनुमतिसहितको पत्र शुक्रबार पठाएको बताए । हामीले बन्चरेडाँडामा फोहोर फाल्नुस् भनेका छौँ । तर, उहाँहरूले फाल्नुभएको छैन,’ उनले भने, ‘यसबारेमा हामी थप छलफल गर्छौँ ।’