१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:३७:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

काबुलमा छुटेका ३४ नेपालीलाई अर्को साता नेपाल ल्याइने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:३७:oo

संयुक्त राष्ट्रसंघको चार्टर विमानबाट उद्धारको तयारी

अफगानिस्तानमा बाँकी रहेका नेपालीलाई राष्ट्रसंघले चार्टर उडानमार्फत नेपाल ल्याइदिने भएको छ । अफगानिस्तानस्थित राष्ट्रसंघीय कार्यालयमा कार्यरत एक सय नेपालीसँगै अलपत्र परेका थप ३४ जनालाई पनि नेपाल फिर्तामा सघाउने जानकारी राष्ट्रसंघले नेपाललाई दिएको छ । उनीहरूलाई आगामी साता नेपाल ल्याइनेछ । ३४ जना नेपालीसहित भारतीय नागरिकको उद्धार गर्न भारतीय सेनाको जहाज गए पनि भारतीयलाई समेत नलिई फर्केको थियो । 

‘हामीले अन्तिम कोसिस गर्दागर्दै ३४ जना नेपाली छुट्नुभयो । भारतीय पक्षले पनि अन्तिमसम्म प्रयास गरेको हो । तर, भारतीय नागरिकसँग बिहे गरेका अफगानी महिलाको कागजपत्र नभएका कारण उनीहरू रोकिए, उनीहरूसँगै नेपालीलाई पनि पछि लैजाने भनेर रोकियो,’ एक सरकारी अधिकारीले नयाँ पत्रिकासँग भने । काबुलबाट उद्धार गर्ने सूचीमा रहेका एक हजार नेपालीमध्ये ३४ जना छुटेका हुन् । 

काबुल विमानस्थलमा भएको विस्फोटपछि कूटनीतिक पहलमार्फत नेपालीलाई राष्ट्रसंघीय कार्यालय हाताभित्रको शिख समुदायद्वारा सञ्चालित गुरुद्वारामा राखिएको थियो । शनिबार त्यहाँबाट संयुक्त राष्ट्रसंघीय कार्यालय हाताभित्रको आइडिजी सेक्युरिटी कम्प्लेक्समा सारिएको र त्यो ठाउँ गुरुद्वाराभन्दा सुरक्षित भएको ती अधिकारीले बताए । आइडिजी नामक सुरक्षा प्रदायक कम्पनीमार्फत अफगानिस्तानमा नेपाली भूतपूर्व गोर्खा सैनिक तथा नेपाली पूर्वसैनिकले सुरक्षागार्डको काम गरिरहेका थिए । 

संयुक्त राष्ट्रसंघ कार्यालय र यु्निसेफ कार्यालयमा गरी जम्मा चार सय ७० जना नेपाली सुरक्षाकर्मी कार्यरत छन् । नेपाली सुरक्षाकर्मी रहेको क्षेत्रभित्र रहेका कारण उनीहरू सुरक्षित छन् । त्यसमध्ये सयजना नेपाली सुरक्षाकर्मीलाई छुट्टीमा घर आउने व्यवस्था राष्ट्रसंघीय कार्यालय काबुलले मिलाएको परराष्ट्र स्रोतले जानकारी दिएको छ । 

‘काबुलमा सिभिलियन उडानहरू सञ्चालन हुना साथ संयुक्त राष्ट्रसंघले सयजना सुरक्षागार्डलाई चार्टर विमानबाट काठमाडौं ल्याउने भनेको छ, त्यही उडानमा ३४ जना पनि थपिएर आउने व्यवस्था सुनिश्चित गरेका छौँ,’ परराष्ट्र स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘एक सातादेखि १० दिनसम्म चार्टर उडान काठमाडौं आउनेछ । छुटेका नेपालीलाई काठमाडौं नआउन्जेल खाने–बस्ने व्यवस्था त्यहीँ सुनिश्चित गरिएको छ ।’ 

परराष्ट्र मन्त्रालयका अनुसार मंगलबारसम्म जम्मा आठ सय ३३ जना नेपाली नागरिक काबुलबाट स्वदेश फर्केका छन् । काबुलमा छुटेका नेपालीबाहेक बाँकी पारगमन मुलुकमा नेपाल फर्कने प्रतीक्षामा छन् । मंगलबार बिहानै अमेरिकाले काबुलबाट सबै सैनिक फिर्ता गरेपछि काबुल अन्तर्राष्ट्रिय विमानस्थलको जिम्मा तालिवानले लिएको छ । तर, त्यहाँबाट उडान ठप्प छ ।

‘परिस्थिति अलिकति सामान्य भएपछि विमानस्थल सञ्चालनमा आउनेछ, त्यसपछि राष्ट्रसंघको चार्टर उडानबाट नेपालीलाई फिर्ता गर्ने तय भएको छ,’ परराष्ट्रका अधिकारीले नयाँ पत्रिकासँग भने । 

राष्ट्रसंघ कार्यालयको हाताभित्र रहेको आइडिजी सेक्युरिटी कम्प्लेक्समा रहेका नेपालीले आफूहरू सुरक्षित रहेको र नेपाल फर्कन आतुर भएको बताएका छन् । ‘हामीलाई अहिले सुरक्षित ठाउँमा राखिएको छ । दुईजनालाई एउटा कोठाको बन्दोबस्त छ, खानपिनको पनि राम्रो सुविधा छ,’ त्यहाँ रहेका एक नेपालीले नयाँ पत्रिकासँग भने, ‘घर आउन नपाएकोमा हामी चिन्तित त छौँ, तर हामी सुरक्षित छौँ ।’