१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १२ शनिबार
  • Saturday, 25 May, 2024
मेरियम अल–हलाक
२o८१ जेठ १२ शनिबार १९:o९:oo
Read Time : > 2 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

बेपत्ता पारिएका सिरियालीहरूको व्यथा 

Read Time : > 2 मिनेट
मेरियम अल–हलाक
नयाँ पत्रिका
२o८१ जेठ १२ शनिबार १९:o९:oo

बेपत्ता पारिएकाहरूको परिवार निकै कठिन परिस्थितिसँग जुध्नुपरेको हुन्छ। ती कठिन परिस्थितिहरूमध्ये एक हो– पर्खाइ। कैयौँ वर्षदेखि हामीहरू हाम्रा आफन्तको नियतिबारे, न्याय र जवाफदेहिताबारे उत्तरको पर्खाइमा छौँ। सप्ताहान्तको दौरान मैले मेरा अभियन्ता साथीहरू र सिरियाली शासन र सशस्त्र समूहहरूद्वारा पक्राउ गरिएका वा बेपत्ता पारिएकाहरूको परिवारहरूसँग भेटघाट गरेँ। हामीले हाम्रा प्रियजनहरूका बारेमा खोजी गर्न सरकारलाई आह्वान गर्दै मध्यबर्लिनको बेबेलप्लात्ज स्क्वायरको कबल्समा सयौँ ल्यान्डलाइन टेलिफोनहरू राख्यौँ। 

बसर अल असदको शासनविरुद्ध शान्तिपूर्ण रूपमा प्रदर्शन गर्ने दशौँ हजारहरूमध्ये मेरो छोरा अह्याम घजुल पनि एक थियो। ऊ मेरो कान्छो छोरा थियो र मेरो सबैभन्दा नजिक थियो। उसको ठूलो दाइले विवाह गरेर बसाइँ सरेर गयो। मेरो श्रीमान् सन् २०११ को अन्तिममा बिते। त्यसपछि अह्याम र म मात्रै घरमा भयौँ।  क्रान्तिभन्दा अघिका किशोरावस्थाका वर्षहरूमा उसले पूर्वकैदीहरूले लेखेका कथाहरू कम्प्युटरको डिस्कमा हालेर मलाई ल्याइदिने गर्थ्यो। ती कथाहरू सिरियामा प्रतिबन्धित थिए, तर आह्याम चाहन्थ्यो कि बसर अल असदको बन्दीगृहमा राजनीतिक बन्दी हुनुको वास्तविकता मैल जानुँ।  क्रान्तिको सुरुमा उसले दन्त चिकित्सामा स्नातकोत्तर गरिरहेको थियो। उसले दमास्कसमा भएका प्रदर्शनहरूमा भाग लियो। ऊ अभिव्यक्ति स्वतन्त्रता रक्षाका खातिर आन्दोलनमा जोडिएको थियो। प्रदर्शनहरूमा, नाराबाजीहरूमा र स्वतन्त्रताको आह्वानमा सहभागी हुन पाएकोमा गर्व गर्थ्यो। 
ऊ र उसका केही साथीहरूलाई वायुसेनाको खुफिया निर्देशनालयले गिरफ्तार गर्‍यो। गिरफ्तारपछि उसलाई कुख्यात चौथो डिभिजन शाखामा लगियो र बारम्बार प्रताडना दिइयो। ऊसँगै भित्र रहेका साथीहरू त्यत्रो यातनापछि पनि उसलाई जिउँदै देखेर चकित पर्थे। उसका घाउहरू निकै संवेदनशील थिए तैपनि ऊ नथाकुन्जेलसम्म मुस्कुराउने कोसिस गर्थ्यो। तिनीहरूले उसलाई मिर्गौलामा गम्भीर प्रकारको रक्तस्राबसहित तीन महिनापछि छाडिदिए। 

जब ऊ ठीक भयो, ऊ आफ्नो अध्ययनमा फर्कियो र बेरुतमा अभियान सञ्चालन गर्ने कार्यशालामा भाग लिन सुरु गर्‍यो।  घर फर्किनभन्दा अघिल्लो रात उसले बेरुतको समुद्री तटबाट आफ्नो जीवनको सबैभन्दा उत्तम रातको बारेमा बताउन मलाई सम्पर्क गर्‍याे । ‘आमा, म हजुरलाई यसबारेमा घर आएपछि बताउनेछु,’ उसले भनेको थियो। म त्यो रातको बारेमा सुन्नका लागि अझै पर्खिरहेको छु। जब ऊ सन् २०१२ को नोभेम्बर ५ मा बेरुतबाट घर फर्कियो, तब विश्वविद्यालयमा काम गर्न गयो, तर ऊ त्यहीँ पक्राउ पर्‍याे। तिनीहरूले उसलाई यातना दिने सामानहरूले भरिएको विश्वविद्यालयको एउटा कोठामा लगे।  तिनीहरूले उसको शरीरभरि निकै कठोर रूपले पिटेको कुरा ऊसँगै पक्राउ परेको उसको साथीले मलाई बतायो। जब तिनीहरूले उसलाई टाउकोमा हाने, आह्यमले होस गुमायो र केही दिनपछि उसको मृत्यु भयो। उसको साथीले बताएअनुसार तिनीहरूले उसको निधारमा नम्बरसहितको एउटा सेतो पान्नाको टुक्रा टाँसे। 

सिरियाली परिवारहरू बसर अल असदको शासनद्वारा बेपत्ता पारिएका आफन्तहरूबारे जानकारी पाउन निरन्तर संघर्षरत छन्। 

उसलाई मारिएको तीन महिनापछि मेरो छोराको मृत्युको खबर मैले थाहा पाएँ। हामीले शोक मनाउँदै साथीहरूको श्रद्धासुमन स्वीकार गर्‍यौँ। तर, एक दिन उसलाई सम्झिने दिनमा एउटा सरकारी अधिकारी आएर आह्यम जिउँदै भएको बतायो। उसले सबै विवरण मलाई दियो। यो मलाई आफैँमा विश्वास गर्न र आशा राख्नका लागि पर्याप्त थियो। आफूले सकेको जति ठाउँमा जाँदै, भेटेका जति मान्छेहरूलाई सोध्दै ऊ कहाँ–कस्तो अवस्थामा छ भन्ने उत्तर खोज्ने मेरो यात्रा १७ महिनासम्म जारी रह्यो। म र मजस्तै अन्य आमाहरू खुफिया एजेन्सीका शाखाहरूमा जान्थ्यौँ र हाम्रा बच्चाहरूको बारेमा सोध्ने गर्थ्यौँ। उनीहरूले कुनै किसिमको जानकारी दिन सधैँ आनाकानी गरे। तर, अन्तिममा एकजना कर्मचारीले मलाई हेर्दै टाउको हल्लायो र मेरो छोरा मरिसकेको पुष्टि गर्‍यो। 

जब सिजर फोटोहरू पहिलोपटक सार्वजनिक गरियो, तब यसले सिरियाली सत्ताद्वारा राजनीतिक बन्दीहरूमाथि गरिएको चरम अत्याचारको पर्दाफास गर्‍याे। यसले सारा विश्वलाई नै स्तब्ध पार्‍याे। मैले ती फोटोहरूमा आह्यमलाई खोज्ने प्रयास गरेँ, तर त्यस्तो डरलाग्दा फोटोहरू हेर्न निकै गाह्रो थियो। अन्तिममा मेरो एकजना साथीले बल्ल तल्ल उसको तस्बिर भेटिन्। 

त्यो दिनदेखि मैले अभियान चलाउन छाडेकी छैन। हामी र हाम्रा परिवारहरू राज्य प्रायोजित यातना र गिरफ्तारीकाविरुद्ध हरेक अवसरमा बोलिरहेका छौँ। हामी बन्दीहरूलाई यातना दिएको आरोपमा सिरियाली सत्ताका दुईजना अधिकारीविरुद्ध मुद्दा दायर गर्न जर्मनीको कोब्लेन्ज सहरमा पनि गयौँ। सिजारका तस्बिहरूमा आफ्ना प्रियजनहरूलाई भेटेका परिवारहरू सँगै छौँ र तिनीहरूलाई कहाँ गाडिएको छ भन्ने पत्ता लगाउन प्रयास गरिरहेका छौँ। 

मलाई मेरो छोरा कहाँ छ भन्ने जान्नु छ ता कि म उसको अन्तिम संस्कार गर्न सकुँ र उसको चिहानको छेउमा बस्न सकुँ। यसै कारणले मेरो छोराको शरीर कहाँ छ भन्ने जुनसुकै किसिमको खबर थाहा पाउनका लागि म प्रत्येक दिन फोनको प्रतीक्षामा हुन्छु। कुनै चिजले पनि अब मेरो छोरालाई फिर्ता ल्याउन सक्दैन। तर, उसको अन्तिम संस्कार गर्न पाए मभित्रको पीडा केही हदसम्म कम हुने थियो। उसको अन्तिम संस्कार गर्न पाए मैले यस्तो ठाउँ पाउने थिएँ जसको छेउमा बसेर म शोक मनाउन सक्थेँ र वर्षौँदेखि भन्न चाहेको कुरा उसलाई बताउन सक्थेँ। 

(अलजजिरामा प्रकाशित मेरियम अल–हलाकको लेखको भावानुवाद हिमाल पौडेलले गरेका हुन्। )

ad
ad