Skip This
अब ‘नेपाल सुपर लिग भलिबल’ प्रतियोगिता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २३ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २३ बुधबार o६:४७:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अब ‘नेपाल सुपर लिग भलिबल’ प्रतियोगिता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २३ बुधबार o६:४७:oo

प्रतियोगिता १७ नोभेम्बरदेखि १७ डिसेम्बर २०२१ सम्म सञ्चालन हुने । लिगमा पुरुष तथा महिलाका फरक–फरक इभेन्ट समावेश,  प्रतियोगितामा सातै प्रदेशका टोली सहभागी रहने ।

नेपाली खेलकुद क्षेत्रमा क्रिकेट, फुटबलपछि अब राष्ट्रिय खेल भलिबलको फ्रेन्चाइज लिग प्रतियोगिता हुने भएको छ । नेपाल स्पोर्टस् म्यानेजमेन्ट एन्ड इभेन्ट्स प्रालिको आयोजनामा नेपाल सुपर लिग भलिबल फ्रेन्चाइज हुन लागेको हो ।प्रतियोगिता १७ नोभेम्बरदेखि १७ डिसेम्बर २०२१ सम्म सञ्चालन हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । लिगमा पुरुष तथा महिलाका फरक–फरक इभेन्ट समावेश छन् । प्रतियोगितामा सातै प्रदेशका टोली सहभागी रहनेछन् । नेपाल भलिबल संघ र नेपाल स्पोर्टस् म्यानेजमेन्ट एन्ड इभेन्ट्स प्रालिबीच १० वर्षको सम्झौता भएको छ । इभेन्ट्स प्रालिबाट अध्यक्ष आश्रेयता कार्की चौधरी र संघबाट उपाध्यक्ष निरोज मास्केले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

यही इभेन्ट्स म्यानेजमेन्टले गत वैशाखमा नेपाल सुपर फुटबल लिग सफलतापूर्वक आयोजना गरेको थियो । सोही प्रतियोगिताबाट हौसिएर इभेन्ट्स म्यानेजमेन्टले भलिबलको लिग गर्ने अवधारणा विकास गरेको हो । यसका लागि इभेन्ट्स म्यानेजमेन्टले संघसँग विभिन्न चरणमा छलफल गरेको थियो । दुई पक्षबीचको सम्झौतासँगै स्पोर्टस् म्यानेजमेन्टले आउँदो दश वर्षसम्म पुरुष तथा महिला फ्रेन्चाइज लिग गर्नेछ । 

नेपाल सुपर लिग (एनएसएल) भलिबलको नामले लिगको आयोजना हुने जनाइएको छ । पहिलो संस्करणपछि आयोजकले दोस्रो संस्करण होम एन्ड अवे अवधारणाअनुरूप प्रतियोगिता गर्ने संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए । ‘दोस्रो संस्करणबाट होम एन्ड अवेको आधारमा विभिन्न सहरमा प्रतियोगिता हुनेछ,’ उनले भने । 

उनका अनुसार लिगमा सातै प्रदेशका महिला र पुरुषमा समान सात टोलीको सहभागिता रहनेछ । जसमा मार्की खेलाडी र कप्तान हुनेछन् । प्रतियोगितामा खेलाडीको स्तरअनुसार क, ख, ग र घ गरी निर्धारण हुने चन्दले बताए । ‘हामी प्रतियोगितालाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने उद्देश्यले खेलाडीका अनुभव, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रदर्शनका आधारमा वर्गीकरण गर्नेछौँ,’ उनले भने ।

 लिगमा संघको प्राविधिक सहयोग मात्रै
नेपाल सुपर लिग भलिबलमा संघले प्राविधिक सहयोग गर्नेछ । प्रतियोगिताको सबै व्यवस्थापन जिम्मेवारी इभेन्ट्स म्यानेजमेन्टले लिनेछ । आयोजकले प्रतियोगिताबाट आम्दानी भएको ३० प्रतिशत नाफा संघलाई सहयोग गर्ने जनाएको छ । सम्झौताअनुसार स्पोर्टस् म्यानेजमेन्टले संघले आयोजना गर्ने महिला तथा पुरुष एनभिए क्लब च्याम्पियनसिपमा पनि सहयोग गर्नेछ । 

स्पोर्टस् म्यानेजमेन्टकी अध्यक्ष चौधरीले लिगले युवा तथा उत्कृष्ट खेलाडी उत्पादन हुने अपेक्षा राखेकी छन् । ‘मलाई विश्वास छ, पहिलोपटक आयोजना हुन गइरहेको भलिबल लिगले युवा खेलाडीहरू मात्र उत्पादन गर्दैन, यसले उत्कृष्ट खेलाडीसमेत जन्माउनेछ,’ चौधरीले भनिन्, ‘यो प्रतियोगिता भलिबलको विकासमा एउटा कोसेढुंगा साबित हुनेछ ।’ 

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले अवस्था राम्रो हुँदै गए भलिबल लिग दर्शकसहित हुने जानकारी दिएका छन् । ‘त्यसवेलाको अवस्था कस्तो हुन्छ, हेर्नुपर्छ, यदि कोरोना संक्रमण कम हुँदै गए हामी दर्शकसहितको नेपाल सुपर लिग भलिबल प्रतियोगिता आयोजना गर्छौं,’ सदस्यसचिव सिलवालले भने, ‘दर्शक हुनु र नहुनुमा धेरै असर पर्छ ।’

यसैगरी, संघकी उपाध्यक्ष मास्केले प्रतियोगितापछि नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा उपलब्धि हासिल गर्न सहयोग गर्ने विश्वास व्यक्त गरिन् । ‘प्रतियोगिताले भलिबल खेलको विकास र विस्तारका लागि व्यवसायीकरण गर्ने, भलिबल खेलले फड्को मारेर अन्तर्राष्ट्रिय रूपमा उपलब्धि हासिल गर्ने अपेक्षा छ,’ उनले भनिन्, ‘यसले खेलको पूर्वाधार विकास र खेलाडी उत्पादनमा सहयोग पुग्नेछ ।’