१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
सुरेश आलेमगर
२o८१ जेठ ३ बिहीबार १o:१४:oo
Read Time : > 5 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

राष्ट्र के हो, के होइन ?

Read Time : > 5 मिनेट
सुरेश आलेमगर
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:१४:oo

हिजोआज फेरि ‘राष्ट्र’बारे बहस चलिरहेको छ, यद्यपि योे अनावश्यक र आधारहीन बहस हो । राष्ट्र शब्दबारे निकै मान्छेमा भ्रम, अन्योल, अज्ञानता एवं पूर्वाग्रह पाइयो । कतिपयले यसलाई निहित स्वार्थमा आफ्नो अनुकूलताअनुसार व्याख्या, विश्लेषण गर्ने गरेका छन् । राष्ट्र शब्दलाई राज्य र देश जनाउने अर्थमा प्रयोग गर्ने गरेकाले पनि भ्रम पैदा हुने गरेको छ ।

नेपाली बृहत् शब्दकोशमा राष्ट्रको अर्थ ‘जनता, सरकार तथा सार्वभौमसत्तासम्पन्न कुनै देश, मुलुक’, ‘देशका एकै एउटै संस्कृति र अर्थव्यवस्थामा आबद्ध समस्त नागरिक, जनता’ रहेको छ । अक्सफोर्ड एड्भान्स्ड लर्नर्स डिक्सनरीले राष्ट्रको अर्थ ‘साझा भाषा, संस्कृति र इतिहास भएका मानिसको समूह जसलाई एउटा देश मानिन्छ र जो एउटा सरकारअन्तर्गत निश्चित भूगोलमा बसोवास गर्छन्’, ‘एउटा मुलुकका सम्पूर्ण जनता’ लगाइएको छ । 

राष्ट्र शब्दको उत्पत्ति ल्याटिन भाषाको नेसियोबाट भएको देखिन्छ । यसको अर्थ हुन्छ– जन्म । मूलतः राष्ट्रको अर्थ मानव समुदाय वा सांस्कृतिक तथा जातीय एकाइ हो, जसको साझा भाषा, संस्कृति, इतिहास, आर्थिक जीवन पद्धति र मनोविज्ञानका साथै साझा भूगोल पनि हुन्छ, तर सार्वभौमसत्ता, सरकार, सेना, प्रहरी आदि हुँदैनन् । जबकि, राज्य विशेषतः एउटा राजनीतिक, प्रशासनिक र भूराजनीतिक एकाइ हो, जहाँ जनताका साथै राज्यसत्ता, सरकार, सेना, प्रहरी, अड्डा–अदालत पनि हुन्छन् । त्यसैगरी, देश मूलतः भूगोल हो, जहाँ मानव समुदाय वा राज्य त हुन्छन् नै, सार्वभौमसत्ता पनि हुन्छ ।

 वास्तवमा राष्ट्रको अवधारणाको सुरुवात पश्चिमी देशहरूबाट भयो । त्यहाँ राष्ट्र (नेसन) वा समुदाय (त्यहाँ जाति भन्ने हुँदैन) वा राज्य जे भने पनि एउटै बुझिन्थ्यो । उदाहरणार्थ, स्कटल्यान्ड भन्दा स्कटवासी बुझिन्थ्यो, स्कटवासी भन्दा स्कटल्यान्ड बुझिन्थ्यो, किनकि त्यहाँ साझा धर्म, भाषा, संस्कृति, समान जीवन पद्धति भएको एउटै समुदाय मात्र बसोवास गथ्र्यो । अर्थात्, उक्त देश एकल राष्ट्रिय देश थियो । तर, नेपाल, भारतजस्ता देशको सन्दर्भ केही फरक छ । नेपाल भन्दा नेपाली, नेपाली भन्दा नेपाल र भारत भन्दा भारतीय र भारतीय भन्दा भारत त यहाँ पनि बुझिन्छ, तर यहाँभित्रको कुनै एउटा मात्र जाति वा समुदाय वा राष्ट्र भन्ने चाहिँ बुझिन्न, किनकि नेपाली र भारतीय कुनै एउटा जाति वा समुदायविशेषको नाम होइन । यहाँका सबै जाति वा समुदायको सामूहिक एवं समुच्च नाम हो । अर्को शब्दमा, नेपाली भन्नाले नेपालको नागरिक वा नागरिकता र भारतीयले भारतको नागरिक वा नागरिकता बुझिन्छ । यथार्थ पनि यही हो । तर, आजभोलि स्कटल्यान्ड, विशेषगरी पश्चिमा धनी देशहरू पनि आप्रवासन र रोजगारी एवं अवसरहरूको उपलब्धताले गर्दा बहुराष्ट्रिय भइसकेका छन् । 

सर्वविदितै छ– आजभन्दा हजारौँ वर्षअघि मानव सभ्यताको सुरुवात हुँदा मान्छेसँग कपडा, घर, खाना केही थिएन । ज्ञान, चेतना, कला, सीप पनि थिएन । खेतीपाती, पशुपालन केही जानेकै थिएन । देश, सरकार, राज्य, सेना, प्रहरी, अड्डा–अदालतजस्ता निकायहरू नै थिएनन् । धनी÷गरिब र वर्गहरू हुने कुरै थिएन ।
समयक्रमसँगै मान्छेलाई थुप्रै चिजको आवश्यकता पर्दै गयो । ज्ञान, चेतना पनि पलाउँदै गयो । मान्छे हावापानीबाट बच्न सुरु–सुरुमा रूखमुनि र ओडारहरूमा बसे । पछि घर बनाउन सिके । पहिले कन्दमुल खाएर पेट भरे, पछि खेतीपाती र पशुपालन गर्न सिके ।

पहिले रूखका हाँगा र पातपतिंगरहरूले जिउ छोप्थे, पछि कपडा बनाउन सिके । विवाह, परिवार तथा समाजजस्ता संस्थाहरू निर्माण भए । निजी सम्पत्ति, राज्यसत्ता, सरकार, सेना, प्रहरी, अड्डा–अदालतजस्ता संगठनहरूको विकास भयो । परिवार, समाजबाट विकसित हुँदै गण, कबिला बने र पछि जाति÷राष्ट्र बने । भूगोलको विभाजन भयो, देशहरू बने । अंग्रेजी  शब्द नेसनको अर्थ नेपालीमा जाति लगाउन सकिन्छ, किनकि राष्ट्रका जे–जति विशेषता हुन्छन् भनिन्छ, ती सबै नेपालका जातिहरूमा पाइन्छ । सुरु–सुरुमा अंग्रेजी भाषाबाट नेपालीमा अनुवाद गर्नेहरूले नेसनको अर्थ राज्य वा देश (स्टेट वा कन्ट्री) लेखिदिए । फलतः त्यही स्थापित हुँदै आयो, अन्योल पनि त्यहीँबाटै भयो । बंगाली भाषामा त राष्ट्रको अर्थ जाति नै लगाइन्छ । जस्तै, बंगलादेशको व्यवस्थापिकाको माथिल्लो सदन नेसनल एसेम्बलीलाई ‘जातीय सभा’ भनिन्छ । 

राष्ट्र–राज्यको आधुनिक प्रणालीको आधार झन्डै ३७५ वर्षअघिको वेस्टफेलिया सन्धिले तयार पारेको हो । उक्त सन्धिले क्याथोलिक र प्रोटेस्टेन्टका बीचमा सयौँ वर्षदेखि चलेको धर्मयुद्ध (क्रुसेड)को अन्त्य गरेको थियो, जसमा लगभग ८० लाख मान्छेको मृत्यु भएको अनुमान छ । वेस्टफेलियाको सन्धिपछि स्विट्जरल्यान्ड अस्ट्रियाबाट र नेदरल्यान्ड स्पेनबाट स्वतन्त्र भएका थिए । स्विडेनले बाल्टिकमाथि नियन्त्रण हासिल गरेको थियो । उक्त सन्धिमा रोमन साम्राज्यका सम्राट फर्डिनान्ड–तृतीय, स्पेनिस राजतन्त्र, फ्रान्स तथा स्विडेनका अधिराज्य र संयुक्त प्रान्तहरू (नेदरल्यान्ड) र तिनका सहयोगीहरूले भाग लिएका थिए । यो सन्धिको मूल ध्येय अर्कै भए पनि सोही दौरान राज्यका आधार र स्वरूपबारे पनि छलफल भई राष्ट्र–राज्यका बारेमा सामान्य सहमति भएको थियो ।

अंग्रेजी शब्द नेसनको अर्थ नेपालीमा जाति लगाउन सकिन्छ, किनकि राष्ट्रका जे–जति विशेषता हुन्छन् भनिन्छ, ती सबै नेपालका जातिहरूमा पाइन्छ । सुरु–सुरुमा अंग्रेजी भाषाबाट नेपालीमा अनुवाद गर्नेहरूले नेसनको अर्थ राज्य वा देश स्टेट वा कन्ट्री लेखिदिए । फलतः त्यही स्थापित हुँदै आयो, अन्योल पनि त्यहीँबाटै भयो । 

 त्यसैगरी, भर्सेल्स सन्धि (१९१९) ले राष्ट्र–राज्यको अवधारणालाई पुनः स्वीकृत गर्‍यो । पेरिस सन्धि (१९४७) ले राष्ट्र–राज्यको अवधारणालाई पुनः पुष्टि ग¥यो, तर पछि समाज बहुराष्ट्रिय बन्दै गएपछि बहुराष्ट्र–राज्यको विकास हुँदै गयो । तर, सन् १९४५ मा संयुक्त राष्ट्रसंघको स्थापना हुँदा भने ‘एक राष्ट्र, एक राज्य’को मोडेललाई आधार बनाइयो । यो मोडेल एकल जातीय बसोवास भएको देशको हकमा त ठीकै हुन्छ, तर विश्वका नेपाललगायत थुप्रै देशहरू, जहाँ बहुजातीय बसोवास छ, त्यस्ता देशमा भने यो मोडेल मिल्दैन । त्यसैले अहिले संयुक्त राष्ट्रसंघको नामै पनि फेर्नुपर्ने आवश्यकता देखिएको छ ।अन्तमा, माथिको छलफलबाट के स्पष्ट हुन्छ भने राष्ट्रको अर्थ सारतः र मूलतः साझा भाषा, संस्कृति, भूगोल, आर्थिक जीवन पद्धति भएको ठूलो मानव समुदाय नै हो, जसलाई नेपालको सन्दर्भमा (भारतको सन्दर्भमा समेत) ‘जाति’ भन्न सकिन्छ । तर, हिन्दू समाजमा वंश परम्परा, संस्कार, धर्म, कर्म आदिका आधारमा छुट्टिने बाहुन, क्षेत्री आदि ‘जात’ होइन कि ‘राष्ट्रियता र भौगोलिक सीमाका आधारमा छुट्टिने मनुष्य जातिको विभाग’का रूपमा भनिने जातिचाहिँ ।

यो अर्थ, व्याख्या र परिभाषालाई आधार बनाएर हेर्दा नेपालमा स्पष्टतः धेरै समुदाय वा जाति वा राष्ट्रहरू बसोवास गर्छन् । त्यसैले नेपाल एउटा बहुजातीय वा बहुराष्ट्रिय÷बहुलराष्ट्रिय देश हो, एकल जातीय वा राष्ट्रिय देश बिल्कुलै हैन । तर, नेपाल निःसन्देह एक राज्य र एक देश हो, बहुराज्य र बहुदेश भने हैन । त्यसैले नेपाल एउटा राष्ट्र हो (नेपाल इज अ नेसन) भन्नु गलत हुन्छ । यस परिप्रेक्षमा ‘नेपाल बहुलराष्ट्रिय राज्य हो’ भनेर ज–जसले भने पनि त्यो सही हो, तर उक्त व्यक्तिको नियत र निहितार्थ अर्कै छ भने त्यो बेग्लै कुरो भयो ।

यो राष्ट्र शब्दको बारेमा दोस्रो संविधानसभाद्वारा निर्मित वर्तमान नेपालको संविधानले नै भ्रमपूर्ण, विकृत र पूर्वाग्रही परिभाषा प्रस्तुत गरेको छ । संविधानको धारा–३ मा राष्ट्रको परिभाषा दिँदै लेखिएको छ, ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।’ यो परिभाषामा विभिन्न विविधतालाई स्विकारेर पनि राष्ट्रिय विविधतालाई अस्वीकार गरिएको छ ।

राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डताजस्ता गम्भीर विषयलाई यसैमा छ्यासमिस पार्दै सबै राष्ट्रहरूलाई जबर्जस्ती एउटै राष्ट्र घोषणा गर्ने दुष्प्रयास गरिएको छ । यो परिभाषा पढ्दा कस्तो लाग्छ भने संविधाननिर्माताहरूलाई राष्ट्र शब्दको अर्थ नै थाहा भएन वा निर्दलीय तानाशाही पञ्चायती व्यवस्थाको धङधङी यिनीहरूमा अद्यापि कायमै छ र सबै विविधतालाई ध्वंस गरेर नेपाललाई एकल राष्ट्रिय मुुलुक बनाउने चाहना देखिन्छ । यदि यो अज्ञानता हो भने त्यो क्षम्य छ, तर एकल राष्ट्रिय देश बनाउने नियत हो भने यसले अनिवार्यतः जातीय युद्ध निम्त्याउनेछ । त्यसैगरी, बहुल राष्ट्रिय भनेर कसैले नेपाललाई विखण्डन गर्न चाहेको हो भने त्यो पनि कसैलाई स्वीकार्य छैन ।

जुन जाति वा समुदायको जुन भाषा बोल्ने भए पनि, जुन धर्म र संस्कृति मान्ने भए पनि र जुन भूगोलमा बस्ने भए पनि आफ्नो देश नेपालको माया नगर्ने को होला ? आफ्नो देशको राष्ट्रिय स्वतन्त्रता एवं भौगोलिक अखण्डताप्रति आस्थावान् कुन नेपाली नहोला ? सबै नेपाली जनता नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति आस्थावान् एवं प्रतिबद्ध छन् । सम्पूर्ण नेपाली जनताले त्यस्तो देश विखण्डन गर्ने तत्वका विरुद्ध डटेर मुकाबिला गर्नेछन् ।

 राष्ट्रसँग जोडिएर आउने शब्दहरू ‘राष्ट्रिय’ र ‘राष्ट्रियता’ले भने केही भ्रम हुन सक्छ । राष्ट्रलाई जाति मान्दा राष्ट्रिय भनेको जातीय र राष्ट्रियता भनेको जातीयता हुन्छ । तर, राष्ट्रिय शब्द नेपालभर अथवा देशैभर वा केन्द्रीय वा संघीय भन्ने अर्थमा र राष्ट्रियतालाई देशको नागरिकताको अर्थमा पनि प्रयोग गरिएको हुन्छ, र यही नै सही पनि हो । अर्को तथ्य पनि सबैले जान्न जरुरी छ– भाषामा कतिपय एउटै शब्दका पनि धेरै अर्थ हुन्छन् । बहु अर्थ दिने शब्दहरूको अर्थ सन्दर्भ र स्थितिअनुसार लगाउने र बुझ्नुपर्छ ।

नेसनालिटी भनिरहँदा त्यसको अर्थ निःसन्देह नागरिकता हो । कुनै व्यक्ति नेपाल देशको नागरिक हो भने उसको नागरिकता नेपाली नै हुन्छ, तर जाति वा समुदाय वा राष्ट्रियता भने मगर, गुरुङ, राई वा लिम्बू वा नेवार, तामाङ, थारू वा बाहुन, क्षेत्री, दलित वा मधेसी होला । भारतको नागरिकको नागरिकता त भारतीय नै हो, तर जाति वा समुदाय वा राष्ट्रियता भारतीय हुँदैन, त्यो ब्राह्मण, क्षेत्री, राजपुत, तमिल, दलित वा पञ्जाबी, बंगाली वा मुस्लिम होला । संयुक्त राज्य अमेरिकाको नागरिकको नागरिकता अमेरिकी होला, तर समुदाय वा राष्ट्रियता भने नेटिभ अमेरिकन वा अफ्रिकन–अमेरिकन वा एसियन–अमेरिकन वा त्यस्तै केही होला । एउटा देशको नागरिकता एउटै हुन्छ, धेरै हुँदैन, तर जातीयता वा राष्ट्रियता भने धेरै हुन सक्छन् ।

ad
ad